त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

पछिल्लो समय आन्तरिक हवाइ यात्रुको चाप वृद्धि भएसँगै त्यसलाई व्यवस्थापन गर्न त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ ।
आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबारदेखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “बिहान ६ देखि रातिको १२ बजेसम्म आन्तरिकमा उडान तथा अवतरण हुने छ ।”
तराइमा उडान भर्नेका लागि भरतपुर र राजविराज बाहेका विमानस्थल पूर्णरुपमा रात्रिकालिन उडान गर्न सक्ने अवस्थामा रहेका छन् । रात्रिकालीन उडानका लागि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढीका र काठमाडौंका विमानस्थल उडान गर्न सम्भव रहेकाले विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउन लागिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । आन्तरिकमा हाल दैनिक ३ सय २० उडान हुँदै आएका छन् भने अन्तर्राष्ट्रिय उडानमा १ सय २८ उडान हुँदै आएका छन् ।
यता अन्तर्राष्ट्रिय उडानमा भने जेठ २ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को संक्रमणमा कमि आएसँगै काठमाडौं विमानस्थलमा हवाई यात्रुको चाप दैनिक वृद्धि भइरहेको प्रवक्ता सिर्टौलाले बताए । उनले भने, “अब अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने छ ।”
हेलिकोप्टरबाहेक दैनिक ३ सय २० भन्दा बढी उडान तथा अवतरण हुने गरेका छन् । मौसममा आएको फेरवदली तथा उडानमा ढिला हुँदा आन्तरिक तथा बाह्य यात्रुको चाप टर्मिनल भवनमा पर्दा धान्न नसक्ने अवस्था आएको सिटौलाको भनाइ छ । दैनिक करिब २५ हजार बढी यात्रुले विमानस्थल प्रयोग गरिरहेका छन् । पछिल्लो समय उपत्यकामा मौसमका कारण ३ देखि ४ घण्टासम्म उडानमा ढिला हुने गरेको छ ।
नयाँ विमान कम्पनी थपिनु, सडक यात्रामा कोभिडको जोखिम बढी हुनु र सडक मार्ग बिग्रनुले पनि पछिल्लो समय हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ । सन् २०२० मा ११ लाख यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमस्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका थिए । सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्यामा बढेर १४ लाख ८२ हजार पुगेको थियो । यसरी आन्तरिक र बाह्य गरेर वार्षिक १० लाख हवाई यात्रुको संख्या वृद्धि भएको छ ।