चीनसँग प्रसारणलाइनको डीपीआर सम्झौता गर्न स्वीकृति

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देश जोड्ने अन्तरदेशीय प्रसारणलाइनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्झौता गर्न स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकलेगल्छी–रसुवागढी हुँदै चीन जोड्ने प्रसारणलाइनको डीपीआरका लागि चीन भ्रमणको क्रममा सम्झौताका लागि स्वीकृति दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले जानकारी दिए । दुई वर्षअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा अन्तरदेशीय प्रसारणलाइन अघि बढाउने समझदारी भएको थियो ।
असार ५ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सो सम्झौतामा हस्ताक्षर हुनेछ । पूर्वसम्भाव्यता अध्ययनअनुसार चीन जोड्ने नेपालतर्फ ८० किलोमिटरको डबल सर्किटको प्रसारणलाइन बन्नाउनु पर्नेछ भने चीनतर्फ भने सिगात्छेदेखि रसुवागढीसम्म आइपुग्न ७ सय किलोमिटर लाइन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रिपरिषद् बैठकले झापा जिल्लाका नौ नदीको तटबन्ध कार्यक्रम अघि बढाउनसमेत स्वीकृति दिएको मन्त्री पुनले जानकारी दिए ।