Logo

३ खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट

ओखलढुंगा-ओखलढुंगाका तीनवटा खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट निर्माण सुरु गरिएको छ । उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाले ट्रिटमेन्ट प्लान्ट निर्माणको काम थालेको हो ।
ओखलढुंगा सदरमुकाम, रूम्जाटार र कुन्तादेवीमा वितरित खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट निर्माण भइरहेको छ । पूर्ण सरसफाइ जिल्ला घोषणाका लागि सन् २०३० सम्ममा जिल्लाभित्र रहेका सबै खानेपानी योजनालाई शुद्धीकरण गर्ने अभियानअन्तर्गत ट्रिटमेन्ट प्लान्ट निर्माणको काम सुरू गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाका डिभिजन प्रमुख किरण आचार्यले बताए ।
२ करोड २० लाख लागत अनुमानसहित ३ वर्षअघि सुरू गरिएको ओखलढुंगा सदरमुकामको ट्रिटमेन्ट प्लान्ट निर्माणको काम ९५ प्रतिशत सकिएको छ । यस्तै दुई करोड ६७ लाख लागत अनुमानसहित दुई वर्षअघि सुरू गरिएको रूम्जाटारको काम ६० प्रतिशत सकिएको छ भने २ करोड ९७ लाख लागत अनुमानसहित गत आर्थिक वर्षबाट कुन्तादेवीमा काम सुरू भएको छ ।
ट्रिटमेन्ट प्लान्टको काम सकिएपछि सेडिमेन्टेसन ट्यांक, रफिङ फिल्टर, स्लो सानी फिल्टरलगायतका पानी शुद्धीकरण गर्ने संरचना तयार हुनेछन् । ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएपछि खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोकेको मापदण्ड अनुसारको निर्मलीकृत पानी यहाँका उपभोक्ताले उपभोग गर्न पाउने भएका छन् ।
पहिलो चरणमा थालिएका तीनवटा खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट निर्माण गरिसकेपछि क्रमशः अरू योजनामा निर्माण थालिने डिभिजन प्रमुख आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्