Logo

ट्रक बिक्री बढ्यो

 तीन महिनायता मालबाहक सवारीको भाडा उच्च रहेपछि मालवाहक सवारी खरिद गर्नेको संख्यामा वृद्धि हुन थालेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभरका ट्रकमा लगाएको आलोपालो प्रणाली खुल्ला गरेपछि बजार पूर्ण प्रतिस्पर्धामा जाँदा ढुवानी भाडा बढ्न गई बिक्री बढेको हो ।
सिप्रदी टे«डिङका बजार प्रबन्धक दिपेश कार्कीले तीन महिनायता ट्रक खरिद गर्नेहरूको संख्यामा वृद्धि भएको बताए । १० चक्के, १२ चक्के र १४ चक्के सवारीको बजारमा माग रहेको र बिक्री भैरहेको उनले जानकारी दिए ।
सिप्रदीले टाटा ब्राण्डमात्रै बिक्री गर्छ भने ओम्नीले भारत बेन्ज र अन्य कम्पनीले आयसर, महिन्द्राका ट्रक बजारमा बिक्री गर्छन् ।
यो समय सवारी बिक्री नहुने समय भए पनि ढुवानी भाडा एकाएक बढेपछि बिक्री बढेको कम्पनीहरूको दाबी छ । बैंकको सरल किस्ताबन्दी, सुरक्षित लगानी, न्यून लागत र उच्च भाडा दर नै ट्रक बिक्रीको प्रमुख कारण रहेको देखिन्छ ।
गोरखाबाट ट्रक खरिद गर्न सिप्रदी आएका व्यवसायी राम श्रेष्ठ भन्छन्, “बजारमा भाडा राम्रो भएर नै ट्रक खरिद गर्न आएको हुँ । बजारमा राम्रो भाडा हुन्जेल बजारमै चलाउने भाडा नहुँदा गाउँमै चलाउन ११०९ मोडल खरिद गरेको छु ।”
६ चक्के ट्रकले ५० हजारसम्म मासिक कमाइ गर्छ भने १४ चक्के ट्रकले माीिक १ लाखदेखि डेढ लाखसम्म कमाई गर्ने व्यवसायीहरू बताउँछन् । कम्पनीहरूले व्यवसायीलाई आकर्षित गर्न यही समय विभिन्न छुटका योजनासमेत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्