आन्तरिक उडान १७ असारबाट «

आन्तरिक उडान १७ असारबाट

आन्तरिक उडान आगामी असार १७ देखि नियमित सञ्चालनमा आउने भएको छ । सोमबार सरकारले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेसँगै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान सुरु हुने मिति तय गरेको हो ।
मन्त्रालयले असार १७ देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको छ । कुन क्षेत्रमा, कति, कुन हवाई सेवा कम्पनीले उडान भर्ने भन्ने विषयमा निजी हवाई सेवाप्रदायक कम्पनीसँगको छलफलबाट टुंगो लगाउने पनि मन्त्रालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने र अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने बिहिबारबाट थपिने भएको छ । बिहीबार काठमाडौं–दोहा गन्तव्यमा नेपाल वायुसेवा निगमको विमानले र काठमाडौं–इस्तानबुलमा टर्किस एयरलाइन्सले उडान गर्दैछ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि आगामी ३० जुनसम्मको लागि कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले २२ गन्तव्यमा ९ कम्पनीले उडान अनुमति दिएर उडान तालिका सार्वजनिक गरेको हो । मन्त्रालयले प्रत्येक दिन न्यूनतम २ र अधिकतम ४ उडान गर्न पाउने गरी तालिका सार्वजनिक गरेको छ । सरकारले वैशाख २३ गते राति १२ बजे देखि भारत–नेपाल बाहेकका अन्तर्राष्ट्रिय गन्तव्यको व्यावसायिक उडानमा रोक लगाएको थियो भने आन्तरिकमा भने वैशाख २० गते राति १२ बजे उडान बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्