औद्योगिक ग्राम: समृद्ध तातोपानीको आधार
गाउँमा रोजगारी नहुँदा युवा पलायन बढ्दो छ । स्थानीय सरकार सञ्चालनपछि उत्पादनमूलक क्षेत्रमा लगानी कम भएको, युवामैत्री नीति नबनेको र स्वयम युवाले पनि गाउँमा सम्भावना नदेखेका कारण जुम्लाबाट कालापहाड र तेस्रो मुलुक जाने युवाको संख्या बढ्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटको तथ्यांकलाई आधार मान्दा आर्थिक वर्ष २०७७/०७८ देखि चालु आव २०८१/०८२ को असोज मसान्तसम्म जुम्लाका ३ हजार ७५६ जनाले वैदेशिक रोजगारी तथा अध्यायन भ्रमणका लागि राहदानी लिएका छन् । जसमा ८८५ महिला र २ हजार ८७१ पुरुष रहेका छन् । यो तथ्यांकले पनि गाउँ छोडेर पलायन हुने युवाको मोहलाई देखाएको छ ।
कर्णालीको समृद्धिका आधार, स्याउ, सीमी, ओखर, जल, जमिन, जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरण गर्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने सम्भावना पनि छ । तर स्थानीयस्तरमा उत्पादित उपजको प्रशोधन उद्योग नहुनु, युवाले स्वदेशमै सम्भावना नदेख्नुले बेरोजगारीको समस्या मात्र चुलिएको छैन, हाम्रा कृषि पर्यटन, जडिबुटीका सम्भावना ओझेलमा परेका छन् भने उत्पादित वस्तु पनि गाउँमै थन्किएका छन् ।
संघीयतापछि स्थानीय सरकारले साना तथा मझौला उद्योगमा लगानी बढाउनु पर्ने, उत्पादन तथा रोजगार केन्द्रित नीति कार्यक्रम ल्याउनु पर्ने दबाब भएपनि बजेट अभावले युवाका क्षेत्रमा अपेक्षित काम गर्न सकेका छैनन् । औद्योगिकग्राम निर्माणले रोजगारी सिर्जना, आर्थिक विकासको आधार मात्र तय गरेको छैन । प्रशोधनको अभावले थन्किएका उत्पादनले बजार र किसानले मूल्य पाउने पनि आशा गरिएको छ ।
जुम्लाकै पहिलो औद्योगिक ग्राम
बेरोजगारी अन्त्य गर्न, स्थानीय उत्पादन बजार प्रवर्द्धन गर्न, युवालाई कृषिमा आकर्षित गर्न, उत्पादन बढाउन र पालिकाको आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित जुम्लाको तातोपानीमा ‘औद्योगिक ग्राम’ स्थापना भएको छ । तातोपानी गाउँपालिका–४ को रातेखोलामा औद्योगिक ग्राम स्थापना भएको हो ।
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये पहिलो पालिकाका रुपमा तातोपानीले औद्योगिक ग्राम स्थापना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वर्ष भदौ १० गते औद्योगिक ग्राम स्थापनाका लागि सार्वजनिक सूचना जारी गर्यो । युवाका सशक्तिकरण, रोजगारी सिर्जना र आर्थिक विकासको हुटहुटी बोकेको तातोपानी गाउँपालिकाले सूचनाअनुसार सबै कागजात पेस गरी निरन्तर पहल थाल्यो ।
औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि पहिलो संशोधन–२०७७ मा औद्योगिक ग्राम सञ्चालन गर्न २५ रोपनी जग्गा आवश्यक पर्ने तातोपानी–४ का स्थानीय ३५ रोपनी सार्वजनिक जग्गा दिन तयार भए । फलस्वरुप मुलुकका आठ स्थानीय तहमध्ये औद्योगिक ग्राम स्थापना गर्न जुम्लाको तातोपानी गाउँपालिका छनोट भयो ।
औद्योगिक ग्राम बन्ने निर्णयसँगै तातोपानीमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको यात्रा प्रारम्भ भएको छ । स्थानीय स्रोत साधन र जनशक्तिको अधिकतम परिचालन गरी गाउँमै रोजगारी सिर्जना गर्ने आर्थिक विकासमा सुधार ल्याउने लक्ष्यसहित औद्योगिक ग्रामको निर्माण कार्य भइरहेको छ ।
बजारको माग र उपलब्ध स्रोत र सम्भावनालाई मध्यनजर गरी औद्योगिक ग्राममा पहिलो चरणमा पानी उद्योग, काष्टकला उद्योग, ग्याबिन जाली उद्योग, व्यावसायिक तरकारी खेती, निगालोका सामग्री उत्पादन र कृषिजन्य उद्योग सन्चालन गरिने छ । जसबाट एक सय भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने छन् । इच्छुक युवा र युवाका समुहले पालिकालाई रोयल्टी तिरेर उद्योग चलाउने छन् । उद्यौगिक ग्राममा आवश्यक सबै पूर्वाधार पालिकाले निर्माण गर्ने छ ।
औद्योगिक ग्राम निर्माण अघि बढेसँगै तातोपानीका युवा उत्साहित छन् । गाउँमै सीप र क्षमताअनुसार काम गर्न पाइने भएपछि युवा उत्साहित भएका हुन् । किसानका आफ्ना उत्पादनले बजार पाउने, बेरोजगारी अन्त्य हुने, उत्पादन वृद्धि हुने र आर्थिक समृद्धि टेवा पुग्ने भएकाले पनि उत्साहित भएको तातोपानी–४ का दुर्गाप्रसाद पाण्डेले बताए । उनका अनुसार स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने छ । उनले भने, ‘पालिकाको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि औद्योगिक ग्राम सन्चालन हुनु गौरवको विषय हो । अन्य पालिकामा आर्थिक विकासका क्षेत्रमा केही काम नभइरहेको बेला तातोपानीले औद्योगिक ग्राम स्थापना गर्नुलाई सुखद रुपमा लिएका छौं । बढी भन्दा बढी युवालाई जोड्ने गरी काम अघि बढाउन पालिकाले ध्यान दिनुपर्छ ।’
रातेखोलामा स्थापना भएको औद्योगिक ग्रामको डीपीआरसमेत तयार भइसकेको छ । बजेट कार्यान्वयनका लागि औद्योगिक ग्राम सञ्चालनको अनिवार्य डीपीआर, ईआई तथा कार्यविधि निर्माण गर्नुपर्ने प्रावधाननुसार डीपीआर निर्माण गरिएको हो । स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सिर्जना गर्न कृषि तथा वन पैदावारसँग सम्बन्धित साना उद्योग स्थापनाका विषय डीपीआरमा समेटिएको छ ।
औद्योगिक ग्राम सञ्चालन गर्न सुरुवाती चरणमा जडिबुटी, फलफूल, पानी, ग्याबिन, काष्ठकला तथा साना उद्योग सञ्चालन गर्ने र युवालाई उद्योगसँग जोड्ने नीति लिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार औद्योगिक ग्राम सञ्चालन पश्चात् स्याउ, सीमी, ओखर, चिनो, कागुनो र जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा समेत सहज हुने छ । औद्योगिक ग्राम सन्चालनपछि स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग र परिचालन पहिलो चरणमा सूचिकृत ५० जनाले रोजगारी पाउने लक्ष्य राखिएको छ । पालिकाको आन्तरिक आम्दानी वृद्धिमा समेत उल्लेखीय सुधार हुने अपेक्षा गरिएको छ ।
पालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने मुख्य आधारका रुपमा औद्योगिक ग्रामलाई लिइएकाले यसका पूर्वाधार निर्माणमा जोड दिइएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न उत्पादन वृद्धि, प्रशोधनमा योगदान हुने तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । हाल निर्माण भइरहेको पूर्वाधारको नियमित अनुगमन निरीक्षण भइरहेको उनको भनाइ छ ।
पूर्वाधारमा १ करोड ७० लाख लगानी
औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि पहिलो चरणमा एक करोड ७० लाख बजेट लगानी गरिएको छ । डीपीआर अनुसार औद्योगिक ग्राम निर्माण गर्न कूल १८ करोड लगानी लाग्ने अनुमान छ । यद्दपि उद्योग तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम बनाउन ३ करोड बजेट दिने भनेको छ ।
तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायत भन्छन्, ‘मन्त्रालयले ३ करोड दिने भनेकोमा पहिलो चरणमा एक करोड पठाएको छ । पालिका र मन्त्रालयको गरी एक करोड ७० लाखमा ठेक्का खोलेर करिब ७ सय मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । बाँकी २ करोड निकासा हुन बाँकी छ भने बाँकी रकम पालिकाले लगानी गर्ने छ ।’
गौरवको आयोजनाका रुपमा निर्माण भएको औद्योगिक ग्रामको डीपीपआर लागत १८ करोड हो । त्यसमा उद्योग मन्त्रालयले ३ करोड दिने छ भने पहिलो चरणमा एक करोड मन्त्रालय र ७० लाख पालिकाको लगानी घेराबार, गार्ड हाउस, खानेपानी, शौचालय लगायतको पूर्वाधार बनेका छन् ।
इन्जिनियर डिल्ली बुढाका अनुसार औद्योगिक ग्रामको घेराबार, गार्ड हाउस र गेटसहितका पूर्वाधारको भौतिक प्रगती २० प्रतिशत भएको छ । निर्माणको जिम्मा पाएको ‘गौचन निर्माण सेवा’ले नियमित काम गरिरहेको छ । पहिलो चरणमा औद्योगिक ग्रामको जग्गा घेराबार गर्ने र पछि भित्र विभिन्न उद्योगका पूर्वाधार बनाउने लक्ष्य राखिएको इन्जिनियर बुढाले उल्लेख गरे । पहिलो चरणको पूर्वाधार विकासको काम २०८१ को असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको छ ।
कार्यविधिबमोजिम पहिलो चरणमा औद्योगिक ग्राममा खानेपानी, बत्ती, घेराबार, शौचालयलगायतको पूर्वाधार निर्माण गरिएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न उत्पादन वृद्धि, प्रशोधनमा जोड दिने गाउँपालिकाको तयारी छ । औद्योगिक ग्राम स्थापनाले रोजगार सिर्जनामा सघाउने आशा छ ।
सम्भावना र स्रोतको परिचालन
गाउँपालिकाको वडा–४ जडिबुटी, कृषि, वनपैदावारका हिसाबले सम्भावना बोकेको क्षेत्र हो । उक्त क्षेत्रमा भेडा चर्ने पाटनदेखि गिडिदह क्षेत्र छन् । तातोपानीमा राडीपाखी, आरन पेशा काष्टकला, स्याउ, सीमी, ओखर, जडिबुटीको खेती, मौसमी तथा बमौसमी तरकारी खेती हुने सम्भावना छन् । यी सबै सम्भावनालाई अवसरमा बदल्न पूर्वाधार र लगानीको खाँचो छ ।
तर आठै वडाभित्र हुने उत्पादनले बजार पाउन, किसानको जीवनस्तर उकास्न पनि औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास गरिएको तातोपानी गाउँपालिका युवा समितिका उपाध्यक्ष विरेन्द्र शाहीले बताए । आवश्यक पूर्वाधार अभावले गाउँमा युवाले गरेको कृषिले फल पाउन नसकेको केही घटना छन् । उनले भने, ‘औद्योगिक ग्रामभित्र आफ्नो क्षमता, चााना अनुसारको साना उद्योग खोल्न पाउने कुरा युवाका लागि अवसर हो । यसमा आठै वटा वडाका समान सहभागी हुनु पर्छ । औद्योगिक ग्राममा उत्पादित वस्तुको बाह्य बजारका लागि पालिकाले समन्वय गर्न पनि जरुरी छ ।’
सुरुमा उद्योग खोल्ने युवालाई प्रेरणा दिन पालिकाले राजस्व छुटदेखि सहुलियत कर्जाको व्यवस्थापन गर्ने बुझिएको छ । पहिलो चरणमा वडा–४ का युवाले प्रत्यक्ष रोजगारी पाउने छन् । तर भविष्यमा औद्योगिक ग्राम जिल्लाकै आर्थिक समृद्धि र रोजगारी सिर्जनाको आयाम बन्नेसमेत विश्वास गरिएको छ ।
गाउँ गाउँ पुगेर बेरोजगारका रुपमा सूचिकृत समेत गरिसकेकोले सूचिकृत भित्रका बेरोजागर युवालाई उनीहरुको सीप, क्षमता र रुचिअनुसारका उद्योग चलाउन पालिकाले प्रथामिकता दिनु पर्ने शाहीले उल्लेख गरे । लगानी अभावले औद्योगिक ग्राम अलपत्र नपरोस भन्ने कुरालाई मध्यनजर गर्दै संघ प्रदेशसँग पटक पटक बजेट माग र कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।
औद्योगिक ग्राम तातोपानीका सम्भावनालाई अवसरमा बदल्ने अस्त्र हो । पालिका अध्यक्ष चौलागाई भन्छन्, ‘हामी निर्वाचित भइसकेपछिको गौरवपूर्ण काम र उपलब्धी पनि हो । पहिलो चरणमा १०–१५ जना युवाले प्रत्यक्ष रोजगारी पाए पनि उपलब्धी हो । उद्योग, पर्यटन र कृषिसँग जोडेर युवा रोजगारी र आर्थिक विकासमा अबको विशेष प्रथामिकता छ ।’
अहिले पालिकाको आम्दानी वार्षिक २५–३० लाख छैन । उद्योग कलकारखाना नहुँदा स्रोत प्रयोगविहीन छ । युवा कामविहीन छन् । स्रोतको परिचालन र युवाको सीप क्षमता दक्षताको प्रयोग गरि देशकै नमुना औद्योगिक ग्राम बनाउनु पर्ने उल्लेख गरे ।
सम्भावनालाई अवसरमा रुपान्तरण गर्नका लागि उचित लगानी, युवाको प्रोत्साहन तथा उत्पादित वस्तुको बजारीकरणमा स्थानीयले सहयोग गर्नुपर्छ । तातोपानीकै अर्का युवा टक्क नेपाली भन्छन्, ‘औद्योगिक ग्राममा सबै वडाका युवाले उद्योग चलाउनु पाउनु पर्छ । थुप्रै सम्भावना छन् । बजारको मागनुसार उत्पादनमा जोड दिएमा तातोपानीको आर्थिक समृद्धि र रोजगारी सिर्जनाको लक्ष्य सफल हुन्छ । यसमा सबै पक्षको सकरात्मक सहयोग जरुरी छ ।