औषधि लिमिटेडलाई सरकारको अढाई करोड

सरकारले नेपाल औषधि लिमिटेडलाई २ करोड ४० लाख रुपैयाँ हस्तान्तरण गरको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न वज्राचार्यलाई चेक हस्तान्तरण गरका हुन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी मृगौला रोगीहरूका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्ल्यूड उत्पादनका लागि सो रकम बराबरका चेक हस्तान्तरण गरेका छन् । मन्त्रालयले हस्तान्तरण गरेको बजेट भवन निर्माण, कच्चापदार्थ र मेसिनरी सामग्री ल्याउनमा खर्च गर्ने लिमिटेडका निमित्त महाप्रबन्धक बज्राचार्यले बताए । उनका अनुसार उत्पादनका लागि सम्पूर्ण काम सकेर अबको १० महिनासम्ममा उत्पादन बजारमा आउने छ । लिमिटेडले यो आर्थिक वर्षमा १० प्रतिशत उत्पादन गर्ने र आगामी वर्ष ५० प्रतिशत उत्पादन गर्ने लक्ष्य लिएको छ । लिमिटेडका अनुसार अहिले ल्याउने मेसिनको ५० प्रतिशत उत्पादन क्षमता छ । पहिलो चरणमा १५ देखि १७ युनिटको ल्फ्यूल्ड उत्पादन हुनेछ । चालू आर्थिक वर्षमा सरकारी संस्थान क्षमता विकास कार्यक्रमअन्तर्गत आएको ४ करोड बजेटबाट २ करोड ४० लाख रुपैयाँ लिमिटेडलाई अनुदान दिएको मन्त्रालयले जानकारी दिएको छ ।