डडेल्धुराका पुरातात्विक सम्पदा ओझेलमा «

डडेल्धुराका पुरातात्विक सम्पदा ओझेलमा

डडेल्धुरामा रहेका पुरातात्विक सम्पदा (देवल) हरू संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन् । चौधौं शताब्दीमा पश्चिमका नायबी मल्लकालीन राजाहरूले निर्माण गराएका कलाकौशलयुक्त देवलहरूको उचित संरक्षण नहुँदा देवलका संरचना जीर्ण भई हराउँदै गएपछि पुरातात्विक इतिहास बोकेका सम्पदा लोप हुने अवस्थामा पुगेका हुन् ।
वि.सं १४ सयदेखि १८औं शताब्दीसम्म सुदूरपश्चिममा एकछत्र राज गर्दै आएका मल्ल राजाहरूले ग्रामीण बस्ती घुम्ने क्रममा उपयुक्त लागेको स्थानमा देवलहरू निर्माण गरी मौसमी रूपमा आवास बनाउने गरेका स्थान ओझेलमा परेको स्थानीय तारक सिंह खडकाको भनाइ छ । डडेल्धुराको प्रसिद्ध भगवती डागेश्वरी देवीको मन्दिर क्षेत्रमा रहेका यस्ता देवलहरूको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउने र यस क्षेत्रको समग्र जीवनशैलीमा परिवर्तन ल्याउने अजयमेरु गाउँपालिका–५ देवल दिव्यपुरका खगी सिंह खडका बताउँछन् । कलाकृतिले भरिपूर्ण र पुरातात्विक महत्व दर्शाउने डडेल्धुराका ऐतिहासिक सम्पदा र संरचनाहरूको संरक्षण संवद्र्धन तथा पर्यटकीय प्रवद्र्धनका लागि राज्यले ध्यान दिन नसकेको स्थानीय सुरेन्द्र मल्लको गुनासो छ । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बन्न सक्ने जिल्लाको अजयमेरुकोट र आसपासका क्षेत्र, देवल दिव्यपुर, चिपुर, साविक कोटेली र मणिलेक गाविसलगायत विभिन्न स्थानमा रहेका पुरातात्विक देवल, बैठक कक्ष, पानीका नाउला पहिचान भए पनि संरक्षण र पर्यटन प्रवद्र्धनका लागि न त स्थानीय बासिन्दाले चासो दिएका छन् न राज्यका निकायबाट ।
कुनै बेला डडेल्धुरा, बैतडीका स्थानीयहरूको छोटो बाटोको रूपमा रहेको चिरकिट्टे, महाभारत, कलेना, जोगबुढा, लिपना हुँदै तराई जाने बाटोमा रहेका दर्जनौं धर्मशालाहरू अहिले सुनसान बनेका छन् । महाभारतको मध्यभागमा रहेको तत्कालीन अजयमेरु राजाकी रानी नागी मल्लकी आमा रानी मौलाले घोडा सवारीसहित भित्र पस्ने विशाल धर्मशाला संरक्षणको पखाईमा छ । पाण्डवहरूले महाभारतको शैर गर्दा, द्रोपदीलाई प्यास लाग्दा, अर्जुनले बाण हानी पानी फुटाएको रमशिलाको पानी र त्यही बाटोमा पर्ने पाण्डव भीमले विशाल ढुँगामा सिंगान पुच्छदा लागेको औंठा छापलगायत धार्मिक, साँस्कृतिक र पौराणिक दृष्टिकोणबाट महत्वपूर्ण रहेका अनेकौं ऐतिहासिक सम्पदाको संरक्षणतर्फ कसैको ध्यान गएको छैन ।
जिल्लाका यस्ता पुरातात्विक, ऐतिहासिक र जीवनशैलीसँग जोडिएका कालखण्ड इतिहास बोक्ने सम्पदाहरूको सूचीकृत गरी संरक्षण संवद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले योजनाबद्ध रूपमा अघि बढन सके परिवर्तित संघीय राज्यको समृद्धिका लागि बलियो आधार बन्न सक्ने स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्