गुटबन्दी विचार र कार्यशैलीसंग जोडिनुपर्छ

नेपाली कांग्रेसभित्र सम्भावना बोकेका शालिन नेताका रूपमा हेरिन्छन्, प्रदीप पौडेल । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य छन् । पार्टीभित्र सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका पौडेल कांग्रेसका सैद्धान्तिक, वैचारिक पक्ष थप सुधारको अभियानमा सक्रिय रहेका कारण पार्टीभित्र चर्चामा छन् । केन्द्रीय समिति बैठकमा लिखित धारणा राखेको पौडेलसहितका केन्द्रीय सदस्यहरूको समूहले शुक्रबार हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा पनि सभापतिहरूलाई पत्र पठाएको थियो । संगठनलाई आधुनिकीकरण गर्ने, संघीय ढाँचामा लिएर जानका लागि महासमिति बैठकमा विधान संशोधन गर्ने, विधान संशोधन भएपछि १४ औं महाधिवेशन सुरु गर्ने, स्थानीय तहको अधिवेशन तत्काल सुरु गरेर महाधिवेशनलाई सफल बनाउन आग्रह गरिएको पत्रलाई भेलाले स्वीकार गरेको पौडेल बताउँछन् । अहिले पार्टीभित्र समस्याहरूबारे बहस चलाइरहेको तर महासमिति बैठकसम्म पुग्दा समाधानसहितको दस्तावेज तयार पार्ने पौडेलको भनाइ छ । प्रतिपक्षका रूपमा प्रतिनिधिसभामा पार्टीको भूमिका कमजोर रहेको उनको स्वीकारोक्ति छ । संसद्मा प्रतिपक्षी भूमिका थप सशक्त पार्नुपर्ने बताउने उनै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसँग कांग्रेसभित्र अहिले जारी नेतृत्वबीचको विवाद, सरकारको काम–कारबाही र प्रतिपक्षी दलको भूमिकाका विषयमा केन्द्रित रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :
भर्खरै कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेला कतिपयले रिफ्रेसमेन्टमै सकियो भनेर पनि आलोचना गरेको पाइयो । खासमा हेटौंडा भेलाले दिएको सन्देश के हो ?
जिल्ला भेला हाम्रो वैधानिक व्यवस्था भएको एकाइ होइन, तर ताजा मूल्य–मान्यता एकदमै बढी भएका पार्टीका व्यक्तिहरूको जमघट हो । केन्द्रीय समितिमा हामीले छलफल गर्येउ । तल्लो तहका नेता–कार्यकर्ता साथीहरूमा अहिलेको वर्तमान परिस्थितिमा कस्तो बुझाइ छ, सोच छ, सन्देश छ र अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बुझ्न यो भेलाले सहयोग गरेको छ । भेलामा सबैले आ–आफ्नो सोच र धारणा व्यक्त गर्नुभएको छ । सबै जिल्लाका सभापति साथीहरूले यो विषयमा राखेको धारणाबाट नेपाली कांग्रेसको वर्तमान स्थिति र अगाडि बढाउन दिएको सुझावले उहाँहरूको धारणा प्रस्ट भएको छ ।
निर्वाचनमा पराजयको जिम्मेवारी कसले लिने र नेतृत्व कहाँ–कहाँ चुक्यो भन्नेबारेमा सभापति भेलामा गम्भीर छलफल होला भन्ने अपेक्षा थियो । तर, भेलाले जारी गरेको २१ बुँदा हेर्दा त्यस्तो भएको पाइएन । के भन्नुहुन्छ ?
पार्टी पराजय र जिम्मेवारी कसले लिने भन्ने विषयमा निरन्तर बहस गर्ने र यसलाई तल्लो तहसम्म पनि लैजाने निर्णण केन्द्रीय समितिको थियो । सभापतिहरू भेलामार्फत यो बहसमा सामेल हुनुभयो । हारको जिम्मेवारी लिने केन्द्रीय समिति मुख्य नेतृत्व तयार हुनुपर्छ भन्ने उहाँहरूको धारणा रह्यो । केन्द्रीय तहबाट र मुख्य नेतृत्वबाट जिल्ला सभापतिहरूको अधिकारमाथि हस्तक्षेप हुने गरेको प्रति उहाँहरूले सचेत गराउनुभएको छ । विधि, विधान, कानुनी राज्य र लोकतन्त्रमाथि विश्वास गर्ने नेपाली कांग्रेसले पटक पटक ‘पार्टी विधानसम्मत ढंगले चल्छ’ भनेर निर्णय गरिरहनुपर्ने अवस्था लाजमर्दो विषय भएको भन्दै उहाँहरूले सचेत गराउनुभएको छ । २१ बुँदाभित्र आन्तरिक सुधारका थुप्रै विषय उल्लेख भएका छन् । ती विषयहरूमा सुधार र नेतृत्वको भूमिका प्रभावकारी नभएको उहाँहरूको गुनासो छ । अर्कोचाहिँ वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको छ । त्यस विषयमा खबरदारी गर्न हामी संगठित ढंगले अघि बढ्नुपर्छ भन्ने कुरा आयो । महासमितिको बैठकलाई सभापतिको भेलाले प्रभावकारी सुझाव दिएको छ ।
अहिलेको परिस्थितिमा कांग्रेस जस्तो छ, त्यही ढंगले अघि बढाएर हामीले कांग्रेसलाई उचाइमा पुराउन सक्दैनौं ।
यहाँहरू आठ जना केन्द्रीय सदस्यले एउटा पत्र पनि लेख्नुभयो सभापतिहरूलाई । पत्र लेख्नुको उद्देश्य के थियो र सभापतिहरूले त्यसलाई कुन रूपमा ग्रहण गरेको पाउनुभयो ?
जिल्ला सभापति भनेको जिल्लाको नेतृत्व हो । जिल्लाको प्रतिनिधि हो । यो भूमिकामा रहनुभएका सभापतिहरूले नेपाली कांग्रेसको अवधारणालाई जनतासम्म लिएर जान सक्नुहुन्छ । अहिलेको परिस्थितिमा कांग्रेस जस्तो छ, त्यही ढंगले अघि बढाएर हामीले कांग्रेसलाई उचाइमा पुराउन सक्दैनौं । नेपाली कांग्रेस लोकतन्त्रका लागि लडेको र लड्ने पार्टी हो भनेर हामीले नेपाली समाजलाई बुझायौं । तर, बदलिएको अहिलेको अवस्थामा त्यो एकल अवधारणाले मात्र अघि बढ्न सकिँदैन । आजको सन्दर्भमा नेपाली कांग्रेस देशलाई समृद्धितर्फ लैजाने पार्टी पनि हो । त्यस्तै कांग्रेस राष्ट्रिय एकता, अतिवादको अन्त्य, विकासका लागि पनि हो भनेर हामीले प्राथमिकता फेरेर त्यस दिशामा अघि बढ्नु आवश्यक छ । त्यस्तै हामीले हाम्रा आचरण फेर्न, सैद्धान्तिक पक्षमा सुधार गर्न पनि आवश्यक छ भन्ने लाग्छ । यो सबै कुरालाई आत्मसात् गरेर बहसलाई नयाँ ढंगले अघि बढाउन आवश्यक छ भनेर हामीले सभापतिहरूलाई पत्रमार्फत अनुरोध गरेका हौं ।
सँगै हाम्रो संगठनलाई आधुनिकीकरण गर्ने, संघीय ढाँचामा लिएर जानका लागि महासमिति बैठकमा विधान संशोधन गर्ने, विधान संशोधन भएपछि १४ औं महाधिवेशन सुरु गर्ने, स्थानीय तहको अधिवेशन तत्काल सुरु गरेर महाधिवेशनलाई सफल बनाउन हामीले अनुरोध गरेका थियौं । त्यो विषय सभापतिज्यूहरूले स्वीकार गर्नुभएको छ ।
नेतृत्वले गुटबन्दी गरेपछि एकता हुदै हुँदैन । मुख्य नेतृत्वले म गुटबन्दी गर्दिनँ, मेरा लागि सबै कांग्रेस बराबर हो, सबैको संरक्षण गर्छु, सबै कांग्रेसको नेता हुँ भनेर भन्नुपर्यो र त्यसअनुसारको व्यवहार गर्नुपर्यो ।
कांग्रेस अहिले सग्लो पार्टीभन्दा पनि गुटहरूको महासंघ जस्तो बन्न पुग्दा आन्तरिक एकता कमजोर देखिएको छ । जसको प्रभाव प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर देखिएको छ । गुटको अन्त्य गर्दै कांग्रेसलाई बलियो र प्रभावकारी बनाउन के गर्नुपर्ला ?
पहिलो कुरा, यसका लागि मुल नेतृत्वले गुटबन्दी छोड्नुपर्छ । नेतृत्वले गुटबन्दी गरेपछि एकता हुदै हुँदैन । मुख्य नेतृत्वले म गुटबन्दी गर्दिनँ, मेरा लागि सबै कांग्रेस बराबर हो, सबैको संरक्षण गर्छु, सबै कांग्रेसको नेता हुँ भनेर भन्नुपर्यो र त्यसअनुसारको व्यवहार गर्नुपर्यो । त्यसो भयो भने पार्टीभित्र एकता कायम हुन्छ । गुटबन्दीको अन्त्य हुन्छ । दोस्रो कुरा, कतिपय त्रुटिलाई हामीले औंल्याएका छौँ । एकता भाँड्ने गरी हामीले केही गरेका छैनौं । अझ बढी सुदृढ भएर अघि बढ्नका लागि, मजबुत एकताको निम्ति काम गरेका हौं । कांग्रेस भन्ने पार्टीले सधैँभरी विधानसम्वत ढंगले चल्नुपर्छ भनेर भनिरहनुपर्ने स्थिति लाजमर्दो अवस्था हो । विधिको शासन, कानुनको शासनको वकालत गर्ने कांग्रेसलाई विधि अनुसार चल्नुपर्यो भन्नुपर्यो भने त त्यो भन्दा लज्जास्पद स्थिति के हुन्छ ? हामीले यो कुरा बारम्बार उठाइरहनुपरेको छ ।
पाटीभित्र आन्तरिक कुरा उठ्छन् । त्यसलाई पार्टीभित्रै मिलाउनुपर्छ । पार्टीभित्र आन्तरिक छलफल त हुन्छ नि । हामीले आफ्नो ढंगबाट पार्टीको समग्र एकता नखल्बलिने गरी, आन्तरिक शक्तिमा ह्रास नआउने गरी पार्टी सुधारका कुरा उठाएका छौं र उठाइरहन्छौं ।
अहिले समग्रमा कांग्रेस एकताबद्ध भएर बलियो प्रतिपक्ष भएर उभिनु जरुरी छ । कांग्रेस संसद्मा कमजोर देखिएको होला । कांग्रेसविना नै दुई तिहाइ पनि पुग्ला । तर, कांग्रेस भन्ने पार्टी देशको कुनै एउटा जिल्लामा मात्र भएको पार्टी होइन । कांग्रेस एउटा टोलमा मात्र भएको पार्टी पनि होइन । यो देशैभरी भएको पार्टी हो । कांग्रेस नभएको देशको कुनै गाउँ छैन, कुनै टोल छैन । यत्रो ठूलो सञ्जाल भएको कांग्रेस एउटा अभियान र उद्देश्यका साथ अगाडि बढ्यो भने यसको शक्ति कम्युनिष्टहरूको भन्दा कम छैन । हामीले सशक्त विपक्षीको भूमिका निभाउनुपर्छ । बैचारिक पक्षबाट कांग्रेस प्रस्ट छ । हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थाको पक्षपाती हौं । कांग्रेसले राजनीतिमा जुन विषय उठायो त्यही विषयलाई आत्मसात गरेर अरु पनि यसभित्र आएका छन् । त्यसैले कांग्रेसको विचारको स्वीकारोक्तिको दायरा बढेको छ । अब संगठन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ । देशैभरका नेता, कार्यकर्तामा उत्साह, जोश जाँगर प्रदान हुने गरी अभियान सञ्चालन गर्नुपर्छ । यसरी सशक्त प्र्रतिपक्षको भूमिका कांग्रेसले निभाउन सक्छ ।
कांग्रेसमा सबै कुरालाई नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने मान्छे हुँ म । गुटबन्दी पनि नयाँ ढङ्गले गर्नुपर्छ भन्ने हामीहरू हौँ । परम्परागत गुट बनाउनु हुँदैन ।
मूल नेतृत्वले गुटबन्दी छोड्नुपर्छ भनिरहँदा तपाईं दोस्रो तहका नेताहरू पनि कुनै न कुनै गुटकै फेर समाइरहनुभएको छ । यसरी गुटको अन्त्य सम्भव होला र ?
कांग्रेसमा सबै कुरालाई नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने मान्छे हुँ म । गुटबन्दी पनि नयाँ ढङ्गले गर्नुपर्छ भन्ने हामीहरू हौँ । परम्परागत गुट बनाउनु हुँदैन । गुटहरू स्थायी हुनु हुदैन । नवौँ अधिवेशन आउँदा पनि उही गुट ते¥हौँ अधिवेशन आउँदा पनि उही गुट, त्यस्तोे नि हुन्छ ? एउटा अधिवेशनमा सीमित हुनुपर्छ गुटबन्दी । यो भन्नेहरूकै एउटा जमात बन्यो र त्यो आफैँमा गुटबन्दी भयो होला । त्यो आफ्नो ठाउँमा छ, तर यस्तो पार्टीको आन्तरिक गुटबन्दी स्थायी हुन सक्दैन । यो विशेष कालखण्ड र मुुद्दाहरूमा आधारित हुन्छ । त्यसैले स्थायी गुटबन्दी गर्ने परम्पराको अन्त्य हुुनुपर्छ ।
गुटबन्दी विचारसँग जोडिनुपर्छ, कार्यशैलीसँग जोडिनुपर्छ । अहिलेको राष्ट्रिय आवश्यकतासँग जोडिनुपर्छ । कुनै विषयलाई हेर्ने नजर फरक भयो भने मान्छेहरू फरक ढङ्गले संगठित हुन सक्छन् । तर, त्यो स्थायी हुन सक्दैन । त्यसैले नयाँ ढङ्गबाट विचारसँग जोडेर गुटबन्दी गर्ने परम्पराको सुरुवात नै हामीले गर्न खाजेको हौँ । हामी सबै पक्षमा परिवर्तन चाहन्छौँ । सैद्धान्तिक पक्षमा संगठनात्मक पक्षमा परिवर्तन हुन आवश्यक छ । कार्यशैलीको पक्षमा परिवर्तन हुन आवश्यक छ । व्यवहारमा परिवर्तन हुन आवश्यक छ । प्राथमिकता परिवर्तन हुन आवश्यक छ । यी सबै परिर्वतन गर्न सक्यौँ भने मात्र कांग्रेसमा हामी परिवर्तन गर्न सक्छौ । धेरै चुनौतीहरू छन् त्यो चुनौतीको सामना गर्ने गरी कांग्रेस धारिलो भएर आउनु पर्छ । त्यो धारिलो कांग्रेस निर्माणका निम्ति हामीले फरक ढङ्गबाट प्रस्तुत भएर फरक विषयहरू उठाउने कोसिस गर्नुपर्छ ।
तपाईंले भनेको जस्तो धारिलो कांग्रेस बनाउन यहाँहरूको भूमिका के हुन्छ ?
हामीले अब डर नमानीकन, हामी कहाँ हुन्छौँ भन्ने नसोचीकन त्यो त्रासबाट मुक्त हुँदै निर्भिक भएर प्रश्नहरू उठाएका छौँ । नेतृत्वप्रति हाम्रो ठूलो सम्मान छ । तर, असहमत विषयमा पनि सहमति जनाउनुपर्छ भन्ने होइन । त्यसैले हामीले खुलेर विषयहरूलाई बहसमा ल्याउने कोसिस गरेका छौँ । हामीले तलसम्म आन्तरिक मञ्चमा लगेर छलफल गछौँ । महासमितिको बैठकसम्म एउटा निश्चित परिवर्तनलाई आत्मसात् गरेको दस्तावेजका साथ हामी प्रस्तुत हुन्छौँ । उहाँहरूसँग परामर्श गरेर कांग्रेस अब नयाँ ढङ्गले अगाडि बढ्यो भन्ने सन्देश दिने गरी नेपाली कांग्रेसले छुट्टै दस्तावेज तयार पारेर प्रस्तुत गर्नेछ । नयाँ चुनौतीहरूको सामना गर्ने गरी कांग्रेस अगाडी बढ्ने छ । त्यो लक्ष्य प्राप्ति गर्नका लागि निरन्तर बहसलाई अगाडि बढाउनेछौँ ।
धेरै महत्वपूर्ण काम भइसक्दा पनि फेरि प्रत्यक्ष कार्यकारीको विषय उठाउनुभयो । यो देशलाई उहाँहरू प्रयोगशाला बनाउन खोज्दै हुनुहुन्छ । त्यसैले केही आशंकाहरू अझै छन् ।
विधान संशोधनका लागि कांग्रेसको वैधानिक मञ्च मानिन्छ महासमिति बैठक । भनेपछि अब बस्ने महासमिति बैठकमा यहाँहरूको अलग दस्तावेज आउने भयो होइन ?
हामीले यो क्रमलाई केन्द्रीय समितिबाट सुरु गर्येउ । सभापतिहरूको भेलामा पनि लग्यौँ । अब महासमितिमा थप परिमार्जन गरी नयाँ विषयहरूलाई थप समावेश गरेर समाधानमुखी बनाएर लान्छौं । अहिले हामीले अलि प्रश्नमुखी बनाएका छौं । अब यो प्रश्नको उत्तर कसरी खोज्ने भनेर छलफलमा छौँ, तर अब महासमितिमा पेस हुने दस्तावेजमा प्रश्नहरू मात्र हुदैनन्, समाधान पनि सँगसँगै हुन्छन् । हामीले हाम्रो मान्यताका रूपमा अङ्गीकार गरेका केही विषयहरूको परिभाषा बदल्न आवश्यक छ । राष्ट्रियताको परिभाषा, लोकतन्त्रको परिभाषा, समाजवादको परिभाषा बदल्न आवश्यक छ । तर, बदलिएको परिभाषा कस्तो हुन्छ ? हामीले बताएका छैनौँ । यसको परिभाषा के हुन्छ भनेर सबैसँग छलफल अगाडि बढाएको छौँ । अब सबैको विचार आउँछ । हाम्रो मात्र विचार आउँछ भन्न मिल्दैन । पार्टी संगठनभित्र रहनुभएका जिम्मेवार सबै साथीहरूको दृष्टिकोण समेट्छौँ ।
आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निम्ति कांग्रेस पूर्ण समावेशी, पूर्ण लोकतान्त्रिक पार्टीका रूपमा आन्तरिक ढङ्गबाट विकास गर्नका निम्ति हामी त्यसअनुरूपको स्वरूप निर्माण गर्ने प्रस्ताव गर्नेछौं । कांग्रेस–कांग्रेसबीचको व्यवहार, कांग्रेसले जनतासँग गर्ने व्यवहार पनि अब बदल्नु जरुरी छ । कांग्रेसले सामाजिक–आर्थिक मुद्दाहरू कस्तो उठाउने ? त्यसका लागि एउटा छुट्टै अभियान सञ्चालन गर्नेछौँ । राजनीतिक विषयहरूमा पनि हामी कसरी समाजका मुद्दाहरूलाई जोड्ने भन्ने बारेमा एउटा स्पष्ट दृष्टिकोणका साथ महासमितिको बैठकमा प्रस्तुत हुनेछौं । त्यसका लागि अहिले छलफललाई अगाडि बढाएका छौँ ।
अहिलेको सरकार अधिनायवादमा जान खोज्दैछ । यसबाट संविधान नै खतरामा पर्यो भन्ने जस्ता आरोपहरू कांग्रेसले लगाइरहेको छ । यसलाई कतिपयले राजनीतिक ‘स्टन्टबाजी’ हो भनेका छन् । के भन्नुहुन्छ ?
हाम्रा सभापति शेरबहादुर देउवाले भनेझै बामपन्थीहरूको एकतापछि चुनौती थपिएको छ । अहिले बामपन्थीहरूसँग दुईवटा बाटो छनोट गर्ने सुविधा छ । उहाँहरू कि त संविधानप्रति मात्र इमान्दार हुनुपर्यो, साम्यवादप्रति वेइमानी गर्नु पर्यो । अर्को, साम्यवादप्रति इमान्दारिता देखाउनुभयो भने संविधानप्रति बेइमानी गर्नुपर्यो । उहाँहरूले कुन बाटो रोज्नुहुन्छ हामी अहिले त्यो हेरिरहेका छौं । संविधानप्रति इमान्दारिता देखाउनुभयो भने ठीकै छ । संविधान पूर्ण कार्यान्वयनतर्फ जान सक्छ । त्यसको हामी स्वागत गर्छौं । हामीले बजेट हे¥यौं त्यहाँ संघीयतालाई उपेक्षा गरेको देख्यौं । स्थानीय तहमा गएको बजेट उहाँहरूले फिर्ता लिनुभयो । राज्यको सबै संयन्त्र बलियो बनाउनभन्दा पनि त्यसमा हस्तक्षेप गरेर व्यक्ति बलियो हुने तिर लाग्नुभयो । अब फेरि देशले संविधान पाइसक्यो, संविधान कार्यन्वयनको चरण पुगिसक्यो । धेरै महत्वपूर्ण काम भइसक्दा पनि फेरि प्रत्यक्ष कार्यकारीको विषय उठाउनु भयो । यो देशलाई उहाँहरू प्रयोगशाला बनाउन खोज्दै हुनुहुन्छ । त्यसैले केही आशंकाहरू अझै छन् । संविधान आइसकेपछि हिजो संविधान समर्थन गर्नेहरूबाटै संविधानलाई चुनौती हुने त होइन ? हिजो संविधानमा ‘कमा’ पनि फेरिन हुँदैन भन्ने ओलीजी र संविधान पुनर्लेखन गर्नुपर्छ भन्ने उपेन्द्र यादवजी किन मिल्नुभयो ? कुन मुद्धामा दुई तिहाई नपुगेर संसद्मा अड्कियो ? विचारै नमिल्नेसँग किन मिल्न जानुभयो ? यी सबै कुराले गम्भीर आशंका उत्पन्न गरेको छ । त्यसकारण यो विषय उठिरहेको छ ।
उहाँहरू रेल ल्याउन चाहनुुहन्छ । त्यो ल्याउनुहोस्, हामी स्वागत गर्छौं । हिन्द महासागरमा पानी जहाज चलाउँछौं भन्नुभएको छ, चलाउनुस् । त्यहाँ कुनै दिन हाम्रो देशको झन्डा फहराएको पानी जहाज चढ्ने इच्छा हाम्रो पनि छ ।
सुखी नेपाली समृद्ध नेपालको नारा सरकारले अगाडि सारेको छ । त्यसमा कांग्रेसको भूमिका कस्तो रहन्छ ?
अहिले उहाँहरूसँग दुई तिहाइ बहुमत छ । उहाँहरू रेल ल्याउन चाहनुुहन्छ । त्यो ल्याउनुहोस्, हामी स्वागत गर्छौं । हिन्द महासागरमा पानी जहाज चलाउँछौं भन्नुभएको छ, चलाउनुस् । त्यहाँ कुनै दिन हाम्रो देशको झन्डा फहराएको पानी जहाज चढ्ने इच्छा हाम्रो पनि छ । घरघरमा ग्यास पाइप जोड्छु भन्नुभएको छ । त्यो पनि गर्नुस् । वृद्धवृद्धालाई पाँच हजार दिन्छु भन्नुभएको छ त्यो पनि गर्नुस् । कोही रोग लागेर मर्दैन, सबैको उपचार हुन्छ भन्नु भएको थियो । कोही खान नपाएर मर्दैन भन्नु भएको थियो, सबैले खान पाउँछन् भन्नुभएको थियो । यहाँ भएका बेरोजगारलाई त रोजगारी दिन्छौं, बाध्यताले बाहिर गएकालाई पनि फर्काएर यहाँ रोजगारी दिन्छौं भन्नुभएको थियो । ती कुरा पूरा गर्नुस् । हामीलाई त्यस्तो देश चाहिएको छ । तपाईंलाई त्यस्तो देश बनाउनबाट कसले रोक्यो । तपाईंहरूलाई के पुगेन ? तपाईं अहिले त्यो बनाउन सक्ने स्थितिमा हुनुहुन्छ । तर, तपाईंहरू त्यो बनाउने बाटोतिर नगएर फेरि प्रत्यक्ष कार्यकारीको विषय उठाइरहनुभएको छ । भाषण गर्ने नयाँ मुद्धा खोजिरहनु भएको छ । फेरि अस्थितरता त मच्चाउन खोजिरहेको होइन भन्नेमा आशंका बढेको छ ।