आन्तरिक उडान खुल्दै «

आन्तरिक उडान खुल्दै

सरकारले आन्तरिक हवाई उडान खोल्न अनुमति दिएको छ । मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप गर्न पनि अनुमति प्रदान गरेको छ । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि भारत–नेपाल बाहेकका अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो भने आन्तरिकमा भने वैशाख २० गते राति १२ बजे उडान बन्द गरेको थियो ।
मन्त्रिपरिषद्बाट आन्तरिक उडान खुला गर्न र अन्तर्राष्ट्रिय उडान संख्या थप गर्नेको लागि आवश्यक व्यवस्था मिलाउन पत्राचार भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “बुधबार नै हवाई सेवाप्रदायक र सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर उडान तालिका बनाउने र उडान सुचारुको लागि औपचारिक प्रक्रिया अगाडि बढाउछौं ।”
मन्त्रालयमा आवश्यक छलफल गरेर आन्तरिक तयारी पूरा गरी हवाई सेवाप्रदायकहरुको उडान तालिका तय भएपछि आन्तरिक उडान सुचारु हुने मन्त्रालयको भनाइ छ । आन्तरिक तयारी यसै हप्ता पूरा भएको खण्डमा सम्भवतः आगामी आइतबारबाट आन्तरिक उडान सुचारु हुने सहसचिव लामिछानेको भनाइ छ । कुन क्षेत्रमा, कति, कुन हवाई सेवा कम्पनीले उडान गर्ने भन्ने विषयमा भने कार्यतालिका बनाएपछि नै टुंगो लाग्ने मन्त्रालयले जनाएको छ ।
यसैगरी सरकारले अन्तर्राष्ट्रियतर्फ ९ वटा गन्तव्यमा उडान खुला गरेको छ । अब काठमाडौं–दोहा गन्तव्यमा नेपाली वायुसेवाको विमानले दुई र कतारको वायुसेवा कम्पनीले दुई गरी हप्तामा चार उडान भर्न पाउनेछन् । यसअघि यो गन्तव्यमा सातामा २ उडान हुँदै आएको थियो । काठमाडौं–इस्तानबुलमा टर्किस एयरलाइन्सले हप्तामा १ उडान गर्दै आएकोमा अब सातामा दुई उडान गर्न पाउनेछन् । काठमाडौं–दुबईमा नेपाल वायुसेवा निगमको विमानले दुई र संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौंमा सम्बन्धित मुलुकको वायुसेवा कम्पनीले दुई गरी हप्तामा चार उडान भर्ने पाउने निर्णय सरकारले गरेको छ ।
त्यस्तै काठमाडौं–दमाम नेपाली वायुसेवा कम्पनीको विमानले हप्तामा दुई उडान भर्न पाउने छन् । यो निर्णयसँगै श्रम रोजगारीको लागि साउदी अरब जानेहरुलाई सहज हुनेछ । काठमाडौं–कुवेत सिटीमा कुवेतको वायुसेवा कम्पनीले हप्तामा दुई उडान भर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।
काठमाडौं–मस्कटमा पनि ओमानको वायुसेवा कम्पनीबाट हप्तामा एक उडान भर्न पाउनेछन् । काठमाडौं–क्वालालम्पुरमा नेपाल वायुसेवाको दुई उडान र मलेसियाको वायुसेवाको दुई गरी हप्तामा चार उडान भर्न पाउने छन् भने काठमाडौं–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान भर्न सरकारले अनुमति दिएको छ । साथै, काठमाडौं–टोकियो रुटमा नेपाली वायुसेवाको विमानले हप्तामा एक उडान, काठमाडौं–छेन्दु र काठमाडौं–ग्वाङ्जाओमा रुटमा नेपाली वायुयान कम्पनीले एक-एक र चीनको वायुसेवाले एक-एक गरी सातामा दुई÷दुई उडान भर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्