निगम कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आवेदन दिनेहरुमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक छन् ।
यस्तै कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य र आनन्दप्रसाद चन्द पनि आवेदकमा छन् । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
आवेदक मध्ये अधिकांश नाम तीन वर्षअघि पनि परेका व्यक्तिहरु हुन् । उद्योग विभागमा लामो समय महानिर्देशकका रुपमा रहेर निजामती सेवाबाट सेवानिवृत्त जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएका छन् । कार्यकारी पदको खुला प्रतिस्पर्धाका लागि आवेदन गर्नेहरुको नामावलीमा उनको नाम एक नम्बरमा छ । यस्तै, विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि निगमको कार्यकारीको दौडमा छन् । भट्ट यसअघि पनि निगमको कार्यकारी निर्देशक भएका थिए । मन्त्रालयले निकालेको आवेदक सूचीमा उनको नाम ११ औं नम्बरमा छ । डा.लक्ष्मण पौडेल पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर हुन् भने चित्तरन्जन दास निगमका पूर्वकर्मचारी हुन् । यस्तै उमेश थानी नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक हुन् ।
तत्कालिन कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि नयाँ नियुक्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञापन खुलाएर २१ दिनको सूचना सार्वजनिक गरेको थियो । पहिलो चरणमा आवदेन भएकाहरुमध्ये सर्ट लिस्ट छनोट गरिन्छ । सर्टलिस्टबाट ३ जनाको नाम छनोट गरेर मन्त्रीपरिषद्मा पेश गरिन्छ ।
कार्यकारी निर्देशकको नियुक्ति मन्त्रीपरिषद्ले गर्छ । कार्यकारी निर्देशकको कार्यकाल ३ वर्षको रहन्छ । मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।