Logo

नेपाल टेलिकमको भीओएलटीइ सेवा सुरू

नेपाल टेलिकमले १८औं वार्षिकोत्सवको उपलक्षमा शनिबारदेखि भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवाको व्यावसायिक सुरूवात गरेको छ ।
टेलिकमले फोरजी जीएसएम प्रिपेड तथा पोष्टपेड दुवै नेटवर्कमा भीओएलटीइ एकैसाथ परीक्षणका साथै अहिले व्यावसायिक सुरुवात गरेको जनाएको छ । सेवा उपलब्ध भएसँगै भ्वाइस कलमा हाइ डेभिनेसन स्तर एवं फोन डायल गर्नासाथ सम्पर्क स्थापित हुने टेलिकमको दाबी छ । हाल कल गर्ने र उठाउनेबीच सम्पर्क स्थापित हुन केही समय लाग्ने गरेको छ ।
यो सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीइ सपोर्ट गर्नुपर्ने टेलिकमले जनाएको छ । टेलिकमले आफ्नो नेटवर्कमा मात्रै भीओएलटीइ निःशुल्क प्रयोग गर्न पाउने जनाएको छ । यो सेवा एक्टिभ गर्न प्रयोगकर्ताको सिम र सेट दुवै भीओएलटीइ सपोर्ट गर्ने हुनुपर्छ ।
कम्पनीले ल्याएको सेवा अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म र ६९ रुपैयाँमा १७ माघदेखि ३ फागुनसम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिने बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा विस्तार गर्न निर्देशन दिए । उनले राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमै सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्