राजस्व छलीमा व्यवसायीसँगै कर्मचारी पनि जिम्मेवार

काठमाडौं-नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले बिहीबार राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई उनकै कार्यकक्षमा भेटी सम्बन्धित क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ ।
भेटका अवसरमा अध्यक्ष रावलले विभागले गर्ने अनुसन्धान लम्बिदा व्यवसायीलाई कारोबार गर्न समस्या पर्ने भएकाले चाँडोभन्दा चाँडा अनुसन्धान सक्नुपर्नेमा जोड दिए । राजस्व छलीमा भन्सार कर्मचारीको पनि हात हुने हुँदा व्यवसायीलाई मात्र नभएर जिम्मेवार कर्मचारीलाई पनि जरिवाना गर्ने परिपाटी भए राजस्व छली न्यूनीकरणमा बल पुग्ने बताउँदै उनले अनुसन्धान जारी रहँदा व्यवसायीको कारोबार अवरुद्ध नहुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
संघका प्रथम उपाध्यक्ष सुनीलकुमार वंशलले अनुसन्धानका क्रममा व्यवसायीलाई थुनछेक गर्न नहुनेमा जोड दिए । थुनछेकले व्यवसायीको मनोबल गिर्ने बताए भने द्वितीय उपाध्यक्ष विनोद सेठियाले सानो केसमा पनि सबै कागजात, कम्प्युटर उठाएर लग्न नहुनेमा जोड दिए । पछिल्लो समय व्यापार व्यवसाय पारदर्शी हुँदै गएको भन्दै उनले सानो केसमा पनि कारोबार स्थलमा सिलबन्दी गर्ने अध्यासले व्यवसाय नै पतन हुने अवस्था आउने बताए ।
यस्तै, कोषाध्यक्ष कुमार कार्कीले उच्च भन्सार दरका कारण चोरी पैठारी बढिरहेको भन्दै भन्सार दर घटाए तस्करी न्यूनीकरणमा बल पुग्ने बताए । कार्यसमिति सदस्य मदन मित्तले व्यापारीको हालसम्मको रेकर्डलाई पनि ध्यान दिनुपर्ने बताएका थिए भने अर्का कार्यरमिति सदस्य प्रभात सर्राफले कालोबजारी ऐन असान्दर्भिक भएकाले त्यसका आधारमा राजस्व छलेको आरोप लगाउन नहुनेमा जोड दिए । कार्यसमिति सदस्य विष्णुकुमार जोशीले सबै व्यापारीलाई एउटै डालोमा राखेर हेर्न नहुने पनि बताए ।
महानिर्देशक मैनालीले अनुसन्धानका सिलसिलामा सही व्यापारीले हिनताबोध गर्नुपर्ने अवस्था नआओस् भन्नेमा आफू सचेत रहेको बताए । उनले न्यून बिजकीकरण नगरे कुनै समस्या नआउने भन्दै कतिपय घटनामा प्रहरीले पक्राउ गरेर ल्याइसकेपछि प्रक्रिया पूरा गर्नै पर्ने हुँदा अनुसन्धान लम्बिने गरेको बताए ।
अर्काको नामबाट कारोबार गर्नेले राजस्व छलिरहेको भन्दै उहाँले अर्काको नामबाट हुने कारोबार निरुत्साहित गर्न संघले सहयोग गर्नुपर्ने बताउँदै प्रारम्भिक अनुसन्धानबाट राजस्व छलि भएको पुष्टि भएपछि मात्र व्यापारीलाई बोलाउने नीति विभागले लिएको पनि जानकारी गराए । काननसम्मत र स्वच्छ व्यवसाय गरे समस्या हटेर जाने उनको भनाइ थियो ।