धावनमार्गको कालोपत्रे एक सातामै दर्जनौंपटक भत्कियो

धावनमार्गको कालोपत्रे एक सातामै दर्जनौंपटक भत्कियो
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान/अवतरणमा समस्या आएको छ । साउन लागेयता दर्जनौं पटक धावनमार्ग भत्किँदा जहाज उडान/अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ ।
५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरूमा टालटुलमा जहाज उडान/अवतरण गराउँदै आइएको छ । पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घन्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।
विगत लामो समयदेखि नयाँ कालोपत्रे गर्ने भने पनि टेन्डर प्रक्रियानै अगाडि बढ्न नसक्दा प्रत्येक वर्ष समस्या बढ्दै गएको छ । मंगलबार पनि दिउँसो २ बजेदेखि ३ बजेसम्म कालोपत्रे भत्कँदा विमानस्थलनै बन्द गर्नुपरेको थियो । “हरेक दिन पाँचदेखि ७ पटकसम्म कालोपत्रे भत्किएको छ,” विमानस्थल स्रोतले भन्यो ।
गत आइतबार विमानस्थलको रन–वे बिग्रिएपछि आन्तरिक र वाह्य दुवै उडान/ अवतरणमा ४५ मिनेट अवरोध आएको थियो । गत साउन ४ गते शुक्रवार एकै दिनमा रन–वे भत्किँदा दुईपटक उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्गको पिच उप्किँदा राष्ट्रिय र अन्तर्राष्ट्र्यि उडान/अवरतणमा करिब एक घन्टा प्रभावित भएको थियो ।
सोमबार दिउँसो २ः३५ बजे विमानस्थलको इन्टरसेक्नस डेल्टा साउथको रन–वे मा एक सेन्टिमटर पिच उप्किएपछि ४५ मिनेटभन्दा बढी समय अन्तरिक र वाह्यका सबै उडान/अवतरण प्रभावित भएको थियो । उक्त समयमा अवतरण हुन लागेका अन्तर्राष्ट्रिय उडानका जहाजहरू अवतरणको लागि होल्डमा बसेका थिए । रन–वे मर्मतपछि सबै जहाज अवतरण गराइएको थियो ।
आन्तरिक उडानका जहाजहरूलाई भने नजिकको विमानस्थलमा अवतरण गराइएको थियो । गत सोमबार पनि धावनमार्ग विगिँ्रदा एयर ईन्डिया, एयर अरेबिया, जेट एयरवेजका जहाजहरू आकासमै होल्ड गरिएको थियो ।
गत शनिवार पनि इन्टरसेक्सन ए र बी बाहेकको भागमात्र प्रयोगमा ल्याइ उडान/अवतरण गराइएको थियो भने दिनको ४ बजेपछि मात्र पूरै धावनमार्ग प्रयोगमा ल्याइएको थियो । विमानस्थलमा वर्षा र घामसँगै जहाजको भार एवं घर्षण थेग्न नसकेर भत्किएको विमानस्थल कार्यालयको भनाइ छ ।
“विमानस्थलको धावनमार्ग ५० वर्ष पुरानो भएकोले विगत पाँच वर्षदेखि समस्या आइरहेकोले अहिले पनि दिनहुँ समस्या आइरहेको हो, तर तत्काल मर्मत गरेर विमानस्थल सञ्चालन गरिरहेका छौ,” विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । पुरानो कालोपत्रेमा ठूला जहाज उडान/अवतरण गराउनुपर्ने बाध्यताले पनि समस्या आएको क्षेत्री बताउँछन् ।
विमानस्थलमा पर्यटकीय मौसममा दैनिक साढे ५ सयसम्म उडान/ अवतरण हुने गर्दछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार हाल भने पर्यटकीय मौसम नभएकोले दैनिक ३ सय उडान/अवतरण हुने गरेको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अन्तर्राष्ट्रिय विमान कम्पनी र १४ वटा आन्तरिक वायुसेवा कम्पनीले उडान भरिरहेका छन् ।
रबर डिपोजिट रिमुभल मेसिन गायब
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको सफाइमा प्रयोग गरिने रबर डिपोजिट रिमुभल मेसिन नै गायब भएको छ । ७ वर्ष अगाडि खरिद गरिएको उक्त मेसिनले खासगरी धावनमार्गमा जहाजको टायरले घर्षण दिँदा रबर टाँसिएको उप्काउने काम गर्दथ्यो । तर पछिल्ला वर्षहरूमा उक्त मेसिनमार्फत काम नभएको विमानस्थल स्रोतले जानकारी दिएको छ । मेसिनले धावनमार्गमा टासिएको रबर उप्काएर सफा गरेपछि मात्रै अन्य विमानलाई उडान/अवतरण गराउनुपर्ने व्यवस्था रहेको छ । तर पछिल्लो समय जोखिमै मोलेर विमनस्थलले धावनमार्गमो टासिएको रबर विस्थापन गरेको छैन । “मेसिन थियो भन्ने सुनेको हो, तर हाल यहाँ हामीलाई दिइएको छैन,” महाप्रवन्धक क्षेत्रीले भने ।
कालोपत्रे पुरानो हुँदा समस्यै–समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालेपत्रे विस्थापनको योजना अलपत्र पर्दा पछिल्लो समय झनै समस्या बढ्दै गएको छ । धावनमार्गको ५० वर्ष पुरानो कालोपत्रे विस्थानपन गरी नयाँ राखेपश्चात विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी थियो । तर, कालोपत्रे नयाँ नराख्दै २१ घन्टा सञ्चालन गरिएको छ । अब नयाँ कालेपत्रे राखेपछि समस्या हट्ने अपेक्षा विमानस्थल कार्यालयले गरेको छ ।
अगामी पुस महिनाबाट सुरु गरिने भनियता पनि कम्पनी छनोट चरणमा ढिला हुँदा समस्या भएको विमानस्थलका महाप्रवन्धक क्षेत्रीले बताए । “वर्षातको समय सकिनेवित्तिकै धावनमार्गको कालोपत्रे फेर्ने काम सुरु हुन्छ,” क्षेत्रीले भने । उक्त निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । जसको लागि झन्डै २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजहरूको उडान/अवतरणमा समस्या हुँदै आएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने महाप्रवन्धक क्षेत्रीले बताए । नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार बढी उठाउँदै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थल कार्यलयले धावनमार्ग बनाउने भने पनि निर्माण कार्यभने सुरु हुन सकेको छैन ।