गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।
उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री प्रधानमन्त्री देउवाले सधैँ जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोईरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए । उनले स्व. नेता कोईरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन काँग्रेसको कार्यालयमा ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोईरालाको अर्धकदको शालिक अनावरण गरेका थिए ।