पर्यटन दिवसको अवसरमा उद्यमीलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय सातजना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले महिला उद्यमीलाई सम्मान गरेको हो ।
परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनीलाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई पर्यटन प्रवद्र्धन एवं विकासमा पु¥याएको योग्दानको कदर गर्दै सम्मान गरेको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए । उनले भने, “स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दीगो बनाउन महिलाको भूमिका अझ महत्वपूर्ण छ ।”
सचिव कोइरालाले नेपाल उद्योग परिसंघले अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए । नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन्स लिडर सिपफोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले आयातित वस्तुमा भर पर्ने नभइ अब नेपाली वस्तु उत्पादन वृद्धि गरी स्वदेशी आवश्यकता परिपूर्ति गर्न र निर्यातका लागि पनि तयार रहन निजी क्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दीगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताए ।
यसैगरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने उल्लेख बताइन् । यसैगरी पर्यटन समितिकी सभापति पम्फा धमलाले सरकारले दिएका सुविधा वास्तविक लाभग्राहीले पाउन नसकेको गुनासो गर्दै उद्यमीले सरकारबाट सहयोगको अपेक्षा गरेको उल्लेख गरिन् ।