Logo

आइक्यानको अध्यक्षमा लाल

नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् ।
केही दिनअघि भएको निर्वाचनमा लाला निर्विरोध निर्वाचित भएका हुन् भने काफ्ले प्रतिद्वन्द्वी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए ।
यसैबीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्लेले पद तथा गोपनियताको सपथ लिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
नवनिर्वाचित अध्यक्ष लालले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै यस काममा सबैलाई साथ दिन आह्वान गरेका छन् । उनले आफूलाई उपाध्यक्ष हुँदा सबैभन्दा बढी साथ सिने संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओलीलगायत आइक्यानका सबै कर्मचारी, तथा अन्य सरोकारवालालाई धन्यवादसमेत दिए ।
यसैगरी नवनिर्वाचित उपाध्यक्ष काफ्लेले जिम्मेवारी पनि बढेकाले आफूले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखा व्यवसायको सेवा गर्ने बताए । उपाध्यक्ष काफ्ले अब आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका सञ्चालकसमेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष सञ्चालकका रुपमा संस्थाको प्रतिनिधि भएर जाने कानुनी व्यवस्था छ ।
कार्यक्रममा २० बर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदकले सम्मान गरिएको छ भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वकार्यकारी निर्देशकलगायतलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्