विभागले सिस्टम दुरूपयोग गरी बिक्री गरेका लाइसेन्स रद्द «

विभागले सिस्टम दुरूपयोग गरी बिक्री गरेका लाइसेन्स रद्द

यातायात व्यवस्था विभागका प्राविधिकहरूले सिस्टमकै दुरूपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरूपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ ।
ललितपुर एकान्तकुना लाइसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेखबाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाइसेन्स रद्द गरेको हो । विभागले नै आर्थिक प्रलोभनमा परी बिक्री गरेको लाइसेन्स सिस्टम विभागमै भएकाले कार्यालयले उसैलाई रद्द गर्न भनेको हो । सिस्टम कार्यालयले विभागलाई पठाएको पत्रमा भनिएको छ– यस कार्यालयको अभिलेख (चेकलिष्ट-माइन्यूट) बाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका विभिन्न वर्षका कुल ६ सय ३५ सवारी चालक अनुमतिपत्रलाई कार्यालयको मिति २०७५-७-१२ को निर्णय अनुसार रद्द गरिएकोमा देहायका दर्ता नम्बर भएका व्यक्तिहरूबाट राजस्व भुक्तानीसमेत भइसकेको देखिन आएकोले निजहरूको हकमा यस कार्यालयको ईडीआईभीआरएस सिस्टमबाट सवारीचालक अनुमतिपत्र रद्द हुन नसकेको हुँदा निजहरूले भुक्तानी गरेको राजस्व बिल यस कार्यालयबाट क्यान्सिल गरिएको हुँदा संलग्न लिस्टमा उल्लेखित दर्ता नम्बर भएका व्यक्तिहरूको नाममा अनधिकृत रूपमा जारी भएका विभिन्न वर्गका (नयाँ तथा वर्ग थप समेत) सवारी चालक अनुमती पत्रहरूलाई इडीएलभीआरएस सिस्टमबाट हटाइदिने व्यवस्थाका लागि त्यहाँ विभागमा नै पठाइएको व्यहोरा अनुरोध छ ।
एकान्तकुना लाइसेन्स कार्यालयले आफ्नो कार्यालयबाट ट्रायल परिक्षा उत्तीर्ण गरी पठाएको विवरणमा विभागका प्राविधिक कर्मचारीले फेल भएकालाई समेत पास भएको विवरण बनाइ लाइसेन्सको राजस्व भुक्तानी गराइसकेको थियो । कार्यालयले साउन १ देखि कात्तिक ११ गतेसम्म सञ्चालन भएका विभिन्न वर्गका परीक्षामा छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । कार्यालयले आफ्नो कोड प्रयोग गरी उक्त अनियमितता भएका पत्ता लागेपछि विभाग र संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छानविनका लागि उजुरी दिएको थियो । मन्त्रालयले सहसचिव रामहरि पोखरेलको संयोजकत्वमा कमिटी गठन भएको छ र उक्त कमिटीले काम गरिरहेको छ । कार्यालयबाट अनियमितता भएको विषयमा परेको निवेदनका आधारमा मन्त्रालयले छानबिन गरिरहेको छ । उक्त कमिटीले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जनाइएको छ ।
विभागले विभिन्न वर्गका प्रयोगात्मक परीक्षाहरूमा फिल्ड रिपोर्ट चेकलिस्ट मा अनुत्तिर्ण भएका परीक्षार्थीहरू सफ्टवेरको ट्रायल टेस्ट रिपोर्टमा उत्तीर्ण देखाएको हो । यसरी पास गरिएका परीक्षार्थीहरूबाट प्रतिलाइसेन्स विभागका प्राविधिकले २० देखि ५० हजार रुपैयाँसम्म लिएको विभाग स्रोतको भनाइ छ । “प्रणालीकै दुरूपयोग गरी यसरी लाइसेन्स बिक्री गरिनु संगठित अपराध नै हो,” स्रोतले दावी ग-यो, “त्यसरी बिक्री गरिएको लाइसेन्सको पैसा विभागका महानिर्देशक हुँदै मन्त्रीसम्म पुगेको छ ।”
स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स समेत यसमा संलग्न रहेको अनुमान गरिएको छ । उक्त कम्पनीसँग सबै युजर कोडमा एक्सेस हुन्छ । त्यसमा विभागका प्राविधिक कर्मचारीहरूको पनि संलग्नता हुने विभागका एक पूर्वमहानिर्देशकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्