Logo

शान्ति–सुरक्षाका लागि प्रहरी प्रशासनको अग्रणी भूमिका

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका बारेमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । किशोरी पन्तको बलात्कारपछि हत्या भएको घटनाको धेरै प्रमाण नष्ट भएको पाइएको छ । गत साउन १० गते साथीको घर जान भन्दै हिँडेकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । चौतर्फी दबाबपछि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली पनि कञ्चनपुरमै छ । उनको बलात्कारपछि हत्या भएको पुष्टि प्रहरी र अनुसन्धानले गरिसकेको छ । कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले मानसिक सन्तुलन ठीक नभएको भनिएका भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेपछि आन्दोलनले उग्र रूप लिएको थियो । आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका छन् । घटनामा लापरवाही गरेको भन्दै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । स्थानीय दबाबपछि कञ्चनपुर प्रहरीले भदौ ९ गते शनिबार अनुसन्धानका लागि निर्मलाकी साथी रोशनी बम र साथीकी दिदीलाई प्रकाउ गरेको थियो । उनीहरूलाई ६ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलेसमेत अनुसन्धान गरिरहेको छ । यो अनुसन्धान टोलीले कस्तो निष्कर्ष निकाल्छ भन्ने सबैमा देखिएको छ । कञ्चनपुरको शान्ति सुरक्षा र निर्मला पन्तको हत्याको अनुसन्धानलगायतका विषयमा कैलालीका कारोबारकर्मी हिमेश विक र कञ्चनपुरका कारोकारकर्मी महादेव अवस्थीले सरोकारवालाहरुसँग गरेको कुराकानीको सार :

शान्ति–सुरक्षा हाम्रो प्रमुख जिम्मेवारी
तारानाथ अधिकारी
प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर
कञ्चनपुरमा भदौ ८ मा नयाँ नेतृत्व आएको छ । नेपाल सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ र समितिले छानबिन गरिरहेको छ । प्रहरीले पनि नयाँ अनुसन्धान अधिकृत तोकेको अवस्था हो र अनुसन्धान भइरहेको छ । तपाईं जोसुकै पनि प्रहरीबाटै अनुसन्धानको विस्तृत विवरण लिन सक्नुहुन्छ । शान्ति सुव्यवस्थाको पाटोमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर जिल्लामा शान्ति व्यवस्था गर्ने भन्ने कुरामा जस्तै : क्षतिपूर्ति, घाइतेहरूको उपचार भन्ने कुरामा र अपराधको अनुसन्धान प्रभावकारी ढंगले दोषी पहिचान हुने गरी र निर्दोष नपर्ने गरी काममा खटिरहेका छौं र त्यहीअनुसार काम गरिरहेका छौं । अहिले यहाँको जनजीवन समान्य छ । कफ्र्यु हटेको पनि केही दिन भइसक्यो । सकेसम्म अबका दिनहरूमा कफ्र्यु लाग्दैन होला । कफ्र्युले गर्दा कञ्चनपुर जिल्लाको बदनाम भएको छ । पीडित पक्षले विभिन्न तरिकाले आन्दोलन गर्न सक्छन् । त्यो शान्तिपूर्ण तरिकाले होस् अथवा दबाबमूलक कार्यक्रम गरेर, यसका विषयमा पीडितहरूसँग छलफल भइरहेको छ । हामी नागरिक सुरक्षा, महिला सुरक्षाका लागि स्थानीय गाउँपालिका, नगरपालिकासँग मिलेर, जस्तै— टोलटोलमा प्रहरी, सामुदायिकमा प्रहरीजस्ता जनचेतनामूलक कार्यक्रम गरेर अगाडि बढ्छौं । यसका लागि महिला रक्षक सञ्जालहरू, महिलाहरूको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक सञ्जाल तथा गैर–सरकारी संस्थाहरूसँग मिलेर हातेमालो गर्छौं । कञ्चनपुरमा दिनानुदिन घटेका बलात्कारका घटनाका कारणहरू धेरै छन् । जस्तै : सामाजिक, सांस्कृतिक, शिक्षादीक्षादेखी लिएर शिक्षा प्रणालीसम्मका कुरा ।
इन्टरनेटदेखि लिएर टेलिभिजनसम्मका कुराले समेत घटना भइरकेका छन् । यसबाट सकारात्मक कुरा अनुसरण नगरेर नकारात्मक बुझाइका कारण यस्ता समस्या आएका हुन् । यस्ता कुरामा परिवारदेखि समाजसम्मले ध्यान पु¥याउनु जरुरी छ । यसमा बहुपक्षीय कुरा छ, मानिसको मनोवैज्ञानिक पक्ष छ, जुन मनोवैज्ञानिक बुझाइलाई कसरी सुधार ल्याउने भन्ने कुरामा परिवारको नैतिक शिक्षाको खाँचो छ । अचारणका कुरा, आफ्नो कामप्रति व्यस्त हुँदा यस्ता घटनाहरू न्यूनीकरण हुन सक्छ ।
यस्ता घटना हुनुमा आर्थिक, सामाजिक र राजनीतिक सबै कुरा जोडिएको हुन्छ । हाम्रो काम भनेको विशेष गरी सुरक्षाको पाटो हो, हामी सुरक्षाको कुरामा विशेष ध्यान दिन्छौं ।

प्रहरीप्रतिको आशंका दिनानुदिन बढ्दै
यज्ञराज पन्त
निर्मलाका पिता
हामीहरू झन्–झन् पीडित हुँदै गएका छौं । प्रहरी प्रशासन आउँछन्, पत्ता लागे फोन गर्नुहोला भन्छन् । त्यस्तै कुरा दिनानुदिन भन्दै आएका छन् । हामीलाई अझै पनि डरको महसुस भएको छ । कहीं अन्तिममा अपराधी नै पत्ता लाग्दैन कि भन्नेमा । अझै झन् मानसिक सन्तुलन गुमाएका व्यक्ति दिलीपसिंह विष्टलाई उपचारका लागि काठमाडौं लगिएको छ । मलाई डर लागिरहेको छ, कहीँ–कतै प्रहरी प्रशासनले जाल बुनेर त्यही व्यक्तिलाई सार्वजनिक गर्ने त होइन । यस विषयमा मलाई रातदिन पोलिरहेको छ । मेरो छोरीका हत्याराको सत्य–तथ्य छानबिनको माग गर्छु । यसमा तपार्इंहरू जस्ता पत्रकार, समाजसेवी, राजनीतिकर्मी अनि यो समाजको आस गरेको छु । मलाई अस्ति मात्र एउटा अपरिचित नम्बरबाट फोन आएर धम्की आयो । ‘मेरो फुपूको छोरा लक्ष्मीदत्त पन्तलाई अपराधी हो भनेर भन । त्यो तेरो घरमा आउने–जाने गथ्र्यो, नत्र नराम्रो हुन्छ,’ भनेर धम्क्यायो । यो कुरा प्रहरी प्रशासनलाई जानकारी गराइसकेको छु । तर, लक्ष्मण पन्त मेरो घरमा आउने–जाने गरे पनि ऊ त्यस्तो मान्छे होइन, ऊ मेरो भाइ हो । धेरैले उसले पैसामा मिलाउँछ भन्ने कुरा सुनिन आएको छ, यो सबै कुरा निराधार हो । मलाई दु:ख के विषयमा लागेको छ भने प्रहरीले अहिलेसम्म अनुसन्धान सुरु गरेको छैन । उच्चस्तरिय छानबिन टोली गठन भएको आठ दिन भइसकेको छ, तर पनि प्रहरी प्रशासनले केही प्रमाण पत्ता लगाउन सकेको छैन । मेरो अनुरोध सबैलाई— हामी गरिब परिवारको मान्छे हो, हामीलाई न्याय दिनुपर्यो, न्याय पाएपछि मात्र मेरी छोरीको आत्माले शान्ति पाउनेछ ।

अनुसन्धानमा केही कमजोरी भएकै हुन्
कुबेर कडायत
जिल्ला प्रहरी प्रमुख, कञ्चनपुर
अहिले हामी प्रहरीको नयाँ टिम आएपछि दुईवटा पाटो छ । पहिलो कुरो त आमनागरिकलाई सुरक्षाको अनुभूति कसरी दिलाउने भन्ने कुरामा प्रहरी परिचालन गरेका छौं । प्रहरीलाई एक्टिभ बनाइराखेका छौं, अर्को प्रहरी अनुसन्धानको जुन पाटो छ, कञ्चनपुरमा अमनचयनको जुन पाटो छ, निर्मला पन्तको हत्या भएको छ, एकलमै संवेदनशील भएर प्रभावकारी ढंगले अनुसन्धान भइराखेको छ । कञ्चनपुरमा आमजनताले सुरक्षाको अनुभूति गरेका छैनन् । यसको मर्म हामीले बुझेका छौं । सुरक्षालाई मजबुत बनाउन यहाँका जनता, समाजसेवी, पत्रकारदेखि लिएर प्रहरी प्रशासनको समेत भूमिका महŒवपूर्ण रहेको छ । प्रहरीले समयमा सूचना पाएन भने र जनताको सहयोग भएन भने प्रहरीलाई अनुसन्धानका लागि समस्या हुन्छ ।
चुस्त–दुरुस्त अनुसन्धानका लागि हामी सबैसँग मिलेर अगाडि बढिरहेका छौं । यसलाई सुदृढीकरण गर्दै अगाडि बढ्दै छौं । प्रहरी प्रशासनले के गरे जनताले न्याय पाउँछन् भन्ने कुरामा लागेका छौं । त्यो विषयमा प्रहरीलाई तालिम समेत दिने गरेका छौं र अन्य सामाजिक संस्थाहरूबाट सहयोगको अपेक्षा गरेका छौं । उहाँहरूले सहयोग गरे अझै शान्ति–सुरक्षा कायम हुने अपेक्षासमेत गरेका छौं । कञ्चनपुरलाई शान्ति–सुरक्षा कायम गर्न धेरै अभियान चलाएका छौं र नयाँ अभियानहरू ल्याउने तयारीमा समेत रहेका छौं ।
पहिलो कुरा त हामीले स्थानीय ठाउँको लोकेसन लिन बाँकी छ । त्यहाँ गएर स्थानीयको राय, सल्लाह, सुझाव लिन्छौं र साथसाथै त्यहाँका जनताको सहयोगअनुसार अगाडि बढ्छौ । म आफंै व्यक्तिगत रूपले उहाँहरूको नजिक गएको छैन । त्यहाँ पुगेर पीडित पक्षको राय, सल्लाह, सुझावअनुसार अगाडि बढ्नेछु । त्यसपछि हामीले के नीति लिने, प्रहरी हाम्रो साथी लिएर कार्यक्रम लिएर जाने हो कि अर्थात् घरदैलो कार्यक्रम बनाएर जाने हो कि भनेर सबैको सल्लाहअनुसार कार्यक्रम ल्याउनेछौं । अर्थात् सामुदायिक प्रहरीलाई ह्यान्ड टु ह्यान्डअनुसार सक्रिय बनाउने हो कि अथवा नयाँ तरिकाले शान्ति–सुरक्षा र विकासका लागि अगाडि बढाउनेछ, त्यसका लागि नयाँ तरिकाले जानेछौं । अहिले देखिएको महŒवपूर्ण पाटो चाहे त्यो ट्राफिकमा होस्, चाहे त्यो घटनाका कुरा होस्, चाहे त्यो आमसञ्चारलाई परिचालन गर्ने कुरा होस्, यिनीहरूबाट बच्न हामीले के गर्नुपर्छ भन्ने कुरा व्यापक रूपले फैलाउनु जरुरी छ । यसका लागि प्रहरीको पनि हातेमालो हुन्छ ।
पीडितहरूले शंका गर्नु पनि ठीकै हो । किनभने त्यो शंकाले प्रहरी प्रशासनलाई घच्घच्याइरहेको हुन्छ । म के पनि अनुरोध गर्छु भने कुनै पनि सूचना पाए भने हामीलाई सम्पर्क गरिदिनुहोला । जनताको सूचना पाइएन भने अनुसन्धान गर्न असजिलो हुन्छ । प्रहरीले अनुसन्धानका क्रममा केही कमजोरी गरेका थिए । त्यो कमी–कमजोरीलाई संगठनले पनि गम्भीर ढंगले लिएको छ भने सरकारले पनि उच्चस्तरीय छानबिन समिति नै गठन गरेको छ । त्यो बेला यो घटनासँग सरोकार राख्ने एसपी, डीएसपीलगायतलाई भूमिकाभन्दा बाहिर राखिसकेको छ र स्थानीयवासीहरूलाई पनि अनुरोध गर्न चाहन्छु— हामीलाई विश्वास गर्नाेस्, विश्वास भएन भने समस्याको समाधान निस्कन गारो छ ।

नैतिक शिक्षाको कमी भयो
मदन चन्द
अध्यक्ष, हेल्प नेपाल, कञ्चनपुर
समाजमा हुने आपराधिक घटना न्यूनीकरणका लागि मुख्य भूमिका प्रशासन र राज्य सत्ताको हो । समाजमा हुने जति पनि आपराधिक घटना छन्, ती घटना रोक्नुपर्ने ८० प्रतिशत काम प्रशासनको हो । म के भन्न चाहन्छु भने प्रशासनको मात्र नभई हाम्रो पनि दोष छ । हामी समाजका अगुवाहरू हौं, यसमा २० प्रतिशत हाम्रो पनि कमी कमजोरी छ । समाजमा हुने चोरी, हत्या हिंसा र बलात्कारका घटना हुनमा शिक्षा नीतिलाई पनि जान्छ । घरमा अभिभावकहरूले अभिभावकत्व निर्वाह गरेको छ कि छैन, स्कुलमा शिक्षकहरूले गुरुत्व निर्वाह गरेको छ कि छैन गुरुले पनि यसमा हेर्नुपर्ने अभिभावकले पनि हेर्नुपर्ने हुन्छ । त्यसमा पनि अभिभावकत्व गर्न सक्नुपर्छ । समाजमा दिनदहाडै आपराधिक क्रियाकलाप हुनुमा प्रशासन नै मुख्य दोषी हो भन्ने मलाई लाग्छ, जस्तै— निर्मला बहिनीको घटना भएको एक महिनाभन्दा बढी भइसक्यो, अहिलेसम्म हत्यारा पत्ता लागेको छैन । निर्मला बहिनी एउटा पात्र मात्रै हुन्, त्यस्ता हजारौं निर्मलाले हत्या–हिंसासँग जुधिरहनुपरेको छ । यस्तो अवस्था किन आयो, यसमा प्रहरी प्रशासनले जिम्मेवारी लिनैपर्छ र त्योपछि समाजका अगुवाहरूको पनि जिम्मेवारी हो । भर्खरै मात्र बेल्डाँगीमा बलात्कारको अर्को घटना भएको छ, त्यो कसरी भयो ?
हाम्रा छोरी बलात्कार हुनुमा अभिभावकको पनि कमी–कमजोरी छ । मेरो छोरा/छोरी किन समयमा घर आएन, कस्तो संगतमा छन् । छोरा स्कुलबाट ढिलो आउँदा खोज खबर गर्ने कि नगर्ने, मेरो छोरा कहाँ गयो, किन आएन, त्यस्ता कुरामा अभिभावकले ध्यान दिनुपर्छ । यहाँ बलात्कारीको ९० प्रतिशत गल्ती होला, तर यसमा १० प्रतिशत हाम्रो पनि गल्ती छ । किनभने हाम्रा छोरा/छोरीको अभिभावकत्व ग्रहण हामीले किन गर्न सकेनौं ?
हिजोका दिनमा नैतिक शिक्षा थियो । सत्मार्गमा हिँड्न सिकाइन्थ्यो, धर्म–संस्कृतिको कुरा थियो । ढुंगालाई पनि देउता भनेर हिँड्ने संस्कार भएका हामी हिन्दूहरू किन अहिले छाडा भयौं त ? हाम्रो नैतिक शिक्षा हरायो । हामीले संस्कृति हरायौं । हामीले हाम्रा आमाबुबालाई कुन दर्जामा राख्ने, अतिथिलाई कसरी हेर्ने, त्यो शिक्षाबाट त हामी बञ्चित भयौं । अहिले अंग्रेजी शिक्षा आयो, यसले त हाम्रो नैतिक शिक्षा हरायो, संस्कृति हरायो, अंग्रेजी शिक्षाले त रातारात चमत्कार हुन्छ भनेको होइन र खै त आज किन भएन, विदेशीहरूले हाम्रो संस्कृतिमाथि प्रहार गरे । त्यसको दुष्प्रभाव यो पनि हो । हामीले आफ्नो नैतिकता बिस्र्यांै, संस्कृति बिस्र्यौं, हाम्रा आमाबुबाहरूले छोराछोरीप्रतिको दायित्व बिर्से र छोराछोरीले पनि आमाबुबाप्रति गर्नुपर्ने कतव्र्य बिर्से । त्यसकारण आपराधिक घटना घटिरहेका छन् । अहिले नैतिक शिक्षाको पनि कमी छ । राज्यसत्ताको पनि कमी–कमजोरी छ । राज्यले अर्बौं रुपैयाँ शिक्षामा खर्च गरेको हुन्छ, खै त नैतिकवान नागरिक बनाउन सकेको ? समाजमा हुने यस्ता अपराधिक क्रियाकलापमा ८० प्रतिशत राज्य दोषी छ भने २० प्रतिशत हाम्रो पनि कमजोरी छ ।

नगरप्रमुखविरुद्ध भीमदत्त नगरपालिकाकै जनप्रतिनिधि
निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्र्दै भएको आन्दोलनमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट अनावश्यक विवादमा तानिएका छन् । नगर प्रमुख विष्टलाई साउन ११ गते निर्मलाको शव भेटिएको दिनदेखि विवादित बनाउन खोजिएको थियो ।
साउन ११ गते नगर प्रमुख विष्टले निर्मलालाई सर्पले टोकेर मारेको भन्यो भन्ने हल्ला फैलाएर विवादमा तानिएको थियो । त्यही हल्ला फैलाएर निर्मलाको शव नगरपालिका कार्यालयअगाडि राखेर प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा नगर प्रमुखविरुद्ध नाराबाजी हुने गरेको थियो ।
प्रदर्शन गर्नेमा भीमदत्त नगरपालिकाका निर्वाचित जनप्रतिनिधि सक्रिय देखिएका थिए । भीमदत्त नगरपालिका न्यायिक समिति सदस्यलगायतका जनप्रतिनिधि प्रदर्शनमा उत्रेका थिए ।
पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनको अधिकांश समय नगर प्रमुख विष्ट विरुद्ध केन्द्रित गरिएको छ । नगर प्रमुख विष्टको घरमा आक्रमण गरिएको छ । घरमा आगजनी गर्ने योजना बनाएर पेट्रोल बोकेर युवा स्थानीयले रोकेपछि तोडफोड गरी फर्किएका थिए । जिल्ला प्रहरी कार्यालयले दिलीप सिह विष्टलाई सार्वजनिक गर्नुअघि केही दिन नगरपालिकाका प्रदर्शन रोकिएको थियो ।
विष्टलाई सार्वजनिक गरेपछि भएको आन्दोलनमा नगर प्रमुखको घरमा आक्रमण, कार्यालयमा आगजनी र निर्मला हत्यामा उनका भतिजामाथि आशंका भएको भनेर प्रचार गरिएको थियो ।
स्थानीय सरकारको क्षेत्राधिकारमा नपर्ने विषयलाई आफूसित जोडेर विवादमा तानिएकोमा नगर प्रमुख विष्ट तनावमा परेका छन् । ‘मलाई व्यक्तिगत रूपमा बदनाम गर्ने गरी मेरो विरुद्ध दुष्प्रचार गरिएको छ,’ नगर प्रमुख विष्टले भने, ‘यो स्थानीय सरकारको क्षेत्राधिकारमा पर्दैन, तर पनि आफ्नो हातबाट सक्दो सहयोग गर्दै गर्दा पनि यस्तो भयो, यसबाट निकै दु:खी छु ।’
निर्मलाका हत्यारालाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीसित समन्वय तथा पीडित परिवारसित पटक पटक भेटघाट गरी समवेदना र सहयोगका लागि प्रतिबद्धता गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।
नगर प्रमुख विष्ट निर्मलाको अन्त्येष्टिमा सहभागी भएका थिए । भीमदत्त नगरपालिकाले निर्मलाको परिवारलाई ३ लाख सहयोगको घोषणा गरेको छ ।
निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घूसपैठ भएर राजनीतिक पूर्वाग्रह साँध्नका लागि विवादमा तान्न खोजिएको नगर प्रमुख विष्टले बताए । ‘यो सबैको आन्दोलन थियो, हत्यारालाई कारबाही र पीडित परिवारलाई सहयोग गर्न पर्छ, यसमा भीमदत्त नगरपालिका सक्दो सहयोग गर्छ,’ नगर प्रमुख विष्टले भने, ‘शव भेटिएको दिन पनि त्यहाँ जाने इच्छा थियो, काम विशेषले बाहिर थिए, त्यहीं भएर जान नसकेपछि, त्यसपछि म निरन्तर निर्मलाका परिवारसित छु ।’
निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा नगरपालिकाको पनि लाखौंको क्षति भएको छ । गत आर्थिक वर्षमा महेन्द्रनगर बजार क्षेत्रमा जडान गरिएका झन्डै २० लाखका सिसिटिभी क्यामेरा तोडफोड गरिएका छन् । नगरपालिकाको क्यान्टिन तोडफोड गरिएको छ । गोदाममा आगजानी गरिएको छ भने टिपरका सिसा फुटाइएका छन् । नगरपालिका कार्यालयको दक्षिणीतिरको पर्खाल भत्काएर एक आन्दोलनकारीले भित्र आएर आगजनी र तोडफोड गरेका थिए । नगरपालिका कार्यालय अगाडिको भीम वाटिकाका पर्खाल भत्काइएको छ । आन्दोलन क्रममा नगरपालिका कार्यालयसहित नेपाल टेलिकम, जिल्ला अदालत, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतमा तोडफोड गरिएको थियो ।
प्रहरीले दिलीप विष्ट सार्वजनिक गरेपछि भएको आन्दोलन उग्र भएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिकाका कर्मचारी विरु खुनाका १४ वर्षीय छोरा शन्नि खुनाको ज्यान गएको थियो । भदौ ८ गते प्रशासन कार्यालय नजिक खुनालाई गोली लागेको थियो । आन्दोलनमा ६ जना गम्भीर घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । आन्दोलनमा नियन्त्रणमा लिन महेन्द्रनगर बजारसहित आसपासका क्षेत्रमा भदौ ६ गतदेखि कफ्र्यु लगाइएको थियो । अहिले कफ्र्यु हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्