विकास र लगानीका लागि प्रतिस्पर्धा गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिले विकास र लगानीका लागि एकापसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा धेरैभन्दा धेरै उद्योग, व्यवसायहरू सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा एकापसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षाअनुरूपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न आग्रह गरे । “स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ” उनले भने, “त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वान समेत गर्दछु ।”
छोटो समयमा मलेसियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै उनले स्थानीय तहहरूले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिनालगानी धेरैभन्दा धेरै फाइदा लिन सक्ने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले बुटवल मुलुककै आर्थिक केन्द्र बन्दै गएको बताउँदै सिंगो रुपन्देही पर्यटन र कृषि क्षेत्रका लागि अथाह सम्भाव्यता बोकेको जिल्ला रहेको उल्लेख गरे । उनले विश्वकै केन्द्र बन्दै गरेको बुद्ध भूमि लुम्बिनी, भैरहवामा हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रलगायत क्षेत्रलाई समुचित रूपमा उपयोग गर्न सकेमा यसबाट रुपन्देहीले मात्र नभई सिंगो मुलुकले नै मुहार फेर्न सक्ने बताए ।
उपाध्यक्ष ढकालले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सिर्जना, औद्योगिक व्यावसायिक विकासमार्फत आम नेपालीको आमूल परिवर्तनमा निरन्तर क्रियाशील रहँदै आएको बताए ।