बजेटमा निजी क्षेत्रका समस्या समेट्न सुझाव «

बजेटमा निजी क्षेत्रका समस्या समेट्न सुझाव

उद्योगी, व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिले बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा उद्योगी, व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समिति सदस्य सन्दीपकुमार अग्रवालले आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताए ।
उनले विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपालमा भारतीय रुपैयाँ पाँचसय र दुई हजारको नोट नेपालमा पनि चल्तीमा ल्याउनुपर्ने बताए । अग्रवालले हरेक नेपालीको वैध सम्पतिलाई एकपटक राज्यले अभिलेखिकरण गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेट चुस्त, दुरुस्त बनाउनुपर्ने बताए । बजेटलाई उत्पादनमुखि बनाउनुपर्नेमा उनले जोड दिए । करको दायरा बढाउनुपर्ने र सामाजिक सुरक्षा भत्ता कोही व्यक्तिलाई पनि दोहोरो दिनु नहुने उनको भनाइ छ । बैंकको व्याजको ठूलो समस्या रहेको भन्दै उनले व्याजदरलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले देशमा तरलताको समस्या र विदेशी मुद्रा सञ्चितिको समस्या रहेको बताए । उनले राष्ट्र बैंकको नीतिले निजी क्षेत्र हतोत्साही भएको बताए । निजी क्षेत्रलाई हतोत्साही बनाएर आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उनको भनाइ छ ।
होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटलहरुलाई उत्पादनमूलक उद्योग सरहको सेवा, सुविधाहरु प्रदान गर्न सरकारसँग माग गरिन् । होटलको लगानीको आकार हेरी पुर्नकर्जाको सीमा २० करोडबाट दायरा बढाउनुपर्ने उनको भनाइछ । व्यवसायीलाई न्युन व्याजदरको व्यवस्था हुनुपर्ने पनि राणाले बताइन् ।
सांसद मोती दुगडले देशमा आर्थिक संकट घोषणा गर्ने अवस्था आइसकेको बताए ।सरकारले निजी क्षेत्र र सम्पूर्ण राजनीतिक दलहरुसँग देशको आर्थिक अवस्थाको बारेमा छलफल गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्