बझाङको देवल विमानस्थल कालोपत्रे गर्न शुरु

बझाङ-लामो समयदेखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रे गर्ने कामको सुरु भएको छ । बझाङवासीको पटक–पटकको दबाबपछि नागरिक उड्डयन प्राधिकरणले गएको साउन महिनामा विमानस्थल कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरेको थियो । करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । अहिले विमानस्थलको वरिपरि नाली निमार्णको काम भइरहेको छ भने सँगसँगै पिचको काम पनि भइरहेको छ । २०३५ सालमा निर्माण भएको विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाज उडन भर्न सकेका थिएनन् । तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।
केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् । तर, धनगढी विमानस्थलमा विमानलाई राती ल्यान्डेड गरेर र नभएकाले सरकारले यस विषयमा सोच्नुपर्ने अवस्था आएको उनिहरूको भनाइ छ ।
विमान स्थल कालोपत्रे बन्न लागेपछि बझाङवासीहरू खुखी भएका छन् । लामो समयदेखि बन्द भएको विमानस्थलको कालेपत्रे गर्ने काम सुरु भएको छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय नरेन्द्र खड्काले बताए । विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकहरूको संख्यामा कमि आएको पर्यटन व्यवसायि किसोर खडकाको भनाई छ । उनले भने बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ । विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबरलगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धी हुनेछ ।
हिउ“दे वर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालीन विरामीहरूले बर्सेनि ज्यान गुमाउने गरेका छन भने यात्रुहरूले पनि सास्ती भोग्दै आएका छन । गत वर्ष असारदेखि भदौसम्म तीन महिनको अवधिमा बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पटक–पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारका लागि धनगढी लैजाँदै गरेका ५ जना बिरामीहरूले बाटैमा ज्यान गुमाउनु परेको थियो ।