लघु घरेलु उद्योगको बौद्धिक सम्पत्ति निशुल्क दर्ता हुने

सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको निशुल्क बौद्धिक सम्पत्ति दर्ता गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लघु, घरेलु, साना तथा मझौला उद्योगका उत्पादनहरुको बौद्धिक सम्पत्तिमा पहुँच र दर्तामा सहयोग’ कार्यक्रम अन्तर्गत बौद्धिक सम्पत्ति निशुल्क दर्ता गर्ने भएको हो । मन्त्रालयको वार्षिक कार्यक्रममा यससम्बन्धी योजना समावेश भएको र हाल कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वौद्धिक सम्पत्ति दर्ताका लागि इच्छुक लघु, घरेलु, साना तथा मझौला उद्योगलाई मन्त्रालयले मंगलबार नै औपचारिक आह्वान समेत गरिसकेको छ । ती उद्योगको बौद्धिक सम्पत्ति दर्ताका लागि मन्त्रालयले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्योगले पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम आफ्नो उद्यमसँग सम्बन्धित वस्तु तथा सेवाको बौद्धिक सम्पत्ति दर्ताका लागि सहयोग लिन सक्नेछन् । यसका निमित्त इच्छुक उद्यमी व्यवसायीले आफ्नो उत्पादनको विवरण सहित मन्त्रालयमा १५ दिनभित्र आवेदन गर्नुपर्ने जनाइएको छ । कोभिड महामारीका कारण विद्युतीय माध्यमबाटै आवेदन दिन सकिने मन्त्रालयको आव्हानमा उल्लेख छ ।
निशुल्क बौद्धिक सम्पत्ति दर्ताका लागि आवेदन दिने सबैले यो सुविधा भने पाउने छैनन् । प्राप्त आवेदनहरुमध्ये चालू आर्थिक वर्षमा २० वटा वस्तु तथा सेवा छनोट गरी बौद्धिक सम्पत्ति दर्तामा सहजीकरण तथा सहयोग उपलब्ध हुने मन्त्रालयले जनाएको छ । बौद्धिक सम्पत्ति दर्ता प्रक्रिया झन्झटिलो भएको तथा लागत समेत महगो भएको साना व्यवसायीले गुनासो गर्दै आइरहेका छन् । बौद्धिक सम्पत्ति दर्ता गर्ने निकाय उद्योग विभागमा यस सम्बन्धी कार्य सम्पन्न गर्न महिनौंसम्म लाग्ने गरेको छ ।
औद्योगिक नीति, २०६७ मा बौद्धिक सम्पत्ति सम्बन्धी व्यवस्था गरिएको छ । जसमा औद्योगिक बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ । जसमा बौद्धिक सम्पत्ति अधिकार संरक्षणको लागि प्रभावकारी निकाय स्थापना गर्ने, बौद्धिक सम्पत्तिको प्रयोग गर्न उद्यमीलाई विशेष प्रोत्साहन गरिने लगायतका विषय समेटिएका छन् । यस्तै, नीति पूरा गर्नै अवलम्बन गरिने रणनीतिहरुमा ट्रेडमार्कको प्रयोग गरी करार उत्पादन गर्न सकिने तथा करारमा माध्यमिक बस्तु उत्पादन गर्न प्रोत्साहन गर्ने जनाइएको छ । बौद्धिक सम्पत्ति सम्बन्धी प्राधिकरणको स्थापना गर्ने, बौद्धिक सम्पत्ति संरक्षण कार्यालय स्थापना गर्ने भनिए पनि हालसम्म पूरा हुन सकेको छैन ।
उद्योग विभागका अनुसार मुलुकमा हालसम्म औद्योगिक सम्पत्ति अन्तर्गत ट्रेडमार्क दर्ता ५३ हजार ५२ पुगेको छ भने ७९ प्याटेन्ट दर्ता भएका छन् । यस्तै, ५६ डिजाइन दर्ता भएका छन् । यसमध्ये स्वदेशी ट्रेडमार्क दर्ता २८ हजार ८ सय ७७ र विदेशी ट्रेडमार्क दर्ता २४ हजार १ सय ७५ रहेको छ । विभागले ट्रेडमार्क सम्बन्धी मुद्दामा सुनुवाई र निर्णय पनि गर्दै आएको छ । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका घटना बढेसँगै उजुरी पनि बढ्न थालेका छन् । विभागले अघिल्लो वर्ष ३६ वटा ट्रेडमार्क सम्बन्धी मुद्दामा कारबाही गरेकोमा गत वर्ष ७५ वटा ट्रेडमार्क सम्बन्धी मुद्दामा कारबाही गरेको थियो ।