जुम्लालाई तीन जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ

जुम्लासहित चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको छ । विगत सात महिनायता निर्माण व्यवसायीले म्याद थपको माग गर्दै काम नगरेपछि (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ भएको हो । उक्त सडक चारवटा निर्माण सेवामार्फत् विभिन्न प्याकेजमा काम हुँदै आएको थियो ।
गत असोज १९ देखि २५ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा यातायात करिब २० दिन बन्द भयो । (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक विस्तार तथा निर्माणको काम गरिरहेका चार वटै निर्माण सेवाको अन्तिम म्याद असोजसम्म मात्रै थियो । वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग करिब २० दिन पूर्ण अवरुद्ध हुँदा जुम्लामा विशेषगरी इन्धन, डिजेल पेट्रोलको) चरम अभाव भएको थियो । जसका कारण निर्माण व्यवसायीले सडक निर्माणको काम गर्न सकेनन् ।
खरिद ऐनले सम्झौता समयभित्र काम नभएको ठेक्काको म्याद थप्न नमिल्ने, काम सम्पन्न नभई भुक्तानी गन नसक्ने कानुनी बाध्यता सडक डिभिजनलाई जुम्ला छ भने हालसम्म भएको कामको भुक्तानी पाउनुपर्ने तथा विपद् अवधिभरको म्याद थप भएमात्रै बाँकी काम अघि बढाउने निर्माण व्यवसायीको अडानका कारण पछिल्लो समय (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) जोड्ने सडक निर्माणमा ढिलाइ भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए ।
भुक्तानी नदिएसम्म निर्माण व्यवसायीले काम अघि बढाउने स्थिति देखिएन । प्रमुख विष्ट भन्छन्, “काम पूरा नभई भुक्तानी दिन मिल्दैन । सम्झौता मिति असोजमै सकियो । म्याद थप्न हामीले चाहेर हुँदैन । बरु हामी म्याद थपका लागि सहजीकरण गरिदिन सक्छौं । तर पछिल्लो खरिद ऐनले सम्झौता मितिभित्र काम नसकिएको खण्डमा म्याद थप्न मिल्ने व्यवस्था छैन ।”
(जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक निर्माणका लागि विभिन्न प्याकेजमा काम गरिरहेका (कास्यप निर्माण सेवा,अर्घाखाँची महेश जेभी, आशापूर्ण निर्माण सेवा र आरएनबी बिल्डर्स) गरी चारै निर्माण सेवाका ठेकेदार म्याद थपका लागि मन्त्रिपरिषद्सम्म पुगेका छन् । म्याद थप हुने वा नहुने बारे मन्त्रिपरिषद्कै निर्णय कुरिरहेको र सक्दो सहजीकरण पनि गरिरहेको डिभिजन प्रमुख विष्टले जानकारी दिए ।
काश्यप निर्माण सेवाले पाँच करोड ९१ लाख, अर्घाखाँची महेश जेभीले चार करोड ८२ लाख, आशापूर्ण निर्माण सेवाले ५४ लाख ६१ हजार र आरएनबी बिल्डर्सले ६१ लाखमा (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक निर्माण, विस्तार तथा स्तरवृद्धिको ठेक्का सम्झौता भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए ।
उनका अनुसार चार निर्माण कम्पन्नीसँंग ११ करोड ८९ लाखको ठेक्का सम्झौता भएको छ भने म्याद थपको पहल भइरहेको र मन्त्रिपरिषद्को निर्णयसमेत कार्यालय तथा निर्माण व्यवसायीले कुरिरहेका छन् । जुम्लादेखि डोल्पाको मौरेलेकसम्म ४३ किलोमिटर दूरी रहेको उक्त सडक निर्माणले जुम्ला–डोल्पाको व्यापार प्रवर्द्धन तथा मनाङ–मुस्ताङ हुँदै जुम्ला डोल्पामा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ । समयमै काम नगर्ने, गैरजिम्मेवार निर्माण व्यवसायीका कारण (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) सडक योजनाजस्तै जुम्लामा दर्जनौं सडक योजना अलपत्र छन् ।
दानसाँघु–झारज्वाला खण्ड विस्तार हुँदै
जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडकअन्तर्गत दानसाँघु–झारज्वाला खण्ड विस्तार गरिने भएको छ । ४३ किमि दूरी रहेको उक्त सडकको दानसाँघु–झारज्वाला खण्डको साढे तीन किलोमिटर सडक स्तरवृद्धि गर्न लागिएको सडक डिभिजन जुम्लाले जनाएको छ । सडक चौडा बनाउने, ग्राभेल गर्ने, नाला तथा पर्खाल निर्माण गर्नेलगायतका काम गरिने भएको छ ।
सडक विस्तारका लागि ठेक्कासमेत आह्वान भइसकेको छ । चाँडै उक्त खण्डको काम अघि बढ्ने छ । संघीय सरकारको १० करोड लगानीमा दानसाँघु–झारज्वाला सडक खण्ड विस्तार हुने सडक डिभिजन जुम्लाका इन्जिनियर तथा सूचना अधिकारी चित्र चौलागाईंले बताए । उनका अनुसार मापदण्ड अनुरुप सडक न्यूनतम सात मिटर चौडा बनाइने छ ।
जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडक निर्माणका चार निर्माण सेवामध्ये अर्घखाँची महेश जेभी निर्माण कम्पन्नीले भने केही काम गरिरहेको छ । यद्यपि लक्ष्यअनुसार कुनै ठेक्काको काम हुन सकेको छैन । अन्तरजिल्ला जोड्ने सडकले व्यापार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने भएकाले सम्झौताअनुसार नै काम गर्न निर्माण व्यवसायी गम्भीर हुनुपर्नेमा नागरिक अगुवा राजबहादुर महतले जोड दिए ।