सिन्धुपाल्चोकका हेभिवेट उम्मेदवारका महत्वाकांक्षी एजेन्डा «

सिन्धुपाल्चोकका हेभिवेट उम्मेदवारका महत्वाकांक्षी एजेन्डा

सिन्धुपाल्चोकमा आइतबार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल उत्कर्षमा पुगेको छ । जिल्लामा हेभिवेट उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण निर्वाचन निकै रोचक पनि हुँदै छ । दुईवटा गठबन्धनका हेभिवेट उम्मेदवारका कारण कसले बाजी मार्ने हुन् भन्ने सर्वत्र चासो छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका शेरबहादुर तामाङबीच प्रतिस्पर्धा छ । अहिले उम्मेदवारहरू विकासे एजेन्डासहित मतदातालाई आफ्नो पक्षमा पार्न अधिकतम् प्रयास गरिरहेका छन् । सिन्धुपाल्चोकको विकासका लागि दुईवटा गठबन्धनका उम्मेदवारका एजेन्डाका विषयमा कारोबारकर्मी किशोर बुढाथोकीले गरेको कुराकानीको सार :

गर्छु भनेका कुरा चुनावी भाषण मात्र होइनन्

मोहनबहादुर बस्नेत
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
सिन्धुपाल्चोक क्षेत्र नं. १

आउँदो प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा मेरो उम्मेदवारी छ । यसपटक पनि मैले आममतदाताको चाहनाअनुरूप परिवर्तन संस्थागत गरी लोकतान्त्रिक संविधान कार्यान्वयन गर्दै जिल्लाका समग्र विकासका लागि उम्मेदवारी दिएको हुँ । संविधान निर्माण भएको छ । यो संविधानलाई कार्यान्वयन गरी लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत रूपमा विकास गर्न क्रियाशील रहनेछु ।
जिल्लाको समृद्धिका यसअघि पनि मैले धेरै विकास निर्माणका काम गरेको छु । यो सबै मतदातालाई पनि थाहा छ र यसपटक पनि गर्छु । जिल्लामा रहेका ग्रामीण सडक बर्खामा नचल्दा जिल्लावासी मर्कामा परेका छन् । गाउँगाउँमा पुग्ने सडक विस्तार गरी कालोपत्रे गर्ने योजना छ । जिल्लामा प्राविधिक विद्यालयको आवश्यकता छ । विद्यार्थी पनि प्राविधिक शिक्षातर्फ अग्रसर भएकाले यो अति जरुरी देखिएको छ । शिक्षाको मूलधारमा पहुँच नपुगेर बालबालिका शिक्षाबाट वञ्चित भएको अवस्था अझै छ । विद्यालयबाहिर भएका बालबालिकालाई कक्षाकोठामा टिकाइराख्न विभिन्न वैकल्पिक व्यवस्था गर्ने प्रमुख योजना छ ।
स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत्लगायत समग्र क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकास गर्नेछु । यस क्रममा भूकम्पपछिको पुनर्निर्माणलाई अघि बढाउन प्रत्येक घर–घरमा छिटोभन्दा छिटो सडक पु¥याइनेछ । जिल्ला कृषिमा आत्मनिर्भर छ । अर्थतन्त्रमा अब्बल बनाउन कृषिबाट सम्भव देखिन्छ । खेतका गरामा सिँचाइ व्यवस्था गरी जिल्लाका खेतीयोग्य जमिन हराभरा बनाइने अबको तीन वर्षभित्रै गराउन सक्छु । पर्यटन, जलस्रोत र उद्योगको विकास गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गरेर बढ्दो युवा विदेश पलायनको क्रमलाई रोक्नेछु । युवापंक्ति मसँग आकर्षित छन् । विकासे अभियन्ताका रूपमा मैले काम गरेको सबैले देखेका छन् ।
स्थानीय तहको मत जोडेर जित–हारको अनुमान गर्नु नै गलत आंकलन हो । म मेरो क्षेत्रमा वर्षौंदेखि जनताको सेवा गर्दै आएको छु । कठिन अवस्थाको सामना कसरी गर्नुपर्छ राम्ररी थाहा छ । २०४६ पछि त झन् म सधैं जनताको साथमा छु ।
लोकतन्त्रप्रतिको प्रतिबद्धता र मैले मेरो क्षेत्रमा गरेको विकासको उपलब्धि नै मुख्य हो । म वामपन्थी उम्मेदवारसँग एउटै मञ्चमा बसेर जनताको अगाडि भन्न चाहन्छु र प्रतिबद्धता गर्छु । वाम गठबन्धनले ल्याउने भन्दा दोब्बर विकास ल्याउन सक्छु र ल्याउँछु पनि । जिल्लाको विकासका पूर्वाधारमा कति बजेट कसले ल्यायो जनताले बुझेका छन् । म योजना र रकम तोकेर भन्न सक्नु जिल्लाको विकासका कुरा हो । राजनीतिक आन्दोलनपछि जनताको मुख्य सरोकार विकास हो ।
तातोपानी नाका बन्द भएकै कारण धेरै युवा, व्यवसायीहरू बेरोजगार हुनुपरेको अवस्था छ । गाउँमै रोजगारीको वातावरण बन्न सकेको छैन । नाका सञ्चालन नभएकै कारण रोजीरोटी खोसिएको छ । धेरै व्यापारी साथीहरू टाट पल्टने अवस्थासम्मा पुगे र यो पहिलो प्रतिबद्धता हो कि म नाका खोलेरै छाड्छु ।
म मतदातालाई भन्न सक्छु । मैले जनताका छोराछोरीलाई ३२ वर्षसम्म निःशुल्क पढाएँ । मैले लिस्ती गाविसको खस्रुघारीभित्रका बस्तीहरूमा बिजुली बालें । त्यतिबेला अमृत बोहराको गाउँ पिस्करका थामी समुदाय अँध्यारोमा बस्थे । मैले दुर्गम गाउँमा विद्यालय खोल्दा पिस्करका थामी समुदायका छोराछोरीले विद्यालय जान पाएका थिएनन् । मैले यो एउटा उदाहरण दिएको हुँ । यस्ता सयौं योजना र शैक्षिक अभियान गनेर देखाउन सक्छु । त्यसपछि लगातार मेरो अगुवाइमा सडक, बिजुली, खानेपानी, नदी नियन्त्रण, मोटरेबल पुललगायतका थुप्रै काम भएका छन् । २०५६ र २०७० मा सांसद भएपछि मैले एउटै सडकका लागि करोडौं रुपैयाँ बजेट व्यवस्था गरें । सुनकोसी र भोटेकोसीमा मोटरेबल र झोलुंगे पुल बन्यो । सियाले र सुकुटे दुवै स्थानमा पुल बनाउनुपर्छ भनेर लविङ गरें । मेरै पहलमा ठोकर्पा जाने सडक कालोपत्रे हुँदैछ । राम्चे, बाह्रबीसे, लिस्ती, कर्थली, घोर्थली, जलबिरेलगायत जिल्लाका धेरै सडकमा करोडौं रुपैयाँको योजना परेका छन् । नेताको काम बनाउने हो, विरोध गर्ने होइन ।
भूकम्पले भत्केको घर बनाउन बस्ती नै पिच्छे सडकको खाँचो छ । जहाँ गए पनि सडक निर्माणको माग छ त्यो पूरा गर्ने कोसिस गर्छु । नयाँ सडक निर्माणका लागि ८–१० वटा डोजर र स्क्याभेटर नै क्षेत्रभरि परिचालन गर्ने योजना पार्टीका उम्मेदवारहरूले बनाएका छौं । खानेपानी, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिने योजना छ । भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण पहिलो प्राथमिकता हो । हाम्रो जिल्ला प्राकृतिक स्रोतका हिसाबले धनी छ । त्यसको सदुपयोग गर्न योजना निर्माण गरी लागू गर्ने प्रयास गरिनेछ । विकासका लागि राजनीति भन्ने मूल नारा लिएर अघि बढिनेछ । अव पनि हामीले राजनीतिलाई विकाससँग नजोडी नारा मात्र दिएर हुँदैन । संघीय संरचनाअनुसार सबै संरचना तयार भएपछि भौतिक र आर्थिक विकासलाई जोड दिनु जरुरी छ ।

गाउमै रोजगारीको वातावरण बनाउछु

अग्निप्रसाद सापकोटा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा माओवादी केन्द्र
सिन्धुपाल्चोक क्षेत्र नं. १

संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । राजनीतिक कार्यभार पूरा गरेका छौं । अब आर्थिक समृद्धिको कार्यभार सुरु गर्नुपर्ने समय आएको छ । त्यसको थालनी आफ्नो निर्वाचन क्षेत्र र जिल्लाबाट सुरु गर्न उम्मेदवार बनेको हुँ ।
मैले यो जिल्लामा दुई पटक उम्मेदवारी दिएर जित हासिल गरेको छु । यो अवधिमा मैले थुप्रै विकास गाउँमा भिœयाएकाले पनि यो पटक फेरि थप विकासका लागि मैले उम्मेदवारी दर्ता गराएको हो । म सांसद रहँदा बलेफी–जलबिरे–कात्तिके–तेम्बाथान सडक स्तरोन्नति र कालोपत्रे गर्न निरन्तर पहल गरेकाले अहिले सो सडक खण्डलाई ५० करोडभन्दा अधिक बजेट पारेको छु । बलेफीदेखि जलबिरेसम्मको अधिकांश भाग कालेपत्रे भइसकेको र थप गर्ने कार्य जारी रहेकोसमेत सबैमा जानकारी छ ।
अरनिको राजमार्गको स्तरोन्नतिका लागि चीन सरकारबाट १४ अर्ब ९४ करोड रकम नेपाल भिœयाउन पहल गरेको र त्यससम्बन्धमा संसद्, सरकारमा पहल गरेको म आफैंले हो । हाल अरनिको राजमार्गको विस्तार कार्य सुरु भएको छ । सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जिल्लाका सेलाङको चेपे, सुकुटे÷कालिका लगायतका विभिन्न ठाउँमा टावर स्थापना गरिएको थियो । विकासकै कुरा गर्दा साँगाचोकमा लिफ्ट खानेपानी परियोजनाका लागि २७ करोड लागत रकम विनियोजित गराइयो ।
माथिल्लो भोटेकोसी हाइड्रोपावरमा सिन्धुपाल्चोक जिल्लावासीलाई सेयर दिलाउनका निमित्त पहल भयो । मोटर नचल्ने विभिन्न ठाउँमा सडक स्तरोन्नति गरी गाउँसम्म मोटर जाने सडकको समेत निर्माण गर्न मैले पहल गरेको थिएँ ।
ताम्सालिङ रिङ रोड निर्माणका लागि सिन्धुपाल्चोक खण्ड निर्माणका लागि सुरुवातमै ७५ लाख विनियोजन गराउन सफल भएँ । बजारको सडक अस्तव्यस्त भएका कारण चौतारा रिङ रोड सडक निर्माणका लागि ६० लाख बजेट मेरै पहलमा भएको थियो ।
सिन्धुपाल्चोकको जनप्रतिनिधिको हैसियतले चीन सरकारसँग समन्वय गरी सहयोग प्राप्त भई सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र जुगल गाउँपालिकामा अवस्थित रत्न राज्य माविलाई आवासीय सुविधासहितको अत्याधुनिक विद्यालय बनाउन निर्माण कार्य आरम्भ भएको छ । यो भवन चीनको शिक्षा मन्त्रालयको सहयोगमा यस क्षेत्रका सांसदलाई उपहारस्वरूप प्राप्त भएको हो ।
चीन सरकारको सहयोग तथा वैकल्पिक ऊर्जा केन्द्रको समन्वयमा हगाम, गुम्बामा सौर्य ऊर्जामार्फत विद्युतीकरण सम्पन्न भयो । करिब ६०० घरधुरी लाभान्वित भए । निर्वाचन क्षेत्र विकास कोष तथा सांसद विकास कोषमार्फत प्राप्त सबै रकम प्राथमिकताअनुरूप जिल्लाको विकास–निर्माणमा खर्च गरिएको छ । त्यसको तथ्य हेर्न पनि सकिन्छ ।
शिक्षामा पनि धेरै लगानी भिœयाएको छु । व्यावहारिक तथा प्राविधिक शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक साँगाचोकस्थित जनजागृति मावि र कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविका क्रमशः पशु विज्ञान र बाली विज्ञान विषय अध्ययन सुरु गराएको छ ।
आफू जिल्लाको जनप्रतिनिधि हुँदा यीलगायत अन्य धेरै काम भए । अब फेरि जिल्लाकै विकासका लागि खट्ने मेरा विभिन्न रणनीति छन् । भूकम्पदेखि नै चीन जोड्ने तातोपानी नाका बन्द हुँदै आएको छ । यो नाका सञ्चालनमा ल्याउन अधिकतम प्रयास गर्नेछु । यो नाका सुचारु नहुँदा विशेष गरी सीमा गाउँ र अरनिको राजमार्गका व्यापारी तथा स्थानीयले आफ्नो रोजीरोटी गुमाएका छन् । यसप्रति म संवेदनशील छु ।
निर्वाचन क्षेत्रका मुकाम पुरानो व्यापारिक केन्द्र बाह्रबीसे बजारलाई ‘स्मार्ट सिटी’ बनाउँदै विकासका हिसाबले मुलुककै नमुना क्षेत्र बनाउनेछु । यसका लागि मैले प्रारम्भिक खाका बनाइसकेको अवस्था छ ।
अहिले जिल्लाबाट धेरै युवायुवती बिदेसिएका छन् र केही बिदेसिने क्रममा पनि छन् । गाउँमै रोजगार हुन नसकेकै कारण यो क्रम बढेको हो । ठूलो मात्रामा यूवा रोजगारी सिर्जना गरेर उनीहरूलाई क्षेत्र र जिल्ला निर्माणमा परिचालन गर्ने दीर्घकालीन योजना अघि सारेको छु । कलकारखाना निर्माणका लागि पहल गर्नेछु ।

समृद्धि र विकासलाई मुख्य एजेन्डा बनाएको छु

पशुपतिशमशेर राणा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, राप्रपा प्रजातान्त्रिक
सिन्धुपाल्चोक क्षेत्र नं. २

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ नम्बरबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट म उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएको छु । धर्मसंस्कृतिको रक्षा, स्थायी विकास र मुलुकको समृद्धि मेरो प्रमुख योजना छ । प्राथमिकतामा पुराना सभ्यताका धार्मिक संस्कृति, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, कृषि, आधुनिकीकरणमा जोड दिनेछु । दुर्गमदेखि सहरी भूभागलाई समान विकासको गतिमा लैजान समृद्धि र विकासलाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा छु । मतदाताले लामो समयदेखि भोगिरहेका समस्या समाधानका लागि मैले उम्मेदवारी दिएको हुँ ।
लामो समयदेखि म सिन्धुपाल्चोकको जनप्रतिनिधि बने । २०६४ सालको चुनावपछि यहाँको विकास धेरै कम मात्र भएको छ । सबैलाई थाहा छ, मैले सिन्धुपाल्चोकको विकासका लागि के–के गरें भन्ने । मैले यहाँ भनिरहनु पर्दैन । धर्म र मानवता नभई विकास हुन सक्दैन । यी कुराले नै मुलुकलाई समृद्धितिर लैजाने हो । शिक्षा, स्वास्थ्यलाई प्रभावकारी बनाएर जताततै बलियो सडक पूर्वाधार पु¥याउनेछु । पूर्वाधार र भौतिक क्षेत्रमा धेरै योजना बनाएर विकसित नमुना जिल्ला बनाउने योजना मेरो छ ।
समृद्धि अभियान चलाएर छोटो समयमै जनताको जीवनस्तर उकास्ने काम गर्ने प्रतिबद्धता जनाउँछु । सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त जिल्ला हो । यहाँ नेतृत्वको कमीले पीडित थप पीडामा परेका छन् । पुनर्निर्माणले गति लिन सकेको छैन । विपन्न वर्ग अझै टहरामा छन् । भूकम्प प्रभावितलाई राहत दिन र पुनस्र्थापनाको काममा म तुरुन्तै सक्रियताका साथ लाग्नेछु । मैले विपन्न लक्षित र पुनर्निर्माणलाई अगाडि बढाउनु मुल समृद्धिको शीर्षक बनाएको छु । भूकम्पपीडितको समस्त समस्या मैले बुझेको छु । यसको समाधानका लागि म तयार छु ।
मेलम्ची खानेपानी आयोजनामा स्थानीयलाई लेवीको व्यवस्था गर्नेछु । यहाँका विकट गाउँमा सडक सञ्जाल विस्तार गरी आगामी पाँच वर्षभित्र सबै ग्रामीण सडक कालोपत्रे बनाउने छु । राजधानी नजिकैको जिल्ला भएर पनि अझै विकासले पछि परेको म स्वीकार गर्छु । पर्यटन प्रवद्र्धनका लागि मैले विशेष खाका बनाएको छु । हेलम्बु, भोटेचौर, ओखरेनीलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछु । यसको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिन्छ । ह्योल्मो जाति रहेको यो जिल्लामा आफ्नै संस्कृतिबाट पर्यटक लोभिन्छन । स्याउ खेती राम्रो हुने भएकाले सिन्धुपाल्चोकमा यसलाई विस्तार र विकास गर्नेछु । गाउँगाउँमा होमस्टे सञ्चालन गराएर पर्यटकलाई आकर्षित गर्ने अभियान सञ्चालन गर्ने छु ।
स्थानीय तहको मत आँकलन गरेर केहीले नागरिकलाई भ्रममा पार्ने काम गरेका छन् । स्थानीय तहको निर्वाचन र यो निर्वाचनबीच फरक छ । पशुपतिशमशेर भनेको विकासको पर्यायवाची हो भन्ने सबैले बुझेका कारण मेरो जित सुनिश्चित छ । 

विकास र रोजगारी मेरो प्राथमिकता

शेरबहादुर तामाङ
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा एमाले
सिन्धुपाल्चोक क्षेत्र नं. २

भौतिक विकास र निर्वाचन क्षेत्रको समृद्धि अनि गाउँमै रोजगारीलाई प्रमुख एजेण्डा बनाएर म निर्वाचनमा होमिएको छु । रोजगारी सिर्जना, विकासमूलक योजना र जिल्लाको समृद्धिका लागि मेरो उम्मेदवारी हो । जिल्लाका नागरिकले हाल भोगिरहेका समस्या समाधान गर्न म लागि पर्नेछु ।
केन्द्रबाट विभिन्न आयोजना जिल्ला तहमा लैजाने पहल गर्नेछु । कृषिमा आधुनिकीकरण, रोजगारी, सडक सञ्जाललगायतका पूर्वाधारलाई दीगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छु । बाम गठबन्धनकै पहलमा ९० प्रतिशत सडकको ट्र्याक खन्ने काम भएकाले अब चाँडै ती सडकको कालोपत्रे गरिने छ । उद्योगधन्दा सञ्चालन गरी रोजगारीका अवसर सिर्जना र शैक्षिक विकासलाई पूर्णरूपमा अगाडि बढाउने योजना बनाएको छु । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति पलायन हुने अवस्था रोक्नेछु । समग्र शैक्षिक विकास र जिल्लाको समृद्ध पार्ने योजनाहरू अघि सारेको छु । भूकम्पपछि क्षतविक्षत भएको जिल्लाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने छु ।
सरकारी ढिलासुस्तीका कारण भूकम्प प्रभावितले अझै घर बनाउन सकेका छैनन् । झन्झटिलो प्रक्रियाका कारण जनता अलमलमा छन् । त्यही कारण यो चिसोमा पनि पीडितले टहरामै बिताउनुपर्ने अवस्था छ । यो समस्यालाई समाधान गरी सबैलाई चाँडै छानामुनि बसाल्ने मेरो अर्काे प्रतिबद्धता छ ।
विकासे खाका लिएर मतदाताको घरदैलोमा भोट मागेको छु । त्यो मैले पूरा गरेरै छाड्छु । जे गर्छु भनेको छु त्यो गरेरे छाड्छु । किनकी मैले यसअघि चुनावमा गरेका वाचा सबै पूरा गरेर विकास ल्याएको छु । यो सबै मतदातालाई जानकारी छ ।
पर्यटन क्षेत्रको विकास गरेपछि आयआर्जनको माध्यमले रोजगारी सिर्जना गर्ने खाका तयार छ । चीनसँगको अर्काे नाका हेलम्बुबाट बनाउने योजना मैले बनाएको छु । यसबाट यो क्षेत्रका बासिन्दालाई आर्थिक रूपमा निकै लाभ हुन्छ भन्ने विश्वास लिएको छु । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर जिल्लामा नयाँ आयाम ल्याउनेछु । उत्पादनलाई बढावा दिन नयाँ शैली अपनाउनेछु ।
जिल्लामा रोजगारीका अवसरहरू कम भएकाले धेरै युवा अहिले पनि विदेशिन बाध्य भएका छन् । त्यसैले जिल्लामा रोजगारीका धेरै अवसर सिर्जना गरेर युवालाई जिल्लामै रोजगारीको व्यवस्था मिलाउने छु । गाउँका युवालाई गाउँमै रोजगारी दिलाउन कलकारखाना स्थापनालाई प्राथमिकतामा राखेको छु । जिल्लामै ओद्यौगिक क्षेत्र निर्माण गर्ने लक्ष्यसमेत राखेको छु ।
भ्रष्टाचार र सही नेतृत्वको कमीले गर्दा यस क्षेत्रको विकास हुन सकेको छैन । आफूले जितेर जनताको समस्या समाधान गर्न पूर्णरूपमा तत्पर भएर लाग्ने लक्ष्य छ । निर्वाचन क्षेत्रमा कालोपत्रे सडक सञ्जाल, बिजुली, स्वास्थ्य चौकीदेखि सम्पूर्ण भौतिक विकास र समृद्धिलाई एजेण्डा बनाएको छु । जुन समभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्