Logo

प्राधिकरणको अध्यक्षमा घिमिरे, झा र खनाल सिफारिस

नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष पदका लागि परेका १५ आवेदनमध्येबाट ३ जनाको नाम सिफारिस गरिएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले सो पदका लागि सुशील घिमिरे, दिगम्बर झा र पुरुषोत्तम खनाललाई सिफारिस गरेको हो ।
सिफारिसमा परेकामध्ये घिमिरे सूचना मन्त्रालय तथा पर्यटन मन्त्रालयका पूर्वसचिव हुन् । पर्यटन सचिव भएका वेला पर्यटन बोर्डमा अनियमिता प्रकरणमा संलग्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई विषेश अदालतमा मुद्दा दायर गरेकोमा गत बैसाखमा उनले सफाइ पाएका छन् । सञ्चार सचिव भई काम गरेको अनुभव भएकोले उनलाई दूरसञ्चार क्षेत्रको अनुभव छ ।
सिफारिसमा परेका अर्का व्यक्ति दिगम्बर झा हुन् । उनी प्राधिकरणकै निवर्तनमान अध्यक्षसमेत हुन् । उनी गत असार २० गतेको मन्त्रिपरिषद् बैठकबाट हटाइएका थिए । तर, उनले फेरि अध्यक्ष पदको दाबी गर्दै आवेदन दिएका थिए । यसैगरी सिफारिस भएका पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशक हुन् । घिमिरे, झा र खनालमध्येबाट अब बस्ने मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
सिफारिस समितिमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा प्रवक्ता ढकाल र कानुन सेवाबाट निवृत्त रुद्र सिटौला रहेका थिए । कार्य अनुभव, शैक्षिक योग्यता आवेदकले पस्तुत गरेका योजना लगायतका कुरा अध्ययन गरी मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको प्रवक्ता तथा सिफारिस समिति सदस्य रामचन्द्र ढकालले बताए ।
मन्त्रालयले माग गरेको आवेदकमा कम्तिमा स्नातक उपाधि हासिल गरी दूरसञ्चार क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने उल्लेख छ । कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीका हकमा राजपत्रांकित प्रथम श्रेणी, दसौं तह वा त्यसभन्दा माथिल्लो पदमा अनुभव प्राप्तले प्राधिकरण अध्यक्षको दावी गर्न सक्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्