Logo

पर्यटकीय गन्तव्यको प्रवद्र्वनमा पाल्पाका स्थानीय तह

बुटवल– लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पछिल्लो समय पर्यटकहरूको आकर्षण बढेको छ । मुलुक संघीयतामा गएपछि तीन तहको संरचना बनेको हो । यहाँका स्थानीय तहहरू पर्यटकीय गन्तव्यको पहिचान गरी तिनीहरूको विकास र प्रवद्र्वनमा अघि बढिरहेका छन् ।

पाल्पा प्राकृतिक रूपमा निकै सुन्दर छ । साथै धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि महत्त्ववपूर्ण ठाउँहरू यहाँ छन् । पछिल्लो समय पाल्पाका विभिन्न ठाउँमा भारतीय पर्यटकहरूको चहलपहल बढ्ने गरेको छ । पोखरा, मुक्तिनाथ हिँडेका भारतीयहरू पाल्पा आउने गर्छन् । जिल्लाका स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई प्राथमिकता दिएका छन् ।

सम्पदा संरक्षणमा तानसेन नगरपालिका
सिंगो तानसेन बजार आफैमा एउटा घुम्न लायक ठाउँ हो । पाल्पा दरबार, रणउजेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर, सितलपाटी, बग्गिढोकालगायत धार्मिक र पुरातात्विक महत्त्वका ठाउँ यहाँ रहेका छन् । तानसेनमा अझै पनि पुराना शैलीका घर र बस्ती देख्न सकिन्छ । तानसेन बजार माथिको श्रीनगर डाँडा, काली गण्डीको तिरमा रहेको रानी महललगायतका ठाउँमा पर्यटक आगमन बढिरहेको छ ।

तानसेन नगरपालिकाले आफ्ना योजनामा पर्यटन र सांस्कृतिक पक्षलाई प्राथमिकता दिएको छ । नगरपालिकाले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ देखि २०८५ /८६ सम्मको आवधिक योजनाको नारा समृद्ध सांस्कृतिक नगर भनेर उल्लेख गरेको छ ।

नगरपालिकाले सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई महत्त्ववपूर्ण स्थान दिएर नीति कार्यक्रम र बजेट ल्याउने गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले पाल्पा दरबार परिसरको सौन्दर्य करण र पुनर्निर्माणको काम गरेको थियो । जसअनुसार दरबार परिसर बाहिरका टहरा र त्यहाँ रहेका पसलहरूलाई हटाइएको थियो । अहिले दरबार परिसरको पर्खालहरूलाई पनि मौलिक शैलीको बनाउने काम भइरहेको छ ।

अमरनारायण मन्दिरको पुनर्निर्माण गरिएको छ । यो वर्ष पनि नगरका पुरातात्विक तथा प्राचीन सम्पदाको संरक्षण र मर्मत सम्भारका कामहरू भइरहेको तानसेन– ६ का वडाध्यक्ष तथा नगर पर्यटन समिति प्रमुख सागरमान महर्जनले बताए । ‘पाल्पा दरबारको कतिपय कामहरू प्रदेश सरकारले गरिरहेको छ । बाहिरको गार्डेनिङ हामीले गरेका छौँ ’ उनले भने, ‘ढुंगा विच्छाउने कार्य बजेट नभएर अधुरो भएको थियो । अहिले नगरपालिकाले त्यो काम पनि गरेको छ । दरबारको ठूलो गेट पनि तानसेन नगरपालिकामार्फत नै निर्माण भएको छ ।’

यस्तै संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था युनेस्कोसँगको सहकार्यमा तानसेन नगरपालिकाले नगरलाई विभिन्न डिजाइनको काम गरेको छ । जसअन्तर्गत दरबार अगाडिको मखन टोलको सडक पर्यटनमैत्री बनाउने, बच्चाहरू खेल्न मिल्ने वाटर फाउन्टेन राख्नेलगायतको काम हुने बताइएको छ ।

पछिल्लो समय श्रीनगर डाँडाको स्वरूप नै फेरिएको छ । अहिले पिकनीक स्पटहरू बनेका छन् । खानेपानी र बिजुलीको सहज व्यवस्था भएको छ । पारिलेक बनमा बुद्धको मुर्ति भएको ठाउँमा ढुंगामा स्टोन पेन्ट्स गरेर सौन्दय करण गर्ने काम पनि नगरपालिकाले गरेको छ । ‘भर्‍याङहरू भत्केका थिए । रेलिङहरू थिएन । भर्‍याङ र रेलिङ राखेपछि श्रीनगर डाँडामा चढ्न पनि केही सहज भएको छ । विगतभन्दा अहिले श्री नगरमा घुम्न आउनेहरूको भिड लागेको छ ’ तानसेनका पर्यटन समिति संयोजक महर्जनले भने ।

नगरपालिकामा पर्ने बजार बाहिरका ठाउँहरूमा पनि पर्यटकीय विकासका कामहरू भइरहेका छन् । खड्ग शमसेरले बनाएको नेपालको ताज महल भनिने रानी महलको रंङरोगन गरिएको छ । रानी महल भित्र खड्ग शमसेरको फोटोसहित विभन्न पुराना सामग्री राखेर संग्रालयको स्वरूप दिइएको छ । तानसेनको प्रवास तालको सौन्दर्य करणको काम पनिअघि बढेको छ । ताल, जंगल र पार्कलाई एकीकृत रूपमा पर्यटकीय विकासको काम भइरहेको महर्जनले बताए ।

थाम्केडाँडा, रतन पाडेंको ध्यान गर्ने ठाउँ, कुइरे भिर, अर्गेलीको कुडापानी क्षेत्रमा पनि पर्यटकीय संरचना तयार भएका छन् । बौघागुम्बामा मौलिक शैलिका कुडुले घर बनेको छ । प्रताप शमसेरले तानसेनमा पानी लिएर आउन बनाएको ऐतिहासिक सुरुङलाई सरसफाइ र व्यवस्थापन गरेर हेर्न मिल्ने बनाइएको छ ।

पूर्वाधार निर्माण बाहेक तानसेनको पर्यटकीय प्रचार प्रसार र प्रवर्द्धनको लागि नगरपालिकाले यस वर्ष २० लाख रुपैयाँ छुटाएको छ । जसअन्तर्गत ब्रोसर छपाई, पर्यटकीय स्थलहरूमा क्युआर कोडबाट सूचना दिने व्यवस्था गर्ने उल्लेख छ । श्री नगरका कुनै एउटा भाग लिएर त्यहाँ ढुंगालाई कलात्मक बनाउने, होमस्टे तथा होटलको स्तरोन्नतिका लागि तालिमलगायतका कार्यक्रम रहेका छन् । त्यस्तै नगरपालिकाका विभिन्न ठाउँमा पर्यटकीय बोर्ड राखिने भएको छ ।

तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले सेन बंशदेखि राणा कालसम्मका ऐतिहासिक सम्पदा शहरमा रहेको भन्दै तिनीहरूलाई कसरी संरक्षण र प्रवर्द्धन गर्ने काममा आफूहरू लागिरहेको बताए । ‘तानसेन अहिले कङक्रिट बजार बन्न लागेको छ । सांस्कृतिक क्षेत्रमा पुरानै शैलीको बजारलाई कायम राख्ने योजना बनाएका छौँ । त्यसका लागि अब बन्ने घरलाई मौलिक बन्नुपर्छ भनेर लागेका छौँ’ उनले भने,‘त्यसको लागि वर्क आउट गर्न इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई भनेका छौँ ।’ मेयर श्रेष्ठले तानसेनलाई हेर्न लायक सुन्दर शहर बनाउने अभियानमा लागेको सुनाए ।

काली गण्डकी पदमार्ग निर्माण
काली गण्डकीको नजिक फाँटमा रहेको रामपुर पाल्पाको एउटा सुन्दर बजार हो । काली गण्डकी करिडोरको सडक बनेपछि रामपुरमा आर्थिक विकास पनि तीव्र रूपमा अघि बढेको छ ।

नगरपालिकामा पर्यटकलाई आकर्षित गर्ने थुप्रै गन्तव्यहरु छन् । ती ठाउँको विकास र प्रवर्द्धनको लागि नगरपालिकाले विभिन्न काम गर्दै आएको छ । नगरपालिका भित्र पर्ने काली गण्डकी नदिका ४२ किलोमिटर किनार क्षेत्रमा पैदल मार्ग निर्माण भइरहेको छ । काली गण्डकी पदमार्गमा यात्रा गर्दा नदिसँगै वरपरका सुन्दर दृश्य नियाल्न सकिन्छ । पैदल मार्गअन्तर्गत विभिन्न स्थानमा स्नान गर्ने ठाउँ र कोशेलीघरहरू बनाइएको छ । काली गण्डकी पदमार्गको लागि गत वर्ष एक करोड ३० लाख रुपैयाँ विनियोजन भएको थियो । यो वर्ष २ करोड ७० लाख विनियोजन भएको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए ।

रामपुरमा रहेको ताल पोखरा आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । तालको बीचमा मन्दिर रहेको छ । ताल पोखरामा टाढा टाढाबाट घुम्न र डुङा सयर गर्न आउने गरेका छन् ।

नगर भित्र रहेका विभिन्न गुफा र झरनाहरूको पनि प्रवर्द्धन गर्ने काम भएको मेयर थापाले बताए । ‘हामीसँग छाम्दी झरना छ । हिजो रामचन्द्र वनवासको क्रममा आउँदा बसेको वसिष्ठ गुफा छ । जुन गुफामा ८ सय देखि एक हजार जना अट्न सक्छन्,’ उनले भने, ‘गुफा भित्र केही संरचना निर्माण गर्ने काम भइरहेको छ । ६ नम्बर वडामा जाग्दी पार्क रहेको छ । जंगल भित्र रहेको त्यो पार्कमा दुबो, बोट बिरुवा रोपेर सुन्दर बनाउँदैछौं ।’

सिता कुण्ड नगरको हिल स्टेसनको रूपमा रहेको छ । जहाँ वनवासका क्रममा सीता रजस्वला हुँदा नुहाउने गरेको किम्वदन्ती छ । समुद्र सतहबाट ११ मिटरको उचाइमा सीता कुण्डको प्रवर्द्धनको लागि नगरपालिकाले काम गरिरहेको मेयर थापाले जानकारी दिए । पर्यटन क्षेत्रको लागि रामपुर नगरपालिकाले १२ प्रतिशत जति बजेट छुटाइएको उनले बताए । पछिल्लो समय रामपुरमा पर्यटकीय चहलपहल बढेको छ । रामपुरमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । थप पर्यटक आकर्षित गर्न प्याराग्लाइडिङ, काली गण्डकीमा र्‍याफ्टिङ योजना पनि बनेको छ । यसै वर्ष काली गण्डकी महोत्सव गर्ने तयारी गरेको मेयर थापाले जानकारी दिए ।

पूर्वाधार निर्माणमा तिनाउ गाउँपालिका
बुटवलसँग जोडिएको पहाडी क्षेत्र तिनाउ गाउँपालिकामा पर्यटकीय सम्भावना प्रशस्त रहेका छन् । गर्मियाममा तराइबासी र भारतीय पर्यटकको लागि नजिकका गन्तव्य तिनाउ गाउँपालिकामा रहेको । बुटवलमा बटम स्टेसन रहेको लुम्बिनी केबलकार र सिद्धार्थ केबलकारको टप स्टेशन भने तिनाउमा छ । केबलकारले तिनाउ गाउँपालिकाका पर्यटकीय स्थल वसन्तपुर र नुवाकोटको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ । यसले गाउँपालिकाका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पनि सहयोग पुगेको छ

तिनाउ गाउँपालिका– ४ मा रहेको चिच्याएर बर माग्ने धार्मिक स्थल सत्यवती रहेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमामा यहाँ मेला लाग्ने गर्छ । यस वर्ष झण्डै २ लाखले मेला अवलोकन गरेको गाउँपालिकाले बताएको छ । सत्यवती मन्दिरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न गुरुयोजना बनाएर काम भइरहेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘त्यहाँ रहेको मन्दिरसँगै सत्यवती ताल र ताल वरपर चिच्याउँदै घुम्ने बाटोलाई हामीले व्यवस्थित गर्दै छौँ ’ उनले भने ।

गाउँपालिकाले हिल स्टेशनको रूपमा रहेको जन्तीलुङको विकास र प्रवर्द्धनको लागि काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न जन्तीलुंगको पूर्वाधार र त्यहाँ रहेको होम स्टेलाई यो वर्ष १ करोड ८४ लाख छुटाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

ऐतिहासिक नुवाकोटमा गाउँपालिकाको तर्फबाट कर्णेल उजिरसिंहको शालिक निर्माण भएको छ । भगवती मन्दिर निर्माण गर्न लागिएको श्रेष्ठले बताए । सिद्धार्थ राजमार्ग क्षेत्रमा रहेको सिद्धबाबा धामले पनि तिनाउ गाउँपालिकाको धार्मिक पहिचान बढाएको छ ।

तिनाउ गाउँपालिकामा ३ वटा झरना छ । वडा नम्बर १ कचलको राजा झरना, तिनाउ २ मा रानी झरना, तिनाउ ३ मा सिद्ध सरोवर झरना रहेको छ । पछिल्लो समय यी झरना अवलोकन गर्न आउने पर्यटकहरू बढेका छन् । गर्मी मौसममा विशेष गरी भारतीय पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ । यहाँका प्राकृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय विकास प्रवर्द्धनको लागि माथिल्ला तहका सरकारसँग पनि पहल गरिरहेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । आर्थिक विकासका लागि गाउँपालिकाले २५ प्रतिशत बजेट छुट्याउने गरेको छ । त्यसमा कृषिसँगै पर्यटन पनि पर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्