समानता कायम गर्ने बजेट ल्याउनुस्ः गिरी

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले भने,“आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिदँै आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्नुपर्छ, आर्थिक वृद्धिदर बढाउने मात्र होइन, समानता कायम गर्ने बजेट बनाउनुपर्छ ।”
उनले भने, “वृद्धिदर र उच्च समानता, सामाजिक न्याय सँगसँगै जान चाहन्छ कि चाहँदैन? जान सक्छ कि सक्दैन? जान सक्छ भने त्यसलाई कसरी ल्याइएको छ? म अर्थमन्त्रीलाई बताउन चाहन्छु– यदि तपाईं सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने वृद्धिदरको धारणाको मोह छाड्नुस् ।”
नेकपाका सांसद तुल्सी थापाले सिद्धान्त र प्राथमिकतामा मुलुकका समसामयिक सबै विषय समेटिएका हुँदा त्यसलाई समर्थन जनाउनुपर्नेमा सबैसंग अनुरोध गरे ।
उनले भने, “कृषिको विकासका लागि जमीनको चक्लाबन्दी र नवीन प्रविधिको प्रयोगमा कृषकलाई सहुलियत दिने विषय समेटिन आवश्यक छ ।”
उक्त विधेयकमाथिको छलफल सकिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६-७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिए । अर्थमन्त्री डा खतिवडाले भने, “हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिनेछ ।” प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ ६ गते सोमबार बिहान ११ बजे बस्नेछ ।