अक्सिजन अभाव नहुने कम्पनीको दाबी
गण्डकी प्रदेश राजधानी पोखरामा अक्सिजनको अभाव नहुने भएको छ । अक्सिजन ग्यास सिलिन्डर अभाव हुन थालेकाले करिब ३ हजार थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराउन पोखराका दुई अक्सिजन कम्पनी तयार छन् ।
पोखरामा दुई निजी कम्पनी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिले बजारमा अक्सिजन ग्यास सिलिन्डर अभावन हुन थालेकाले थप अक्सिजन ग्यास सिलिन्डरको व्यवस्थापन गर्न प्रशासन तथा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरेका हुन् । कम्पनीको मागअनुसार प्रशासनले पोखराको बजारमा विभिन्न कम्पनी तथा संस्थासँंग भएको अक्सिजन ग्यास सिलिन्डर पछि फिर्ता गर्ने सर्तमा हाल नियन्त्रणमा लिन थालेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पोखराका विभिन्न उद्योग तथा संस्थाबाट १ सय ८७ वटा अक्सिजन ग्यास सिलिन्डर प्रशासनले नियन्त्रणमा लियर पोखराका दुईवटा ग्यास कम्पनीलाई वितरण गरेको छ । पोखरामा पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेकाले भोलिका दिनमा कोरोनाका बिरामीका लागि अक्सिजन ग्यास अभावमा कसैको मृत्युवरण गर्न नपरोस् भन्दै कास्की प्रशासन, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा पोखरामा अक्सिजन ग्यास सिलिन्डर संकलन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पोखराका विभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानबाट संकलन गरिएको ग्यास सिलिन्डर पोखरा अक्सिजन र कालिगण्डकी अक्सिजन प्रालि तथा केही अस्पताललाई सिलिण्डर वितरण गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक विनोद सिलवालले बताए । कोरोना संक्रमितको संख्या बढेसँंगै उपचारका लागि अत्यावश्यक मानिने अक्सिजन ग्यासको अभावसमेत देखापर्न थालेकाले प्रशासनको समन्वयमा आफूहरूले बजारमा अक्सिजन ग्यासको खोजी गरी उनीहरुलाई पछि पुनः फिर्ता गर्ने गरी हाल ग्यास सिलिण्डर नियन्त्रणमा लिइएको उनले जनाए ।
अक्सिजनको अभावले कोरोना संक्रमित बिरामी मर्न नपरोस् भन्ने उद्देश्यका साथ पूर्वतयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर संकलन गरी अत्यावश्यक भएका अस्पतालसँंग सहकार्य गर्दै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । अन्य कम्पनी तथा व्यक्तिसँंग त्यस्ता अक्सिजन सिलिन्डर छन् भने अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिनुहुन समेत उनले आग्रह गरे ।
कालिगण्डकी अक्सिजन प्रालिलाई प्रशासनले २ वटा सीओटू (कार्वोन्डाई अक्साइडको ग्यास सिलिन्डरसहित ४४ वटा अक्सिजनका ग्यास सिलिण्डर उपलब्ध गराएको कम्पनीका निर्देशक कालिदास बरालले बताए । हाल आफ्नो कम्पनीमा करिब ३ सय वटा अक्सिजनका ग्यास सिलिन्डर स्टक रहेको उनले बताए । कम्पनीमा करिब २ हजार ५ सयवटा अक्सिजन ग्यास सिलिन्डर उपलब्ध भएकोमा अधिकांश हाल अस्पताल तथा विभिन्न कम्पनीमा लगिएको निर्देशक बरालले जनाए ।
त्यसै गरी पोखरा अक्सिजन प्रालिलाई प्रशासनले ६९ वटा अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराएको प्रालिका निर्देशक विनोद कायस्थले बताए । प्रहरी प्रशासनले संकलन गरेको अक्सिजन ग्यास सिलिन्डर थप पुनः कम्पनीमा प्राप्त हुने उनले जनाए । आफूहरूसंँग भएको १ हजार ६ सय अक्सिजन ग्यास सिलिन्डरमध्ये हाल आफूहरूसँंग प्रशासनले दिएको बाहेक स्टक नभएको निर्देशक कायस्थले जनाए । कम्पनीसंँग भएका ग्यास सिलिन्डर विभिन्न अस्पतालहत कम्पनीहरुमा पुगेकोले मानव स्वास्थ्यको लागि हाल अक्सिजन ग्यास आवश्यक भएकाले केही समयका लागि ग्यास सिलिन्डर उपलब्ध गराउन कायस्थले आह्वानसमेत गरेका छन् । पोखरा अक्सिजन र कालिगण्डकी अक्सिजन यी दुई कम्पनीले पोखरा क्षेत्रमा आवश्यक पर्ने अक्सिजन ग्यास उत्पादन गर्ने दाबी गर्दै आएका छन् । पोखरामा हाल कोरोना संक्रमण दर बढ्दो छ ।