Logo

मुसहर बस्तीमा समस्यै समस्या

चितवन– वर्षौंदेखि फुसको छानोमा बस्दै आएका मेघौलीस्थित बेथरी खोलानजिकका मुसहर बस्तीको समस्या अझै पनि ज्यूँका त्यूँ छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ मा पर्ने सिसौघारी टोलमा बसोबास गर्ने अधिकांश मुसहरको अवस्था दयनीय छ ।

चारपुस्ता बढीले यहीं समय गुजारा गरे पनि उनीहरूको जीवनमा अझै परिर्वतन हुन सकेको छैन । यहाँ १० घरभन्दा बढी मुसहरसहित दलित, तामाङ, थारुसहित विपन्न समुदायका ८४ घरपरिवार छन् । अन्य समुदायमा केही परिर्वतन देखिए पनि मुसहर समुदायको पीडा दयनीय छ । ‘चार पुस्तादेखि हामी यहीँ छौं,’ सिसौघारी टोलका अध्यक्ष श्याम विकले भने, ‘जंगल र खोलानजिक बस्ती छ । चुनाव आयो, नेता आए भोट मागे,’ उनले भने, ‘जितेपछि कोही फर्केर आएन ।’

‘समस्या उस्तै छ । आशैआशमा पीडादायी जीवन लिएर बाचेका छौँ,’ विकले भने । मुसहरहरू पानीको पैसा तिर्न नसक्दा कुवाको पानी खान बाध्य छन् । टोलका कसैले पनि माध्यमिक तह पास गरेका छैनन् । प्रदेश सांसद् ज्ञानजङ्ग लामाले बस्ती र त्यहाँका समुदायको अवस्था देख्दा आफूलाई पीडाबोध भएको बताए । सिसौघारी टोल समुदायको अवस्था बुझ्न सांसद्को टोली पुग्दा स्थानीयले समस्या सुनाउँदै सहयोगका लागि अपिल गरे ।

पिछडिएको यहाँका अधिकांश मानिस दैनिक ज्यालादारी गरेर आफ्नो छाक टार्ने गर्दछन् । तर, अहिले काम नपाउँदा उनीहरू समस्यामा छन् । ‘हामीलाई सबै थोकको समस्या छ । तर, चुनावमा भोट माग्न आउने नेताहरू त्यसपछि आउँदैनन्,’ स्थानीय लक्ष्मी मुसहरले भनिन्, ‘खाना लाउन गाह्रो छ, कसैले हेर्दैन ।’ खानेपानीको पूर्वाधार पनि नभएको उनले गुनासो गरिन् । स्थानीय सुरेश परियारले आर्थिक र सामाजिकरूपमा पछि परेका आफूहरूको समस्या कसैले पनि नसुनेको दु:खेसो पोखे ।

उनले पनि मुसहर बस्तीमा खानेपानी, शौचालयको व्यवस्था गरिदिन आग्रह गरेका छन् । स्थानीयको समस्या सुनेपछि सांसद् लामाले सिसौघारी जनताको समस्या बुझेर पहिलो चरणमा चारवटा खानेपानीको धारा जडान गर्ने र १२ वटा पक्की शौचालय निर्माण गर्ने घोषणा गरेका छन् । ‘म घुम्दै यहाँ आएको थिएँ, जाडोको समय आउँछ, बेथरी खोला डिल त्यसै सुतिरहेको दृश्यले मन छोयो,’ उनले भने, ‘यो जमानामा पनि भरतपुरमा कुवाको भरमा पानी प्रयोग गरेको पाइयो, यो दु:खद हो ।’

पिछडिएको उक्त बस्तीको विकास र स्थानीयको जीवन उकास्ने गरी काम गर्ने सांसद् लामाले प्रतिबद्धता जनाए । उनले भने, ‘खानेपानी, शौचालय र न्यानो कपडा दिएपछि एकीकृत बस्ती निर्माणमा स्थानीय र प्रदेशसहित समाजसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’ समुदायमा बिहान काम गरेर कमाएको रकम बेलुका खर्च गरेर सक्ने संस्कार रहेको बताउँदै उनले पैसा बचतमा ध्यान दिन आग्रह गरे ।

उनले विपन्न समुदायको जीवनस्तर उकास्न समुदाय आफै सचेत हुनुपर्ने बताए । स्थानीयबासीसमेत रहेका सांसद् लामाले मुसहर बस्तीको विकासका लागि आफूले पहल गरिरहेको दाबी गरे । उनले छिट्टै यहाँ एकीकृत बस्ती निर्माण गरिने स्पष्ट पारेका छन् । यहाँ विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले समेत विभिन्न राहतका प्याकेज बस्तीमा पुर्‍याए पनि त्यसले तत्कालका लागि राहत दिए पनि दीर्घकालीन समस्या समाधान गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्