अरनिको सिमेन्ट उद्योगमा विद्युत् अवरोध «

अरनिको सिमेन्ट उद्योगमा विद्युत् अवरोध

काला बजारियाहरूको उक्साहटमा जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्षले आफ्नो क्षेत्राधिकार बाहिर गएर सिमेन्ट उद्योगको सञ्चालनमा अवरोध गरेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडानम्बर ५ का नयाँ निर्वाचित वडा अध्यक्ष मोहित चौधरीले कारखानामा विद्युत् लाइन जडान गर्न अवरोध गरेपछि बकुलियास्थित अरनिको सिमेन्ट कारखाना बन्द हुने अवस्थामा पुगेको छ ।
उद्योगको विद्युत् सुचारु गर्न आफूहरू पटक पटक त्यहाँ गए पनि जितपुर सिमरा उपमहानगरपालिका ५ का वडा अध्यक्ष मोहित चौधरीलगायत कार्य समितिले विद्युत् जडान गर्न नदिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमरा शाखा प्रमुख रोहणी पौडेलले बताएका छन् ।
“विद्युत् जडान गर्नका लागि हामी त्यहाँ पटक पटक गयौं” प्रमुख पौडेलले भने “वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरीलगायत कार्य समितिका पदाधिकारीले बाँसको भर्याङ्ग नै हल्लाएर लडाउन थाल्छन् ।”
धन्न कर्मचारीहरू लडेनन् उनले थपे –“हाम्रा कर्मचारीहरूले भर्याङ्ग चढेर लाइन जडान गर्दै थिए, त्यत्तिकैमा उनीहरूले भर्याङ्ग तानेर लडाउन खोजेका थिए । जसोतसो कर्मचारीहरू जोगिए ।” उनले भने ।
उनीहरूले उद्योगमा लाइन जडान गर्न अवरुद्ध गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय कलैया बारामा सुरक्षाका लागि मागसमेत गरिएको र सुरक्षा टोली आएर माघ २ गते मंगलवार लाइन जडान गरिएको थियो । त्यही बेला उनीहरूले विरोध गरेपछि लाइन काटेर फर्किनु परेको नेपाल विद्यु्त प्राधिकरण सिमराका प्रमुख रोहणी पौडेलले बताए ।
ग्राहकले माग गरेको खण्डमा त्यसलाई विद्युत् सेवा दिने आफ्नो कर्तव्य भएकाले नियम अनुसार अरनिको सिमेन्ट उद्योगलाई आफूले पटक पटक लाइन जडान गर्न खोजेको तर उनीहरूले अवरुद्ध गर्ने गरेको बताएका छन् ।
यता वडा अध्यक्ष मोहित चौधरीले खेतको बाटो भएर लाइन लग्नु पर्ने र अन्डर ग्राउन्ड लाइन जडान गरेर लैजानु पर्ने भनेर आफूहरूले माग राखेको बताएका छन् ।
उता नेपाल विद्युत् प्राधिकरण सिमराका प्रमुख रोहणी पौडेलले एघार हजार केभिएको लाइन अन्डरग्राउन्ड गरेर लैजान नमिल्ने तथा नेपालको कुनै पनि उद्योगमा केवल तारको प्रयोग नगरिएकाले केवल तार जडान गर्न २५ गुणा महंगो पर्ने भएकोले त्यो सम्भव नभएको जानकारी गराए । उनले विगत सात वर्षदेखि गाउँको बाटोबाटै सो उद्योगलाई लाइन वितरण गरिएको बताएका छन् ।
उनले गाउँमा पनि ११ केभीएको लाइन रहेको र कारखानामा पनि ११ केभीए लाइन जडान गर्ने बताउँदा पनि वडाध्यक्षले अवरोध गरेको बताए ।
उता अरनिको सिमेन्टका प्रबन्धक हरिशंकरलाल कर्णले उद्योग सञ्चालनमा वडा अध्यक्ष मोहित चौधरी विगत लामो समयदेखि विभिन्न बहाना बनाउँदै बाधक बन्दै आएको बताएका छन् ।
चौधरी वडा अध्यक्ष नहुँदै उनले सोझासाझा जनतामा भ्रम फैलाएर जम्मा गर्ने अनि पटक पटक उद्योगमा अवरोध पुराउने  उद्देश्यले यातायातका साधनहरू बिच बाटोमै रोक्ने , विशेष गरी महिलाहरूको प्रयोग गरी उद्योगको मूल गेट अगाडि प्रदर्शन गर्ने लगायत विभिन्न क्रियाकलाप गर्ने गरेको बताए ।
साउन महिनामा आएको बाढीले उद्योगको विद्युत् पोल बगाएपछि अहिले वडा अध्यक्ष चौधरीले विभिन्न समस्यालाई बताउँदै कम्पनीको उत्पादनमा प्रत्यक्ष अवरोध पुर्याइरहेको प्रबन्धक कर्णले गुनासो गरेका छन् ।
उद्योगले हरेक महिना २० लाख रुपैंया विद्युत् महसुल बुझाउने तथा वीरगंज भन्सारमा करिब १६ करोड रुपैंया राजस्व तिर्ने गरेको प्रबन्धक कर्णले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्