जनकपुर–जयनगर रेल सञ्चालनसँगै बढ्दै धार्मिक पर्यटक «

जनकपुर–जयनगर रेल सञ्चालनसँगै बढ्दै धार्मिक पर्यटक

जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ ।
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक र अन्य पर्यटकलाई पनि आवतजावतका लागि सहज बनेको हो । १९ चौत २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए ।
सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति हेतु भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुन: सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकलाई सहज भएको छ । साथै नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरुको भनाइ छ । रेल सञ्चालनमा आएसँगै नेपाल र भारतबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन् ।
पहिला धेरै समस्या हुने गरेपनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज बनेको यात्रुहरु बताउँछन् । त्यस्तै भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताइन् । उनले दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताइन् ।
रेल चल्दा समयका साथसाथै पैसाको पनि वचत भएको उनको भनाइ छ । रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने यात्रुहरु बताउँछन् ।
टिकट बिक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढीरहेको बताए । उनले रेलहरु अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए । उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताए ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुन: सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्