Logo

लगानी बढाएर रोजगारी सिर्जना गर्न राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको बढ्दो व्यापारघाटाले अर्थतन्त्र स्वावलम्बी बन्न नसकेको उल्लेख गर्दै लगानी बढाइ रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा रा राष्ट्रपति भण्डारीले नेपाल वाह्य देशसँग निर्भर रहनुपर्ने अवस्थामा रहेको र यो अवस्थालाई ‘ब्रेक’ गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्नुपर्ने धारणा राखिन् । “स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्छ र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानी समेत आकर्षित हुन्छ,” राष्ट्रपतिले भनिन्, “कृषि, उर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।”
राष्ट्रपति भण्डारीले नेपालसँग पर्याप्त सम्भाव्यता भएर पनि पछि परिरहेको उल्लेख गर्दै यसमा सरकार र निजी क्षेत्र दुवै गम्भीर बन्नुपर्ने धारणा राखिन् । “हामी प्राकृतिक स्रोतसाधनमा धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन,” उनले भनिन्, “अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ, रोजगारीका लागि वाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाइँहरू गम्भीर भएर लाग्नुहोस् ।” सो अवसरमा उनले महासंघको वर्तमान नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न महासंघका पदाधिकारी आइतबार राष्ट्रपति भवन शितलनिवास पुगेका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।
अध्यक्ष गोल्छाले महासंघको नयाँ नेतृत्वले विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराए । उनले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए । साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको उनको भनाइ छ ।
भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको जानकारी गराए । गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तै, कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने धारणा राखे । मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सिर्जनामा सरकारको ध्यान जानुपर्ने महासंघ पदाधिकारीले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्