Logo

उपसभामुखलाई हटाउन हस्ताक्षर गर्दै सांसदहरु

काठमाडौं– ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन् । एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर मंगलबार बिहानदेखि हस्ताक्षर गर्दैछन् भने कांग्रेसका सांसदले दिउँसो हस्ताक्षर गर्ने कार्यक्रम छ । उनीहरूलाई दिउँसो २ बजेभित्र संसदीय दल कार्यालय आउन भनिएको बताइएको छ ।

कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा यसका बारेमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित दुवै दलका शीर्ष नेताहरू बीच बालुवाटारमा यसका बारेमा छलफल भएको थियो ।

त्यसबेला प्रधानमन्त्री ओलीले उपसभामुखले आचरण अनुकूल काम नगरेको पाइएकोले हटाउनुपर्ने कुरा राखेको र त्यसमा सभापति देउवाले सहमति जनाएको बताइएको छ । उपसभामुख राना मगरले भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आग्रह गर्दै लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेको एक वर्ष अघि सतहमा आएको थियो ।

त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै पदबाट राजीनामा दिन उपसभामुखलाई भनेका थिए । त्यो विषय अहिले ओझेलमा परेको थियो । उनी अहिले अमेरिका भ्रमणमा छिन् ।

प्रतिक्रिया दिनुहोस्