थलिए साना तथा ठूला व्यापारी

इलाम-पछिल्लो छ महिना यता व्यापार व्यवसाय नचल्दा इलामका साना व्यापारी थला परेका छन् । कोरोना भाइरस र लकडाउनका कारण व्यवसाय नचल्दा साना व्यापारी थला परेका हुन् । ऋण लिएर सञ्चालन गरिएको व्यवसाय नचल्दा व्यापारी मारमा परेका छन् । फुटपाथदेखि जिल्लाका पर्यटकीय स्थलमा सञ्चालित पसलहरु बन्द छन् । पर्यटकीयस्थल माइपोखरी, कन्याम, गजुरमुखी लगायतका स्थानमा सञ्चालित पसलहरु बन्द हुँदा घरखर्च चलाउन समस्या भएको व्यापारीहरुको भनाइ छ ।
कतिपय व्यापारीहरु कृषि पेशामा फर्किएका छन् । कतिपय ऋणकै कारण भोक निन्द्रा नै हराएको बताउँछन् । कन्याममा आएका पर्यटकलाई विभिन्न पोशाक लगाउन दिएर दैनिक ५ सयदेखि ३ हजारसम्म कमाई गर्ने सुस्मिता तामाङ रातमा निन्दा हराएको बताउँछिन् । “न राती निन्द्रा लाग्छ, न दिउँसो काम गर्ने मुड हुन्छ” निराश भएर उनले थपिन्, “भोकै हराएर गको छ यतिबेला ।”
उनी मात्र नभइ मेची राजमार्गमा पसल सञ्चालन गर्ने सयौँ व्यापारीहरुको अवस्था उस्तै छ । आफ्नै लगानीमा पसल गर्नेहरुको अवस्था उस्तै भएपनि सहकारी तथा बैंकबाट ऋण लिएर व्यवसाय चलाउनेहरु थप समस्यामा छन् ।
दैनिक व्यवसाय गरेर दैनिकी चलाउनेको दिनचर्या झनै कष्टकर बनेको छ । दैनिक पैसा चलाउने बानी परेका व्यवसायीहरुले छ महिना यता पैसाको मुख देख्न नपाएको बताएका छन् ।
ठूलो लगानी गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने व्यवसायीको समस्या पनि उस्तै छ । करोडौँ रकम लगानी गरेर व्यवाय गर्दै गरेका र गर्न तयारी गर्नेहरु ब्याज रकमले नै गर्दा खान धौधौ पर्दै गएको बताउँछन् । विशेषगरी इलामको सूर्योदय नगरपालिका क्षेत्रमा पर्ने पर्यटकीय स्थल आसपासमा खुल्दै गरेका केही होटलहरु निर्माणाधिन अवस्थामै थन्किएका छन् ।