फौजी किराले मकै नष्ट

सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यसवर्ष पनि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ ।
कोरोनाको संक्रमण जारी रहेका बेला सुनसरीका केही ठाउँमा देखा परेको र फौजी किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए ।
मकैबाली फौजी किराले नष्ट गरिदिएपछि सुनसरीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । सुनसरीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी किराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।
कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । भर्खरै उम्रिएका मकैमा किराको प्रकोप झन बढी देखिएको छ । सुनसरीमा अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् । प्रायःकिसानका मकै गोड्ने बेला भएको छ ।
सुनसरीमा अघिल्लो वर्ष जस्तै यसवर्ष पनि विभिन्न स्थानमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको प्रकाशपुर, भोक्रहा, देवानगञ्ज, लोकही, महेन्द्रनगरलगायतका स्थानमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।