Logo

सर्वोच्च अदालतको फैसलाले दाहाल–माधव पक्ष संकटमा : महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले दाहाल–माधव पक्ष संकटमा परेको जिकिर गरे ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने दाहाल–माधव पक्षलाई नै संकट परेको बताए । उनले दाहाल–माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, संकटचाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहाने दाहाल कमरेड र माधव कमरेडहरूको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी । किनभने उहाँहरूसँग फ्रन्ट गियरभन्दा पनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो । पुस ५ गते उहाँहरूले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको थियो । त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ । अब भोलिका दिनमा परिस्थिति उहाँहरूको निमित्त झन असहजतातर्फ गइरहेको छ ।’
नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने बताए । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमानमै सीमित हुने पनि उनको भनाइ छ ।
उनले भने, ‘कम्युनिष्ट पार्टी फुटेको कुरा हामिले नस्वीकारेको अवस्थामा र वर्तमान सरकार विरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्तावलगायतका कुनै पनि प्रस्तावहरू नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्री माथि उठ्ने स्थिति पनि छैन र २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान, अनुमानमै सीमित हुने होकि भनेजस्तो लक्षण देखिँदैछ ।’
दाहाल–माधव पक्षले औपचारिक रूपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरू केपी शर्मा ओली पक्षमा आउने उनले दाबी गरे । दाहाल–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्