रोजगारी खोज्दै नेपाल आउनेलाई रोकेन कोभिडले «

रोजगारी खोज्दै नेपाल आउनेलाई रोकेन कोभिडले

कोभिड संकटयता रोजगारीका लागि विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने स्थिर रहेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या सात प्रतिशतमात्र घटे पनि सोही प्रयोजनका लागि विदेश जाने नेपालीको संख्यामा भने ८३ प्रतिशतले कमी आएको छ । यो संख्या रोजगारीका लागि सरकारबाट श्रम स्वीकृति लिएका विदेशीको संख्या हो ।
चालू आर्थिक वर्षको ६ महिनामा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १ हजार १६० रहेको छ । यो संख्या गत वर्षको यही अवधिमा १ हजार २५४ थियो । यसरी नेपालमा रोजगारीका लागि आउनेका संख्या चालू आवमा ७ प्रतिशत मात्र घटेको छ । कोभिड संकटका बेला पनि ठूला परियोजना सञ्चालन भइरहेका कारण रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या स्थिर रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपले कोभिड संकटका बेला नयाँ श्रम स्वीकृति लिनेको संख्यामा केही कमी आए पनि नवीकरण गर्नेको संख्या बढी रहेका कारण नेपालमा काम गर्ने विदेशीको संख्या स्थिर रहेको बताए । नेपालमा रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिने विदेशीमध्ये अधिकांश हाइड्रोपावर, अन्य पूर्वाधार निर्माण र सूचना प्रविधिका क्षेत्रमा काम गर्ने धेरै रहेको प्रवक्ता गोपले जानकारी दिए । चालू आवमा रोजगारीका लागि नेपाल आउने विदेशीमध्ये ७३ प्रतिशत अर्थात ८ सय २९ चिनियाँ नागरिक रहेका छन् ।
नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा विदेशी कामदार कार्यरत छन् । रसुवागढी, त्रिशुली, मध्यभोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा पनि उच्च प्राविधिक कामदार विदेशी रहेका छन् ।
विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्तिहरू आयात गरी काममा लगाउन सकिने व्यवस्था गरिए पनि नेपाल सरकारका विभिन्न निकायहरूसँग भएका सम्झौताबमोजिम संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदार समेत नेपालमा आउने गरेका छन् । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा आइ काम गर्ने हुँदा विदेशी लगानीका आयोजनाबाट आर्बौं रुपैयाँ विदेश जाने गरेको छ । कोभिड–१९ को महामारीको अवस्था देखाई श्रमिक कटौतीको बाहानामा नेपाली श्रमिकलाई मात्र कटौती गरी रोजगारी गुमेको अवस्थामा बिदेशी श्रमिकहरू यथावत राख्ने गरेको पाइन्छ । यस अवस्थामा नेपालमा उपलब्ध नेपाली श्रमिकहरूलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने विज्ञको सुझाव छ । नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय÷विभागको सिफारिस एंव गृह मन्त्रालयको कार्य सहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनु पर्ने नीतिगत सुभारको आवश्यकता रहेको छ ।
विद्यमान श्रम ऐनले कुटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताले श्रम स्वीकृति लिन नपर्ने उल्लेख भएको अवस्थामा बाहेक बिभागबाट श्रम ईजाजत नलिई कुनै बिदेशीलाई काममा लगाउन पाइँदैन । विदेशी श्रमिक नियुक्त गर्नुपूर्व रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट प्राप्त आह्वान गर्नुपर्ने उल्लेख छ । त्यसरी माग आह्वान गर्दा पनि नेपाली नागरिकबाट तोकिए बमोजिम दरखास्त नपरेमा वा नेपाली नागरिक छनौट हुन नसकेमा सोको प्रमाण सहित रोजगारदाताले विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभाग समक्ष निवेदन दिन सक्न व्यवस्था रहेको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा श्रम स्वीकृति लिएका विदेशीको संख्या
देश संख्या
चीन ८२९
बेलायत ५५
जापान ३९
अमेरिका ३१
अन्य १७६

प्रतिक्रिया दिनुहोस्