उत्पादनको बजारीकरणसहित सहकारीको विकास

मध्यपहाडी लोकमार्ग सडक छेउमै सञ्चालनमा आएको सहकारी बजारमा स्थानीय तोरी, फापर, कोदो, लट्टे, ओखरका गाजी, मह, घ्यू, टिमुरलगायत खाद्यान्न लेबलिङ गरी बिक्री वितरण भएपछि स्थानीय कृषक उत्साहित भएका छन् । त्यस्तै मध्यपहाडी लोकमार्ग भएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रुकुम पूर्वको अर्गानिक चिनो कोसेली लिने सुनौलो मौका पनि जुरेको छ ।
रुकुम पूर्व नयाँ जिल्ला भएका कारण क्रमशः त्यहाँको विकास र समृद्धिले लय लिँदैछ । बजार व्यवस्थापन, सडक यातायात, सञ्चारलगायतका अन्य विकासका पूर्वधार निर्माणकै क्रममा रहेकाले केही कमजोर देखिए पनि त्यहाँको एक सहकारीमार्फत भने नमुना सहकारी बजार स्थापना भएको छ । जिल्लाको भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक आधुनिक सुविधासहितको सहकारी बजार सञ्चालनमा लिएको छ । भूमे गाउँपालिकाको पहल कदमीमा प्रदेश सरकार र सहकारीको लगानीमा भूमे–२ खाबाङ बगरमा जिल्लामै पहिलो पटक नमुना सहकारी बजार सञ्चालनमा लिइएको हो ।
केही महिनाअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले सहकारी बजारको उद्घाटन गरे । गत आर्थिक वर्ष लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय र मारिङ बहुउद्देश्यीय सहकारी संस्थाको लगानीमा भूमे–२ खाबाङ बजरमा सहकारी बजार स्थापना गरिएको छ । मन्त्रालयको ४५ लाख ८० हजार ७ सय ९६ र सहकारीको ५६ लाख ५१ हजार ३ सय ५ गरी कुल १ करोड २ लाख ३२ हजार १ सय १ रुपैयाँ लगानीमा सहकारी बजार सञ्चालनमा लिइएको छ ।
संकलन केन्द्र बजारमा परिणत
उक्त बजेटले कृषिउपज संकलन केन्द्र, बजारमा परिणत गरिएको छ । जिल्लामा उत्पादन हुने सम्पूर्ण अर्गानिक वस्तुको बिक्री वितरणका लागि गाउँपालिकाको पहल र समन्वयमा सहकारीमार्फत सहकारी बजार सञ्चालन भएको छ ।
कृषिउपज खरिद–बिक्रीका लागि खाबाङ बगरमा दुई वर्षअघि संकलन केन्द्र सञ्चालनमा ल्याइएको थियो । अहिले त्यसैलाई व्यवस्थित र सुविधासम्पन्न बजारमा फेरिएको छ । मध्यपहाडी लोकमार्ग छेउमै सहकारी बजार स्थापना गरिएको छ । किसानको कृषिउपज खरिद गर्दा र बिक्री गर्दा बिलिङ प्रणाली अपनाइएको छ ।
स्थानीय वस्तुले पनि पायो लेबलिङ
मन्त्रालय र सहकारीको लगानीमा सञ्चालनमा लिइएको सहकारी बजार भवन निर्माण, डेकोरेसन, लेबलिङ, प्याकेजिङ मेसिन, सीसी क्यामेरा, होर्डिङ बोर्ड, कम्प्युटरलगायतको व्यवस्थापन गरिएको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताए ।
कृषकको अर्गानिक उत्पादनलाई उचित मूल्यमा संकलन र बिक्री वितरणको काम व्यवस्थित ठाउँ र व्यवस्थित तवरबाट भइरहेको अधिकारीले जानकारी दिए । सुविधासम्पन्न भवन निर्माण र त्यसको व्यवस्थापन सहितको सहकारी बजार भएपछि कृषिउपज खरिद तथा बिक्री सहज भएको अधिकारीको भनाइ छ ।
सामान्य प्लास्टिकमा प्याकेजिङ गरेर बिक्री वितरण भइरहेकामा अब हरेक सामानको लेबलिङ गरेर मात्र बिक्री हुँदै आएको छ । हरेक वस्तुको गुण मेसिनमार्फत मापन गर्ने र आधुनिक तरिकाले प्याकेजिङ गरेर मात्र बिक्री गर्ने गरी प्रणालीको विकास गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।
समाजवादी अर्थतन्त्र निर्माणको एउटा अभियान सहकारी रहेको अध्यक्ष बुढाले जानकारी दिए । त्यही उद्देश्य प्राप्त गर्न आफूहरू निर्वाचित भएको पहिलो आर्थिक वर्षमा सहिद परिवार, घाइते, अति विपन्नलाई सहकारीको सेयर खरिद गर्न ३० लाख बजेट विनियोजन गरी सुरु गरिएको मारिङ बहुउद्देश्यीय सहकारीले कृषकको उत्पादित वस्तुलाई बजारीकरण गर्न हाल सहकारी बजार सञ्चालनमा लिइएको गाउँपालिकाका अध्यक्ष बुढाको भनाइ छ ।
सहकारी बजारबाट जिल्लाका सबै स्थानीय तहका कृषकले उत्पादन गरेका कृषिउपज संकलन र बिक्री वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यस्तै जिल्लाका लागि आवश्यक तर जिल्लामा नपाइने वस्तु सहकारी बजारमार्फत किसान र उपभोक्ताका लागि आपूर्ति पनि भइरहेको छ । सहकारी बजारले हाल स्थानीयस्तरको उत्पादन कृषिउपज खरिद गरी लेबलिङ गरी बिक्री कार्य सुरु गरिएको छ । साथै स्थानीय स्तरमा उत्पादन नहुने अन्य खाद्य वस्तुलाई पनि खरिद गरी बजारकै मूल्यमा बिक्री गरिराखिएको छ ।
अर्गानिक वस्तु भरिभराउ
सहकारी बजारका ¥याकमा अहिले स्थानीय स्तरमा उत्पादित अर्गानिक वस्तुको भरिभराउ लेबलिङ गरेर राखिएको छ । जसमा तरकारी जन्य, खाद्यन्न जन्य र अल्लोका कपडाजन्य वस्तु महत्वका साथ मूल्य सूचीसहित राखिएको छ ।
गाउँघरमा उत्पादन गरिएको कृषिउपज अहिले सहकारीका कर्मचारीले कृषककै घरमै पुगेर खरिद गर्दै सहकारी बजारमा ल्याउने गरेका छन् । तोरी, फापर, कोदो, लट्टे, ओखरका गाजी, मह, घ्यू, टिमुरलगायत लोपउन्मुख खाद्यन्न लेबलिङ गरी बिक्री वितरण भइरहेको छ ।
स्थानीय अर्गानिक उत्पादनले उचित मूल्यका साथ आफूले उत्पादन गरेको वस्तुले लेबलिङ पाएपछि स्थानीय खुसी भएका छन् । सहकारी बजार सञ्चालनमा आएदेखि हिमाली जिल्लाकोे पहिचानसहितको उत्पादित वस्तुले बजार पाइराखेको स्थानीय सुजन घर्ती मगरले बताए ।