गुगलमा अध्ययन गर्दै टर्की पालन «

गुगलमा अध्ययन गर्दै टर्की पालन

दाङ-जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा टर्की पालन सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी लेखनाथ बुढाथोकीले विगत १ वर्ष अघिबाट व्यावसायिक रूपमा टर्की पालन सुरु गरेका हुन् ।
जिल्लामा यसरी व्यावसायिक रूपमा नै टर्की पालन सुरु गरिएको पहिलो पटक हो । जिल्लामा घरमा केही मात्रामा पालन गरिए पनि व्यावसायिक रूपमा टर्की पालन भएको छैन । टर्की पालन गरेका बुढाथोकीले यसरी व्यावसायिक रूपमा टर्की पालन गरेको पश्चिम नेपालमा नै पहिलो भएको दाबी गरेका छन् । उनले काठमाडांैबाट बच्चा ल्याएर व्यावासायिक रूपमा पालन सुरु गरेका थिए । अहिले घोराही उपमहानगरपालिका–७ बेसाहीमा जग्गा भाडामा लिएर टर्की पालन गरेका छन् । उनले ७ सय टर्की पालेका छन् । टर्की हेरचाहका लागि आप्mनो परिवारको समेत सहयोग छ । त्यसैगरी आफूसँगै दुईजना सहयोगी राखेका छन् । घोराही–७ बेसाहीमा १६ कठ्ठा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् ।
उनले करिब ४५ लाख लगानीमा टर्की पालन व्यवसाय गरेका हुन् । उनले लिएको जग्गाको भाडा प्रतिकठ्ठा मासिक २ हजार छ । नयाँ व्यवसाय गर्ने उद्देश्यका साथ ‘कालिका देवी पोल्ट्री फर्म’ को नाममा उद्योग दर्ता गरेर जिल्लामै पहिलो पटक टर्की व्यवसाय पालन सुरु गरेको बुढाथोकीको दाबी छ । अरुले गरेको व्यवसायभन्दा फरक व्यवसाय गर्ने उद्देश्यले आफू टर्की पालनमा लागेको उनले बताए । “मैले गुगलको अध्ययनबाट टर्की व्यवसाय सुरु गरेको हुँ,” बुढाथोकीले भने । टर्कीका बारेमा गुगलमा अध्ययन गरेर व्यवसाय सुरु गरेको उनको भनाइ छ । टर्कीको मासु सबै रोगका बिरामीले खान मिल्ने भएकाले पनि यसतर्फ आकर्षण बढेको उनले बताए । “सुगरदेखि क्यान्सरसम्मका बिरामीले यसको मासु खान मिल्छ,” बुढाथोकीले भने । बजारमा टर्कीको अत्यधिक माग रहेको उनको भनाइ छ । उनले पालेका टर्की बिक्री गर्न कुनै समस्या छैन । उनले पालेका धेरै टर्की खोरबाट नै बिक्री भएका छन् । केही मात्रामा काठमाडौं र बुटवलमा पठाएको बुढाथोकीले बताए । “अहिले टर्की खोज्न आउने कतिपयलाई छैन भन्दै फर्काउनु पर्ने बाध्यता छ,” बुढाथोकीले भने । टर्कीको माग पर्यटकीय क्षेत्रमा बढी हुने गरेको उनले बताए । अहिले जिउँदो टर्की प्रतिकेजी ७ सय ५० रुपैयाँमा र तयारी मासु प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री गरेको उनको भनाइ छ ।
बजार राम्रो भए पनि पाल्नका लागि भनेजति बच्चा पाउन समस्या रहेको उनले बताए । थोरै थोरै टर्कीका बच्चा ल्याएर हुर्काउन समस्या हुने गरेको उनले बताए । उनले टर्कीका बच्चा काठमाडौंबाट ल्याउने गरेका छन् । टर्कीका बच्चा पाउनै समस्या भएपछि लोकल कुखुरा पनि पालन गरेको उनले बताए । “मैलै सबै टर्की पालन गर्ने सोच बनाएको थिएँ भनेजति बच्चा पाउन नसके पछि लोकल कुखुरासमेत पालन गरेको हुँ,” बुढाथोकीले भने । राज्यले नयाँ कार्य थालनी गर्नेलाई सहयोग गर्नुपर्ने उनको माग छ । अहिलेसम्म उनले राज्यबाट कुनै पनि सहयोग पाउन सकेका छैनन् । विदेशबाट लोकल टर्की ल्याउन प्रयास गरे पनि ल्याउन समस्या भएको उनको भनाइ छ । यसका लागि राज्यले सहयोग गरिदिनुपर्ने उनको माग छ । “राज्यले केही गर्छु भन्नेलाई प्रोत्साहन गर्नु प¥यो,” बुढाथोकीले भने । लोकल कुखुराजस्तै टर्की पाल्न सकिने उनको अनुभव छ । टर्कीलाई करिब ७० प्रतिशत घाँस चाहिने हुँदा बोइलरमा जस्तो दाना पानीमा धेरै भार नपर्ने उनले बताए । त्यसैगरी ३० प्रतिशत दाना चाहिने उनले बताए ।
“टर्कीको सबैभन्दा मनपर्ने खाना दुबो हो,” बुढाथोकीले भने, “त्योबाहेक अन्य घाँस बर्थिम, मेथी, मकैचरी, विकसित नयाँ जातका घाँस पनि हुन् ।” औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाको अन्तरमा ८ किलोसम्मको हुने गरेको उनको भनाइ छ । तर २ वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्