न्यूरोडलाई नमूना व्यापारिक केन्द्र बनाउनुपर्ने

महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रूपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार संघको छैटौं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गदै मन्त्री यादवले व्यापारिक हवका रूपमा रहेको न्यूरोड क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउन जरुरी रहेको बताएका हुन । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका छ,” उनले भने, “न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माण गर्न उद्योगी व्यवसायीहरू एकजुट हुनुपर्छ ।” न्यूरोड मुल्य व्यापारिक केन्द्र भएकाले यसलाई रक्षा गर्न उद्योगी व्यवसायी लाग्नुपर्ने उनको भनाइ छ । मुलुकको आर्थिक विकास सरकार एक्लै गर्न नसक्ने हुँदा उद्योगी व्यवसायी एक जुट भएर लाग्नुपर्ने मन्त्री यादवले बताए ।
सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको भन्दै मन्त्री यादवले आगामी दिनमा काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिक स्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । “व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ,” शाक्यले भने, “फुटपाथमुक्त शहर निर्माण गर्न लागेका छौं ।” महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रूपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको उनले जानकारी दिए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । दैनिक व्यापार घाटा ३ अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसकेको बताए । भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर जस्ता समस्या नियन्त्रण गर्न सरकार लाग्नुपर्ने उनको भनाइ छ । धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको उनले बताए ।
आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा. रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । कर छल्ने जोकोही उद्योगी व्यवसायीलाई कारवाही गरिने उनको भनाइ छ । भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्य गर्न व्यवसायीले सरकारलाई आग्रह गरेका छन् ।