उद्योग सञ्चालनमा नीतिगत समस्या «

उद्योग सञ्चालनमा नीतिगत समस्या

बाँकेका अधिकांश उद्योगीहरूले नीतिगत विभिन्न समस्याहरूले गर्दा उद्योग सञ्चालनमा धेरै चुनौतीहरू रहेको गुनासो गरेका छन् । उनीहरूले नीतिगत बाधा नफुकाउने हो भने नेपालका अधिकांश उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने चेतावनीसमेत दिएका छन् ।
उद्योगहरूमै पुगेर जिल्लाका विभिन्न साना ठूला उद्योगहरूको अवस्थाबारे जानकारी लिइरहेका बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक कोहलपुर–नेपालगन्ज सडक खण्डमा रहेको केएल दुगडको उद्योगमा पुग्दा दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले सो गुनासो गरेका हुन् ।
उद्योगपति छाजेडका अनुसार, नेपालका धेरै नीतिगत समस्याले उद्योग सञ्चालनमा चुनौतीहरू थपिएका छन् । “निर्यातमुखी नीति छैन,” छाजेडले भने, “खरिद ऐन अव्यावहारिक हुँदा क्षमताभन्दा सस्तो हेर्ने प्रक्रियाले सबैतिर डामाडोल पारेको छ ।” उद्योगपति छाजेडले उद्योगधन्दा सञ्चालनका लागि एकीकृत कानुनको आवश्यकतामा जोड दिएका छन् ।
“एउटा उद्योगका लागि १० वटा कानुन आकर्षित हुनु भएन,” उद्योगपति छाजेडले कानुनी झन्झटका कारण निरन्तर सन्त्रस्त रहनुपरेको प्रसंग उठाउँदै भने, “एउटा उद्योग चलाउँदा कुन–कुन कानुन आकर्षित हुने भन्ने कुरा प्रष्ट हुनुपर्छ ।”
उद्योगी छाजेडका गुनासा सुनेपछि सांसद गहतराजले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याहरूको समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।
उनले गाउँमा किसानहरूले सञ्चालन गरेका व्यवसायदेखि सहर बजारका ठूला उद्योगीहरूसँग भेटघाट गरेर उद्यमीहरूलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको बताए ।
बाँके क्षेत्र नं. १ का सांसद गहतराजले नियमित रुपले उद्योगको अवस्था अध्ययन र उद्योगपतिहरूसँग अन्तरक्रियालाई निरन्तरता दिइरहेको जनाउँदै स्थानीय उद्योगीहरूका समस्यालाई काठमाडौंसम्म पु¥याएर निकास निकाल्नेतर्फ सक्रिय हुने जनाए ।
“उद्योग कसरी चलिरहेका छन् भन्ने कुराको जानकारी लिएको छु,” सांसद गहतराजले भने, “जिल्ला आउँदा नियमित रुपमा उद्योग अनुगमनदेखि नीतिगत विषयका छलफल गर्दै आएको छु ।” खासगरी नीति निर्माणका आवश्यकता र विद्यमान कानुन संशोधनका तमाम कुराहरू आउने गरेका छन् ।
सांसद गहतराजले केएल दुगडको उद्योग परिसरदेखि उत्पादन प्रक्रियासम्मको जायजा लिंदै सो खाद्य उद्योगको ल्याब पनि निरीक्षण गरेका थिए । “सांसदले हाम्रा सबै उत्पादनहरूलाई नजिकबाट नियालेर प्रक्रियाहरूबारे जानकारी लिए,” सांसद गहतराजको चासोबारे दुगड ग्रुपका महाप्रबन्धक छाजेडले भने, “नियमित चासो राख्ने र समस्या समाधानमा सहजीकरणका लागि जनप्रतिनिधिको भूमिका रहनु सकारात्मक कुरा हो ।”
उता उद्योगी व्यवसायीहरूको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि विभिन्न प्रकारका नीतिगत समस्याका कारण उद्योग सञ्चालनमा कठिनाइ भैरहेकोले तत्काल त्यस्ता नीतिगत समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।
संघका अध्यक्ष नन्दलाल वैश्यले उद्योग व्यवसाय फस्टाउन धेरै नीतिगत समस्याहरू रहेको जनाउँदै सरकारले ती समस्या समाधान नगरेसम्म आर्थिक विकासले गति लिन नसक्ने बताए ।
उनले खुला सीमानाका कारण पहिलेदेखिनै विभिन्न प्रकारका समस्या झेल्दै आएका स्थानीय उद्योगहरूलाई नितिगत बाधा अडचनले झनै समस्यामा पारेको जनाउँदै सो बारेमा सरकारको ध्यान पटक–पटक आकर्षित गर्दा पनि सुनुवाइ नगरिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्