Logo

गाउँमा महिला उद्यमी बनाउने अभियान

चौतारा साँगाचोकगढी नगरपालिकाले नगरका १४ वटै वडामा ४० किसानलाई सिताके च्याउ खेती गर्ने तालिम प्रदान गरेको थियो ।

सिन्धुपाल्चोक-स्थानीय बजारमा सिताके च्याउको माग र मूल्य राम्रो भएपछि विकट गाउँका महिला यसतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेपछि तीन वर्षसम्म उत्पादन दिने र घरमै बसेर व्यावसायिक खेती गर्न सकिने भएका कारण महिलाहरू च्याउ खेतीमा लगानी गर्न अग्रसर भएका हुन् ।
महिलालाई व्यावसायिक बनाउन स्थानीय निकायले प्राविधिक पक्षबारे जानकारी दिन थालेयता महिलामा व्यावसायिक मोह बढेको हो । बजारमा प्रतिकेजी पाँच सय रूपैयाँसम्ममा च्याउ बिक्री हुन थालेपछि खेती गर्ने किसान पछिल्लो समय बढेका छन् । महिना दिनअघि चौतारा साँगाचोकगढी नगरपालिकाले नगरका १४ वटै वडामा ४० किसानलाई सिताके च्याउ खेती गर्ने तालिम प्रदान गरेको थियो ।
तालिमपछि प्राविधिक पक्षबारे जानकारी पाएको र बजारमा माग र मूल्य राम्रो भएकाले महिला किसान उत्साहित भएका हुन् । तालिम पाएपछि चौतारा साँगाचोकगढी नगरपालिकाका–१ भेंडाबारीकी गीता नेपालले सिताके च्याउ खेती गर्ने तयारीमा रहेको बताइन् । “बजारमा च्याउको बजार राम्रो रहेको र फुर्सदको समयमा काम गरे आम्दानीसमेत हुने भएपछि व्यावसायिक खेती गर्ने तयारीमा जुटेको छु,” उनले भनिन् ।
व्यावसायिक खेती गरे राम्रो आम्दानी गर्न सकिने किसानहरूले बुझेका छन् । थोरै लगानी र कम मेहनतमा खेती गर्न सकिने भएपछि उनीहरू च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । तालिम लिएकी चौतारा साँगाचोकगढी नगरपालिका–११ फलाँटेकी सावित्रा पराजुली पनि सिताके च्याउ उमार्ने तयारीमा रहेको सुनाउँछिन् । “तालिम पाएपछि धेरै थाहा भो, कसरी खेती गर्ने भन्ने जानकारी पाएपछि रहर जाग्यो,” उनले भनिन्, “घरमै बसेर गर्न सकिने र फाइदासमेत हुने भएपछि तयारीमा लागेको छु ।” उनले बजारको समेत समस्या नभएकाले छिट्टै खेती सुरु गर्ने बताइन् ।
गाउँका महिलाले सिताके च्याउ बजारमा पाइन्छ भन्ने मात्र सुनेका थिए । यसअघि आफूले खरिद गरेर ल्याएको स्थानीय ओममाया खड्काको अनुभव छ । “गाउँमा धेरैले सुरु गर्न लागेका छन्, अब म पनि गर्ने तरखरमा छु,” उनले भनिन्, “तालिमले धेरै कुरा सिकायो, केही साथीहरूले व्यवसाय सुरु गरिसकेका पनि छन् ।” उनका अनुसार बजार राम्रो भएकाले लगानी डुब्ने समस्या नहुने हुँदा महिलामा जाँगर चलेको हो । तालिम पाएका कारण सिताके च्याउ खेती गर्ने तरिका, यसका आइपर्न सक्ने सम्भावित समस्यालाई समाधान गर्ने विधिसमेत जानकारी पाएकाले खेती गर्ने अठोट गरेको उनले बताइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा सामाजिक अभियान नेपाल सिन्धुपाल्चोकले नगरभित्रका १४ वटै वडाका ४० जना किसानलाई च्याउखेती गर्ने तालिम दिएको थियो । अभियानकी अध्यक्ष सीता थापाले फुर्सदिलो दैनिकी बिताइरहेका महिलालाई व्यावसायिक बनाउन तालिम प्रदान गरिएको बताइन् । “खेती गर्न थालेपछि आफैं आत्मनिर्भर हुन निकै सहज हुन्छ,” अध्यक्ष थापा भन्छिन्, “सामान्य जीवनयापनका लागि अरुको भर पर्नबाट बच्नसमेत व्यावसायिक खेतीका लागि अभिप्रेरित गरिएको हो ।” उनले तालिमबाट सीप सिकेपछि महिलामा उत्प्रेरणा भएको सुनाइन् । अध्यक्ष सीता आफैंले पनि व्यावसायिक च्याउ खेती गरिरहेका कारण अन्य महिलालाई पनि व्यावसायिक बनाउन सामाजिक संस्थामार्फत अभियान सञ्चालन गरेकी हुन् । अहिले नगरपालिकाभित्रबाट सुरु गरिएको महिलालाई उद्यमी बनाउने अभियान जिल्लैभर पु-याउने लक्ष्य रहेको अध्यक्ष थापाको भनाइ छ ।
सिन्धुपाल्चोक च्याउ खेतीका लागि उर्वर भूमि हो । यहाँको हावापानीमा सिताके च्याउ राम्रो उत्पादन हुन्छ । अन्य जातको तुलनामा सिताके च्याउबाट बढी फाइदा र राम्रो उत्पादन हुने भएकाले महिलालाई उद्यमी बनाउन सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ बताउँछन् । “व्यावसायिकरूपमा एकजुट भई खेती गर्छाैं भनेर आएमा नगरपालिकाले त्यसको सम्बोधन गर्छ,” प्रमुख तामाङले भने, “महिला दिदीबहिनीहरू आफैं सक्रिय भएर व्यावसायिकतातर्फ लागेमा खेतीका लागि आर्थिक मात्रै नभई प्राविधिक सहयोगसमेत गर्न सकिन्छ ।” उनले नगरभित्रका महिलालाई व्यावसायिक खेती गर्न सहयोग गर्दै आइरहेको बताए ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्