डेढ वर्षभित्र रक्तसञ्चार भवन निर्माण हुने «

डेढ वर्षभित्र रक्तसञ्चार भवन निर्माण हुने

 डेढ वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि निर्माण व्यवसायी लामा कन्स्ट्रक्सन प्रालि र नेरेसोबीच सोमबार दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
सो सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर वडुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालगायत अन्य पदाधिकारी र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।
२१ करोड ७४ लाख ७३ हजार ८७५ रुपैयाँको लागतमा पुरानो भवन भएकै स्थानमा भवन निर्माणकार्य डेढ वर्षभित्र सम्पन्न गरिनेछ । भृकुटीमण्डपको केन्द्रीय रक्तसञ्चार सेवा भवनमा भूकम्पबाट क्षति पुगेपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । नेपाल रेडक्रसको भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत थाइ रेडक्रसको आर्थिक सहयोगमा सो भवन निर्माण हुँदैछ । हाल सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको बालकुमारीबाट सञ्चालन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्