Logo

कहिले बन्ला तमोर मेवा जल विद्युत् ?

तमोर मेवा जलविद्युत् आयोजना क्षमता १०१ मेगावाटबाट बढाएर १२८ मेगावाट बनाइएपछि वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइ गर्न आएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई स्थानीयले दर्जनौं प्रश्न सोधे ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत दोभान केन्द्रमा आयोजित कार्यक्रममा फुङलिङ नगरपालिका–१ का दीलिप बरालले भने, “आश्वासनमात्रै दिने र यसरी सम्पर्कविहीन हुने ? १२ वर्षसम्ममा आयोजनाको काम कहाँ पुग्यो ?” यस्तै, मेरिङ्देन गाउँपालिका–२ का भक्त कार्कीले भने, “आश्वासन मात्र लिएर नआउनुहोस्, फिल्डमा देखिनेगरी काम लिएर आउनुहोस् ।” २०६२ सालमै आएको कम्पनी १२ वर्षपछि पुनः सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न आएको भन्दै स्थानीय असन्तुष्ट बनेका हुन् ।
प्रत्युत्तरमा स्पार्क सञ्चालक समिति अध्यक्ष भानेन्द्र लिम्बुले आफूले अन्याय नगरेको सरकारबाट आफू अन्यायमा परेको सुनाए । उनले भने, “आयोजनाको काम द्वन्द्वको बेला परेकाले ठूलै खर्च गरेर काम गर्येउ । तर, सरकारले लाइसेन्समा खेलवाड गर्दा कानुनी लडाइँ लड्न समय लागेर ढिलो भएको हो ।” सरकारद्वारा विभिन्न वहानामा आफूहरू हेपिए पनि प्रक्रिया पुराएर काम गरेकाले ढिलै भए पनि काम गर्ने अवसर पाएकाले अब ढुक्कसँग काम अगाडि बढाउने लिम्बूले बताए । अबको सार्वजनिक सुनुवाई नै अन्तिम भएको बताउँदै अध्यक्ष लिम्बुले थपे, “यो अन्तिम सार्वजनिक सुनुवाइ हो । अब प्रतिवेदन सरकारलाइ बुझाएर निर्माणको अनुमति माग्छौं र निर्माणको हिउँददेखि काम थाल्छौं ।”
झोलामा खोला बोक्ने हो भने आफूहरूसामु नआउन दबाब दिएपछि लिम्बुले समुदायलाई आफू अन्तिम पटक आएको बताए । उनले आगामी हिउ“ददेखि नै काम थाल्ने प्रतिबद्धता पनि जनाए । प्रतिबद्धतापछि मात्रै स्थानीयले सार्वजनिक सुनुवाइ गर्न अनुमति दिएका थिए । सुरुवातमा कार्यक्रमस्थल निर्माणमै अवरोध गरेका थिए ।
सार्वजनिक सुनवाइको क्रममा सुरुङमार्गमार्फत् विद्युत् उत्पादन गर्ने कम्पनीको तयारीबाट स्थानीयले आफूहरूको भविष्यसँग जोडेर जिज्ञासासमेत राखेका थिए । घरजग्गा जोखिमको सवालदेखि खानेपानीका मुहानसम्मका विषयमा कुरा उठाए । वातावरणविद् नारायणप्रसाद खनालले सुरुङ माटोमा नबत्रे त्यो भित्रको चट्टानमा मात्रै खनिने भएकाले त्यसले असर नपर्ने वताए । यदी असर परे त्यसको क्षतीपूर्ति कम्पनीले नै दिने विश्वास विश्वास दिलाए । ठूलो आयोजना भएकाले पूर्ण रूपमा अध्ययन नगरी आयोजना सञ्चालन नगरिने उनले प्रष्ट पारे । रोजगारीसँग संम्बन्धित प्रश्नबारे दक्षता अनुसार नै सबै स्थानीयको प्रयोग हुने आश्वासन दिएका छन ।
स्पार्कले २२ अर्बको लागतमा विद्युत उत्पादन गर्ने वताएको छ । नेपाल सरकारको उर्जा मन्त्रालयअन्तर्गत रहेको जलविद्युत् लगानी तथा विकास संस्था लिमिटेड र गोरक्ष हाइड्रोपावर प्रालिलाई साझेदार संस्थाको रूपमा लिएको छ । सार्वजनिक सुनवाइ कार्यक्रममा गोरक्षका प्रतिनिधिहरू उपस्थित थिए । भानेन्द्रका अनुसार जलविद्युत् लगानी संस्थाले ३५ गोरक्षले ३० स्पार्कले १५ प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाले १० र देशभरीका सर्वसाधारणले १० प्रतिशत सेयर लगानी गर्ने प्रावधान तोकिएको छ ।
मेवाखोलाको पानी श्रीगंगाबाट फुङलिङ नगरपालिका २ को हान्द्रुङमा ल्याएर खसाउने र त्यहाँवाट फुङलिङको आगेदिनमा झारेर विद्युत् उत्पादन गर्ने योजना रहेको छ । पूरै सुरुङमार्गमार्फत पानी प्रवाह गर्ने कम्पनीले जनाएको छ । दुवैतिर गरी करिब नौ किलोमिटर सुरुङमार्ग निर्माण गरिने छ । मैवाखोलातर्फ ४ र तमोर नदीतर्फ ५ किलोमिटर सुरुङ खत्रे योजना कम्पनीको छ । यो आयोजना फुङलिङ नगरपालिकाका २, ३ र ९ नं. वडा र मेरिङदेन गाउँपालिकाका २ र ३ तथा आठराइ त्रिबेणी गाउपालिका १, २ र ३ र मिक्वाखोलाको २, ३, ४ र ५ नम्वर वडा प्रभावित क्षेत्रको रूपमा रहेका छन् ।
देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्