आन्तरिक उडान सुचारु, विमानस्थलमा चहलपहल «

आन्तरिक उडान सुचारु, विमानस्थलमा चहलपहल

भैरहवा-चैत ११ देखि रोकिएको आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले असोज १ गतेनै आन्तरिक हवाई सेवा सुरु गर्ने भने पनि विमान सेवा कम्पनीहरुले सोमबारबाट स्वास्थ्य सतर्कता अपनाई उडान सुरु गरेका छन् । करीब ६ महिना पछि विमानस्थलमा फेरि चहल पहल देखिएको छ ।
हवाई यात्रु, विमान सेवा कम्पनीका कर्मचारी, विमानस्थल बाहिर ट्याक्सी सेवा प्रदायकहरुको बाक्लो उपस्थितिले विमानस्थलमा चहलपहल देखिएको छ ।
अन्य स्थानमा जस्तै निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ बिहानैदेखि चहल पहल थियो । यात्रु पु¥याउन जाने र लिन आउनेहरु बाहिर प्रतिक्षामा देखिन्थे । पहिलो दिन बुद्ध एयर र यति एयरले उडान सुरु गरेका छन् । बिहान पहिलो उडान बुद्ध एयरले गरेको थियो ।
विमानस्थलमा यात्रुहरुका लागि सुरुमै प्रवेशद्वारमा स्वास्थ्य कार्यालय र युनिभर्सल मेडिकल कलेजद्वारा स्थापना गरीएको हेल्थ डेस्कमा तापमान र अन्य परीक्षण गरी काउन्टरमा पठाइएको छ । त्यसै गरी टिकट काउन्टरमा पनि सम्बन्धित विमान सेवा कम्पनीले तापमान लिने गरेका छन् । प्रस्थान कक्ष बाहिर पनि तापमान लिने र हातमा स्यानिटाइजर लगाउन दिने गरीएको छ । अन्तिममा विमानमा प्रवेश गरेपछि विमानका कर्मचारीले दिएको फेस सिल्ड लगाएपछि मात्रै विमानको सिटमा बस्न पाइने व्यवस्था छ । साथै मास्क अनिवार्य रहेको बताइएको छ ।
उता ६ महिनापछि उडान सुरु हुँदा पर्यटन व्यवसायीहरु खुसी भएका छन् । सोसाइटी अफ् टुर एण्ड ट्रााभल अपरेटर्स (साट्टो) प्रदेश ५ का संयोजक सञ्जय बजिमयले आन्तरिक उडान सुचारु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको भन्दै पर्यटन स्थलहरु, मठ मन्दिरहरु पनि खुल्ला गर्नु पर्ने बताए ।
सुजराती सार्क टुर्सका प्रबन्धक श्रीचन्द गुप्ताले आन्तरिक उडान सुचारु हुनु राम्रो भएको भन्दै पर्यटन व्यवसायी हतोत्साही नभएको जनाए ।

प्रतिक्रिया दिनुहोस्