विराटनगरमा प्रादेशिक पुँजीबजार प्रदर्शनी हुने «

विराटनगरमा प्रादेशिक पुँजीबजार प्रदर्शनी हुने

विराटनगर- नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा विराटनगरमा यही असोज १९ र २० गते पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी गर्ने भएको छ । बोर्डले मंगलबार पत्रकार सम्मेलन गरी विराटनगरमा प्रादेशिक पुँजी बजार प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो ।
बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पहिलोपटक सेयर जारी गर्ने जुटमिल्स विराटनगरमा भएकाले उपत्यका बाहिर पुँजी बजार प्रदर्शनी गर्न विराटनगरलाई रोजेको जानकारी दिए । उनले पुँजी बजारको प्रबद्र्धन र जनचेतना अभिवृद्धिका लागि प्रादेशिक तहमा पुँजी बजार प्रदर्शनी गर्न लागिएको बताए ।
प्रदर्शनी जैन भवनमा हुने छ भने १ सय २० स्टल रहने छन् । प्रदर्शनीमा ब्रोकर व्यवसायी, मर्चेन्ट बैंकर, आश्वा सदस्य बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, निक्षेप सदस्यहरूलगायतको स्टल रहने बोर्डले जनाएको छ ।
गत भदौमा बोर्डका उपनिर्देशक रुपेश केसीको नेतृत्वको टोलीले पुँजी बजार प्रदर्शनीको तयारीका लागि यहाँका मुख्यमन्त्री, राष्ट्र बैंक, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल पत्रकार महासंघलगायतका सरोकारवालासँग छलफल गरी सुझाव लिएको थियो । “विराटनगरका उद्योगलाई पनि पुँजी बजारमा आकर्षित गरी रियल सेक्टरलाई बजारमा भिœयउने उद्देश्य राखिएको छ,” कार्कीले भने, “पुँजी जुटाउने सजिलो माध्यम धितोपत्र बजार भएकाले बोर्डको योजना उत्पादनमूलक क्षेत्रलाई बजारमा आकर्षित गरी बजारको दिगो विकास र लगानीकर्ताको हक हित सुरक्षित गर्ने हो ।”
सो अवसरमा विद्यार्थी, लगानी गर्न चाहनेहरूलगायतलाई लक्षित गरी सेयर बजारबारे आधारभूत तालिमसमेत दिइनेछ । धितोपत्र बोर्डले गत वैशाखमा काठमाडौंमा पहिलोपटक पहिलो पुँजीबजार प्रदर्शनी सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्