Logo

चिउरीको तेल बेचेर दैनिकी गुजारा

चिउरीको तेलबाट चाडपर्वमा रोटी पकाउनदेखि स्वास्थ्यका लागिसमेत लाभदायक हुने भएकाले उत्पादन गर्न सके बिक्रीमा समस्या हुँदैन । घरायसी प्रयोजनदेखि रोटी पकाउन चिउरीको तेल बढी मात्रामा माग हुने गरेको स्थानीय बताएँछन् ।

दाङमा पछिल्लो समय चिउरीको तेल बिक्रीबाट राम्रो आम्दानी लिने गरेका छन् । वन जंगलमा पाइने चिउरीको फल टिपेर दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका स्थानीयले तेलको जोहो गर्ने गरेका छन् । मौलाकोट घोराही उपमहानगरपालिका भएपनि पहाडी क्षेत्र भएको र सिँचाईका लागि सुविधा छैन । सिँचाइको सुविधा नहुँदा तोरी खेती नहुने भएकाले स्थानीयलाई तेलका लागि चिउरीकै भर पर्नुपर्ने बाध्यता भएको मौलाकोट निवासी बीरबहादुर थापा बताउँछन् ।

पहाडी क्षेत्र भएकाले यहाँ तोरी हुँदैन, चिउरीको फल टिप्न सकिएन भने साँझ–बिहान खाना बनाउँदा तरकारीमा राख्ने तेल बजारबाट किन्नु पर्ने बाध्यता भएको भन्दै स्थानीयबासी थापाले बताए । ‘मौलाकोटवासीले तेलका रुपमा प्रयोग गर्ने चिउरी नै हो, नत्र किनेर खानुपर्छ ।’ चिउरीको बिजौला (फल) संकलन गर्ने र त्यसलाई पेलेर तेल बनाउने गरेको उनले बताए । चिउरीको तेल संकलन गर्नसके बिक्री गर्ने गरेको समेत उनी बताउँछन् ।

चिउरीको तेलबाट चाडपर्वमा रोटी पकाउनदेखि स्वास्थ्यका लागिसमेत लाभदायक हुने भएकाले उत्पादन गर्न सके बिक्रीमा समस्या नभएको उनको भनाइ छ । घरमा खानेदेखि चाडपर्वमा रोटी बनाउन चिउरीको तेल बढी मात्रामा माग हुने गरेको थापाले बताए । ‘बजार क्षेत्रमा चिउरीको तेलको माग बढी छ । माग अनुसार उत्पादन हुन सकेको छैन, घरखर्चका लागि आम्दानी लिन सकिन्छ ।’

उनका अनुसार आठ सयदेखि नौ सयसम्म प्रतिधार्नीका दरले चिउरीको तेल बिक्री हुने गर्दछ । जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर तेल उत्पादन गर्नसके घर खानेसँगै बढी भएको बिक्री गरेर आम्दानी गर्ने गरेको स्थानीय आशा मगर बताउँछिन् । घरको कामबाट फुर्सद निकालेर घर नजिकै रहेको जंगलमा भएका चिउरीका रुखमा फलेर खसेका फल टिप्न सकिने र त्यसलाई पहिले मिलमा कुटाएर तेलका लागि कोलमा पेल्ने गरेको उनले बताइन् ।

‘दु:ख नमान्ने र ठूलो परिवार हुने परिवारले चिउरीको तेल उत्पादन गरेर राम्रो आम्दानी गर्दै आउनु भएको छ ।’ कुटाएको चिउरीको फल आगोमा तताउँदै पेल्नुपर्ने भएकाले परम्परागत काठे कोलकै भर पर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । आर्थिक रुपमा सम्पन्न परिवारले बजारबाट तेल किनेर खाने गरे पनि अधिकांश गाउँलेको चिउरीको तेल बनाउने र घर खर्चका लागि जम्मा गर्ने परम्परागत पेसा बनेको मौलाकोट टोल विकास समितिका अध्यक्ष गंगाराम थापाको भनाइ छ ।

प्रत्येक वर्ष असार, साउन महिनामा चिउरी पाकेर खसेका फल (बिजौला) टिप्ने र असोज–कात्तिक महिनामा तेलका लागि पेल्ने गरेको उनले बताए । उनका अनुसार गाउँमा भएका ३०–३५ घर सबैले चिउरीकै तेल खाने गरेका छन् । मौलाकोटसँगै घोराहीका पहाडी क्षेत्रका रुपमा रहेका लापे, सिस्नेरी, मसिना, घोरदौरालगायका ठाउँमा स्थानीयले चिउरीको तेल बनाएर घरायासी कामका लागि प्रयोग गर्ने गर्दछन् ।

उनका अनुसार गाउँमा कम्तीमा १५–२० केजी देखि बढीमा १५० केजीसम्म चिउरीको तेल उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । धेरै चिउरीको बन भएको हुँदा यसको उत्पादनसमेत धेरै हुने गरेको छ । तर यसको सही सदुपयोग हुन सकेको छैन । चिउरीको बिजौला वनमै खेर जाने गरेको छ । यसको सदुपयोग गर्न सकेमा आर्थिक रुपमा समेत राम्रो आम्दानी लिन सकिने भएको छ । चिउरीबाट तेलसँगै विभिन्न वस्तुसमेत उत्पादन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्