परिसंघद्वारा ठूला करदातालाई सम्मान «

परिसंघद्वारा ठूला करदातालाई सम्मान


नेपाल उद्योग परिसंघले सरकारर्लाइ सबै भन्दा बढी कर तिर्ने आफूसँग आवद्ध व्यवसायीहरुलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले सम्मान गरेका करदाताहरू मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् ।
सम्मानित करदाताहरुमा धेरै उद्यमी तथा संस्थाहरु नेपाल उद्योग परिसंघमा आबद्ध रहेकाले परिसंघले पनि सम्मान गरेको जनाएको छ । परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान गरे । परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीज प्रालिका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले सम्मान गरेको छ । यस्तै सूर्य नेपाल प्रलि र डाबर नेपाल प्रालिलाई पनि सम्मान पत्र प्रदान गरिएको परिसंघले जनाएको छ ।
सम्मान तथा बधाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष मोरले देशको अर्थतन्त्रमा परिसंघमा आवद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताए । निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनु पर्नेमा निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । सो अवसरमा सम्मानित करदाताहरुले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघले गरेका क्रियाकलाप महत्वपूर्ण रहेको बताए ।
यस अघि नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्