चैत १६ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने ‘छैटौं राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०७८’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही चैत १६ देखि १९ गतेसम्म ‘छैटौं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को आयोजना गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कोराना भाइरसका कारण दुई वर्ष रोकिएको दोहोरी प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपको बगैंचामा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।
यस्तै, उनले लोक दोहोरीका पारखीहरुलाई यस प्रतियोगिताले भरपुर मनोरञ्जन दिने भन्दै सम्पूर्ण महानुभावहरुलाई सहभागिताको लागि आग्रह गरे । प्रतियोगितामा देशैभरिका करिब ७० समूहको सहभागिता रहने महासचिव सुवास केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेलाई रु दुई लाख २५ हजार, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार दिईने पनि जनाईएको छ ।
साथै, प्रतियोगितामा सान्त्वना हुनेलाई समेत नगद ५० हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जनाईएको छ । उक्त प्रतियोगितामा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
मुख्य प्रायोजक गोर्खा ब्रुअरीका प्रतिनिधि उत्कृष्ट नेपालले टुबोर्गले सुरुवाती दिनदेखिनै संगितको माध्यमबाट नेपाली जनताको मनमनमा पस्न खोजेको भन्दै नेपालको सांस्कृतिक र मौलिक संगितको रुपमा रहेको दोहोरीमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिताको सफलताको कामना गरे । उनले उक्त प्रतियोगिताले नेपाली जनतामा एक किमिसको नयाँ तरंग पैदा गर्ने विश्वास दिलाए ।
धमलाले नेपाली राजनीतिको सर्वमान्य नेताको नाममा गणेशमान सिंह आउने उल्लेख गर्दै लोक दोहोरीमा भने सर्वमान्य व्यक्तित्व नारायण रायमाझी रहेको दाबी गरे । ‘नेपाली सांगीतिक क्षेत्रमा उनको ठूलो योगदान छ’,उनले भने ।